प्रतिनिधिसभा सदस्य निर्वाचन २०८२ अन्तर्गत सल्यानमा दुई मतदान केन्द्रलाई महिलामैत्री बनाइएको छ। शारदा नगरपालिका– २, खलंगास्थित बालमन्दिरमा रहेको मतदानस्थलका ‘क’ र ‘ख’ मतदान केन्द्रलाई पूर्ण रूपमा महिला कर्मचारी र सुरक्षाकर्मीमार्फत सञ्चालन गर्ने व्यवस्था गरिएको हो।
नमुना मतदान केन्द्रका रूपमा स्थापित यस केन्द्रमा मतदान अधिकृत, सहायक मतदान अधिकृत, अन्य कर्मचारी तथा सुरक्षाकर्मी सबै महिला मात्र परिचालन गरिएको छ। मुख्य निर्वाचन अधिकृत प्रह्लादकुमार योगीले महिला सहभागिता र नेतृत्वलाई प्रोत्साहन गर्ने उद्देश्यले उक्त केन्द्रलाई महिलामैत्री बनाइएको जानकारी दिए।
महिलामैत्री मतदानस्थलको सुरक्षाका लागि प्रहरी सहायक निरीक्षक पूर्ण चन्दको नेतृत्वमा महिला सुरक्षाकर्मी परिचालन गरिएको छ। मतदान केन्द्र ‘क’मा मतदान अधिकृत रिताकुमारी थारू तथा ‘ख’ मा सरस्वती थापा खटिएका छन्। जिल्ला निर्वाचन कार्यालय सल्यानका सूचना अधिकारी तेजेन्द्रकुमार चन्दका अनुसार ‘क’ केन्द्रमा ८९६ र ‘ख’ केन्द्रमा ९४८ गरी कुल एक हजार ८४४ मतदाता छन्।
सहायक मतदान अधिकृत निमाकुमारी रोकायले महिला कर्मचारी मात्र खटिएको मतदान केन्द्रमा काम गर्न पाउँदा गर्व र उत्साह महसुस भएको बताइन्। उनले भानिन्, ‘हामी निर्वाचनलाई शान्तिपूर्ण, निष्पक्ष र व्यवस्थित रूपमा सम्पन्न गर्नेछौँ।’
स्थानीय प्रशासनले मतदान शान्तिपूर्ण, निष्पक्ष र भयरहित वातावरणमा सम्पन्न गराउन सबै तयारी पूरा भएको जनाएको छ।