कैलाली ५ का स्वतन्त्र उम्मेदवार विष्टको समर्थन रास्वपा उम्मेदवार चन्दलाई

सोमबार, १८ फागुन, २०८२
डिजिटल संस्करण

कैलाली क्षेत्र नम्बर ५ बाट प्रतिनिधिसभा सदस्यका लागि स्वतन्त्र उम्मेदवारी दिएका ईश्वरी विष्टले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का उम्मेदवार आनन्दबहादुर चन्दलाई समर्थन गरेका छन्। आफ्नो उम्मेदवारी निष्क्रिय पार्दै विष्टले चुनावमा चन्दलाई समर्थन गरेको बताए।

धनगढीमा सोमबार आयोजित पत्रकार सम्मेलनमा उनले देश परिवर्तनका लागि आफूले रास्वपालाई समर्थन गरेको बताए। ‘मैले स्वतन्त्र उम्मेदवारी दिएको थिएँ, तर आज देश परिवर्तनको सँघारमा उभिएको छ। यस्तो महत्त्वपूर्ण घडीमा व्यक्तिगत चाहनाभन्दा माथि उठेर राजनीतिक परिवर्तनको पक्षमा उभिनु आवश्यक ठानेको छु,’ उनले भने, ‘त्यसैले मैले रास्वपाका उम्मेदवारलाई समर्थन गर्ने निर्णय गरेको हुँ।’

सुशासन, पारदर्शिता र जनताको आवाज बलियो बनाउने एउटै उद्देश्यले रास्वपासँगै अघि बढ्ने उनले बताए। विष्ट रास्वपा धनगढी नगर कमिटीका संस्थापक सभापति हुन्। टिकट नपाएपछि स्वतन्त्र उम्मेदवारी दिएका विष्ट पुनः रास्वपामै फर्किएका हुन्। उनले परिवर्तनको पक्षमा उभिन आग्रह गरे।

रास्वपाका सुदूरपश्चिम सहमहामन्त्री करिश्मा कठरिया र उम्मेदवार चन्दले विष्टलाई पार्टीमा स्वागत गरे। विष्ट आफ्नो उम्मेदवारी निष्क्रिय पारेर पार्टीमा फर्किएसँगै कैलाली ५ मा रास्वपाको स्थिति थप मजबुत बनेको चन्दले बताए। 

यसअघि नागरिक उन्मुक्ति पार्टी नेपालका उम्मेदवार जगन्नाथ चौधरीले पनि आफ्नो उम्मेदवारी निष्क्रिय पारेर रास्वपाका उम्मेदवार चन्दलाई समर्थन गरेका थिए। मुख्य निर्वाचन अधिकृतको कार्यालयले यो क्षेत्रमा १५ उम्मेदवारको अन्तिम नामावली प्रकाशन गरेको थियो।
 

सुझावित समाचार