अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले गत वर्ष मेमा मध्यपूर्वको भ्रमणका क्रममा अरबी देशका राष्ट्रप्रमुखअगाडि उभिए, त्यस भेगमा अमेरिकी विदेश नीतिको नयाँ युगको घोषणा गरेका थिए । यसअन्तर्गत भविष्यमा यस भेगलाई पुनः आकार दिने वा यहाँका शासन प्रणाली परिवर्तन गर्ने प्रयास नगरिने उनले वाचा गरेका थिए । ‘कथित राष्ट्र–निर्माणका नाममा गरिने कारबाहीले निर्माणभन्दा धेरै राष्ट्रलाई ध्वस्त पारे । हस्तक्षेपकारीले आफैँले नबुझेको जटिल समाजमा हस्तक्षेप गरेर गल्ती गरे,’ राष्ट्रपति ट्रम्पले आफूअघिका अमेरिकी राष्ट्रपतिका कारबाहीको आलोचना गर्दै भनेका थिए ।
तर, सो घोषणाको एक वर्ष पनि नबित्दै ट्रम्पले इरानलाई ‘स्वतन्त्र’ बनाउने लक्ष्यका साथ पूर्णस्तरको सैन्य अभियानको आदेश दिएका छन् । विगतमा आफ्नो राजनीतिक करिअर नै पूर्वराष्ट्रपति जर्ज डब्लु बुसजस्ता हस्तक्षेपकारी नेताको विरोध गरेर बिताएका ट्रम्प आफैँ तिनकै लाइनमा उभिन पुगेका छन् । विश्लेषकहरू पनि इरानमाथिको पछिल्लो युद्ध ट्रम्पका घोषित राजनीतिक विचारधारा, नीतिगत लक्ष्य वा चुनावी वाचाअनुरूप मेल नखाने बताउँछन् । ट्रम्पले इजरायलसँग मिलेर युद्ध गरिरहेका छन् । धेरै इरानविज्ञ यस युद्धबाट अमेरिकालाई भन्दा इजरायल र यसका प्रधानमन्त्री बेन्जामिन नेतान्याहुलाई फाइदा पुग्ने औँल्याइरहेका छन् ।
‘यो फेरि पनि इजरायलको दबाबमा अमेरिकाले सुरु गरेको युद्ध हो । अर्थात्, यो अमेरिकाले इजरायलको पक्षमा लडेको अर्को इजरायली युद्ध हो । इजरायलले दुई दशकदेखि नै अमेरिकालाई इरानमाथि आक्रमण गर्न दबाब दिँदै आएको छ । अहिले आएर ट्रम्पले तिनको इच्छा पूरा गरिदिएका छन्,’ वासिंटन डिसीस्थित ‘सेन्टर फर इन्टरनेसनल पोलिसी’की वरिष्ठ फेलो नेगर मोर्तजावीले भनिन्, ‘यो कति विडम्बनापूर्ण छ भने जुन व्यक्ति (ट्रम्प)ले राजनीति नै बाह्य देशमा युद्ध गर्न हुँदैन भनेर विकास गर्यो र जसले आफूलाई निरन्तर ‘शान्तिका दूत’का रूपमा सम्बोधन गर्छ, अहिले ऊ आफैँले यति ठुलो युद्ध सुरु गरेको छ ।’
इजरायलले दुई दशकदेखि नै अमेरिकालाई इरानमाथि आक्रमणका लागि दबाब दिँदै आएकामा ट्रम्पले उसको इच्छा पूरा गरिदिएका छन्
सन् २००३ मा पनि इराकमाथि अमेरिकी आक्रमणलाई प्रोत्साहित गरेका नेतान्याहुले त्यसयता निरन्तर दुई दशकभन्दा बढी समय इरानले जुनसुकै वेला आणविक हतियार प्राप्त गर्न सक्ने चेतावनी दिँदै आएको देखियो । इरान आफैँले भने आफ्नो आणविक अनुसन्धान बम विकासका लागि नभएको भन्दै आएको छ । ट्रम्प प्रशासनभित्रकै अधिकारीले पनि तेहरानले गरिरहेको युरेनियम पदार्थको संवद्र्धन आणविक हतियार निर्माणका लागि भएको भन्ने कुनै प्रमाण नरहेको बताउन थालेका थिए ।
गत वर्ष जुन महिनामा भएको १२ दिने युद्धमा अमेरिकाले इरानका प्रमुख आणविक प्रशोधन केन्द्रमाथि बम आक्रमण गरेको थियो । त्यसपछि ट्रम्पले तेहरानको आणविक कार्यक्रम पूर्णतः ‘नष्ट’ भएको बताउने गर्थे । त्यसपछि नेतन्याहुले इरानबाट नयाँ खतराको डर देखाउन थाले । तेहरानले लामो दूरीको ब्यालिस्टिक मिसाइलसमेत बनाइरहेको इजरायलले दाबी गर्यो । लगत्तै ट्रम्पले सो दाबी दोहोर्याउन थाले । तथापि, तेहरानले भने लामो दूरीको ब्यालेस्टिक मिसाइल विकास गरेको आरोप अस्वीकार गरेको छ । त्यस्तै, कुनै पनि कुनै सार्वजनिक प्रमाण वा परीक्षणले पनि इजरायली दाबीलाई समर्थन गर्दैन ।
गत वर्ष जारी अमेरिकी राष्ट्रिय सुरक्षा रणनीतिले वासिंटनको विदेश नीतिमा मध्यपूर्वलाई प्राथमिकता कम गर्दै जाने र पश्चिमी गोलार्धमा ध्यान केन्द्रित गर्ने बताएको थियो । यसबिच, इराक र अफगानिस्तानको युद्धमा नराम्रो परिणाम भोगेपछि बाह्य देशमा हुने द्वन्द्वप्रति नकारात्मक आमअमेरिकी जनताले पनि इरानसँगको युद्धविरुद्ध रहेको जनमत सर्वेक्षणले देखाएको छ । मेरील्यान्ड विश्वविद्यालयले भर्खरै गरेको सर्वेक्षणमा केवल २१ प्रतिशत उत्तरदाताले मात्र इरानसँग युद्ध सही भएको बताएका थिए, बाँकी सबै विरोधमा देखिए ।
आमजनमतलाई साम्य पार्न नै ट्रम्प प्रशासनले यसै महिनाको सुरुमा तेहरानसँग कूटनीतिमा संलग्न सुरु गरेका थिए । त्यतिवेला द्वन्द्वको सम्भावना घटेको महसुस भएको थियो । अमेरिका र इरानी वार्ताकारले तीन चरणको वार्तापछि तेहरानले आफ्नो आणविक कार्यक्रमको निरीक्षण गर्न सहमति जनाएको थियो । बिहीबार भएको तेस्रो चरणको अन्तिम वार्तामा ओमानी मध्यस्थकर्ता र इरानी अधिकारीले वार्ता सकारात्मक दिशामा बढेको बताएका थिए । तर, त्यसपछि एक्कासि आक्रमण भएको छ ।
‘नेतन्याहुको एजेन्डा सधैँ कूटनीतिक प्रयासमा भाँजो हाल्नु रहेको छ । उनलाई पछिल्लो समय ट्रम्प साँच्चै नै सम्झौताप्रति गम्भीर भएका हुन् कि भन्ने चिन्ता छ । त्यसैले, वार्ता चलिरहेको समयमा युद्ध भड्किनु नेतन्याहुको सफलता हो । यसअघि जुनमा पनि वार्ताबिच इरानमाथि आक्रमण गरिएको थियो,’ नेसनल इरानियन अमेरिकन काउन्सिल (एनआइएसी)का अध्यक्ष जमाल अब्दीले भने, ‘ट्रम्पले अहिले इरानको सत्ता परिवर्तनको पक्षमा बोल्न थाल्नु नेतन्याहुका लागि थप जित हो । तर, अमेरिकी जनताको भने यसमा हार हुनेछ । किनकि, यसले अमेरिकालाई ठुलो धनजनको क्षति हुने लामो युद्धमा फसाउन सक्छ ।’
हार्ब वासिङटन डिसीमा बसेर अमेरिकी विदेश नीति, अरब–अमेरिकी मुद्दा, नागरिक अधिकार र राजनीति विषयमा लेख्छन्) अलजजिराबाट