निर्वाचनअघि लगानीकर्तामा उत्साह देखिएको छ । चुनाव हुने निश्चिततासँगै ‘पर्ख र हेर’को अवस्थामा रहेका लगानीकर्ता बजारमा आकर्षित बनेको देखिएको छ । पछिल्ला ६ कारोबार दिनमा बजार लगातार बढेको छ । यसले लगानीकर्तामा विश्वासको वातावरण बन्दै गएको देखाएको हो ।
चुनावअघिको अन्तिम कारोबार दिन मंगलबार पुँजी नेप्से परिसूचक मंगलबार दोहोरो अंकले बढेको छ । नेप्से ३८.५२ अंकले बढेर दुई हजार ७१२.४९ विन्दुमा कायम भएको हो । यस्तै, सेन्सेटिभ इन्डेक्स ६.२५ अंक, फ्लोट इन्डेक्स ३.०३ अंक र सेन्सेटिभ फ्लोट इन्डेक्स २.४१ प्रतिशतले बढ्यो ।
नेपाल स्टक एक्सचेन्ज (नेप्से)का अनुसार उक्त दिन तीन सय २९ कम्पनीको कारोबार भएको छ । जसमा दुई सय ५४ कम्पनीको मूल्य बढ्दा ६ कम्पनीको घटेको छ भने दुई कम्पनीको स्थिर रह्यो ।
उक्त दिन एक करोड ५१ लाख ८४ हजार कित्ता सेयर ६१ हजार तीन सय २९ पटक किनबेच हुँदा ६ अर्ब २३ करोड ४३ लाख रुपैयाँबराबरको कारोबार भएको छ । आइतबार साढे पाँच अर्ब र त्यसअघि चार अर्बको सेयर कारोबार भएको थियो ।
सो दिन व्यापार समूह ३२.४३ अंकले ओरालो लाग्दा बाँकी सबै समूहको सूचक बढ्यो । सबैभन्दा बढी उत्पादन तथा प्रशोधन समूहको १३७ अंकले बढेको छ । त्यस्तै, लाइफ इन्स्योरेन्स १३६, ननलाइफ १२३.२१, होटेल्स एन्ड टुरिजम समूहको सूचक ११६.६२ अंकले बढेको छ ।
कारोबारमा आएका कम्पनीमध्ये सालपा विकास बैंक, पञ्चकन्या माई हाइड्रोपावर र रिलायन्स स्पिनिङ मिल्सको सेयर मूल्य नौ प्रतिशतभन्दा धेरैले बढ्यो । सालपाको ६४ रुपैयाँ, पञ्चकन्याको ३५ रुपैयाँ र रिलायन्सको ६१ रुपैयाँले सेयर मूल्य बढेको छ ।
साथै, मोलुङ हाइड्रोपावर, लक्ष्मी लघुवित्त र क्रेस्ट माइक्रो लाइफका लगानीकर्ताले ६ प्रतिशतभन्दा धेरै कमाएका छन् । सबैभन्दा धेरै घटेको शुभम पावरका लगानीकर्ताले २.५३ प्रतिशत गुमाएका छन् ।
कारोबार रकमका हिसाबमा आँखुखोला जलविद्युत् शीर्षस्थानमा रह्यो । सो कम्पनीको ३४ करोड ६५ लाख रुपैयाँको सेयर खरिद–बिक्री भयो । त्यसपछि रिदी पावरको २७ करोड ७४ लाख, एसवाई प्यानलको २४ करोड ६७ लाख, मञ्जुश्री फाइनान्सको २२ करोड ६० लाख र ङादी पावरको २० करोड रुपैयाँभन्दा बढीको सेयर किनबेच भएको छ ।
अर्को कारोबार सोमबार मात्रै
सेयर बजार अब आगामी सोमबार मात्रै खुल्नेछ । सरकारले निर्वाचन प्रयोजनका लागि बुधबारदेखि शुक्रबारसम्म तीन दिन बिदा दिएको छ । शनिबार सार्वजनिक बिदा हो भने आइतबार नारी दिवस परेको छ । यस दिन पनि बजार खुल्दैन । एकैपटक सोमबार मात्रै कारोबार गर्न पाइनेछ ।