नेपाल प्रहरीका महानिरीक्षक दानबहादुर कार्कीले प्रहरी नेतृत्व सम्हालेको सय दिनमा पाँच हजार ७८१ फरार प्रतिवादी पक्राउ परेका छन्। फैसला कार्यान्वयनको अभियानअन्तर्गत ठुलो सफलता मिलेको प्रहरी प्रधान कार्यालयले जनाएको छ।
कार्कीले गत २७ कात्तिकमा प्रहरीको नेतृत्व सम्हालेका थिए। त्यसयता ८ फागुनसम्मको सय दिनमा एक हजार ९६० वर्ष कैद र ३८ करोड ३६ लाख २७ हजार रुपैयाँ जरिवाना तोकिएका फरार प्रतिवादी पक्राउ परेका हुन्। त्यस्तै, लागूऔषधसम्बन्धी कसुरमा दुई हजार ४५५ जना विरुद्ध एक हजार ५४८ मुद्दा दर्ता भएको छ।
अपराध अनुसन्धान र फैसला कार्यान्वायनमा यो अवधिमा महत्त्वपूर्ण सफलता मिलेको प्रहरी प्रधान कार्यालयले जनाएको छ।
कार्यसम्पादन प्रणालीको सुरुवात, रासनमा वृद्धि
संगठनमा सुधारका लागि महानिरीक्षक कार्कीले ‘कार्यसम्पादन मूल्यांकन मार्गदर्शन’ कार्यान्वयन गरी जिल्ला प्रहरी कार्यालयहरूको मासिक कार्यसम्पादन मापन गर्ने पद्धतिको सुरुवात गरेका छन्। जसअनुसार हरेक कार्यालयको महिनागत रूपमा मूल्यांकन सुरु भएको छ ।
पदभार ग्रहणको समयमा गरेको प्रतिबद्धताअनुरूप प्रहरी कार्यालय सहयोगदेखि प्रहरी वरिष्ठ नायब निरीक्षक दर्जासम्मको प्रहरी कर्मचारीका लागि ‘आकस्मिक सहुलियत कर्जा’ प्रवाह प्रक्रिया पूरा गरी अनलाइन आवेदन प्रणाली सञ्चालन भएको छ ।
त्यस्तै, उनको नेतृत्वमा रासन स्केलमा देखिएको असमानता हटाउँदै फागुन १ गतेदेखि लागू हुने गरी नेपाल प्रहरीको रासन स्केलमा थप तीन प्रकारका सामग्री समावेश भएको छ । जसअनुसार प्रहरीको रासनभत्ता १० प्रतिशतले वृद्धि भएको छ ।
प्रहरी प्रधान कार्यालयमा एआई सेलको स्थापना, सरुवा प्रणाली व्यवस्थित गर्दै आफ्नो दरबन्दीमा हाजिर भएपछि मात्र दर्ज्यानी चिह्न प्रदान गर्ने नीतिको कार्यान्वयन, संगठनको व्यवसायिकतामा बाह्य प्रभाव पार्ने वा त्यस्तो प्रभावमा संलग्न प्रहरी कर्मचारीहरूको गतिविधि तीनपुस्ते रेकर्डमा अभिलेखीकरण गर्ने कार्यको संस्थागत रूपमा औपचारिक शुभारम्भ आइजिपी कार्कीको सफलता हुन्।