प्रतिनिधिसभा सदस्य निर्वाचन २०८२ अन्तर्गत २१ फागुनमा हुन गइरहेको मतदानका लागि निर्वाचन सामग्रीसहित सिराहाका सबै मतदान केन्द्रहरूमा कर्मचारी र सुरक्षाकर्मी पुगेका छन्।
मुख्य निर्वाचन अधिकृतको कार्यालय सिराहाका अनुसार जिल्लाका चार निर्वाचन क्षेत्रअन्तर्गत पर्ने २२३ स्थायी र एक अस्थायी गरी २२४ मतदानस्थलमा ५३१ स्थायी र तीन अस्थायी गरी ५३४ मतदान केन्द्रमा निर्वाचन सामग्रीसहित कर्मचारी र सुरक्षाकर्मीहरू पुगिसकेका छन्।
मतपेटिका, सुरक्षण सिल, छेकावारसहित सम्बन्धित मतदान केन्द्रमा पुगेका निर्वाचन कर्मचारीहरूले मंगलबार होलीको दिन भए पनि निर्वाचनमा भाग लिएका स्थानीय राजनीतिक दलका प्रतिनिधिहरूसँग सर्वदलीय बैठकसमेत सम्पन्न गरी मतदान गर्ने ठाउँ तयारी थालिएको जिल्ला निर्वाचन अधिकारी राजन श्रीवास्तवले बताए।
सर्वदलीय बैठकमा मतदाता परिचयपत्र, मतदान प्रतिनिधिको नियुक्ति, अशक्त मतदाताको व्यवस्थापन, मतदानस्थलमा प्रतिबन्ध, मतदानको समय पालना, विवाद समाधानसहित शान्तिपूर्ण तथा भयरहित वातावरणमा निर्वाचन सम्पन्न गर्नेलगायतका विषयमा निर्णय गरिएको उनले बताए। उनका अनुसार निर्वाचनका लागि जिल्लाभर ५३४ मतदान अधिकृत, तीनवटा अस्थायी केन्द्रबाहेक हरेकमा तीन-तीनजना सहयोगी गरी चार हजार ७९४ कर्मचारी खटिएका छन्।
दलका ५४ रस्वतन्त्र ८४ जना गरी १३८ जना उम्मेदवार रहेको जिल्लाका चार निर्वाचन क्षेत्रमा गरी दुई लाख ४१ हजार ६१५ पुरुष, दुई लाख १२ हजार २८ महिला र दुई अन्य गरी चार लाख ५३ हजार ६४५ मतदाता छन्।
निर्वाचन सुरक्षाका लागि जिल्लाको चारवटै क्षेत्रमा एक हजार चार सय नेपाल प्रहरी, ६ सय नेपाली सेना, सात सय सशस्त्र प्रहरी र तीन हजार आठ सय निर्वाचन प्रहरीसहित हरेक पालिकामा दुई/दुईजनाका दरले राष्ट्रिय अनुसन्धान विभागका कर्मचारी परिचालन गरिएको जिल्ला निर्वाचन कार्यालयले जनाएको छ।