दक्षिण अफ्रिका १०औँ आइसिसी टी–२० विश्वकप क्रिकेट प्रतियोगितामा अपराजित रहँदै सेमिफाइलनमा प्रवेश गरेको छ । सुपर ८ अन्तर्गत समूह १ मा दक्षिण अफ्रिकाले आइतबार जिम्बावेलाई पाँच विकेटले हराउँदै अपराजित यात्रा गरेको हो । दक्षिण अफ्रिकाले आफ्नो समूहमा भारत, वेस्ट इन्डिज र जिम्बावेलाई हरायो । नयाँदिल्लीको मैदानमा पहिलो ब्याटिङ गरेको जिम्बावेले २० ओभरमा सात विकेट गुमाएर १५७ रन बनाएको थियो । प्रत्युत्तरमा दक्षिण अफ्रिकाले १७.५ ओभरमा पाँच विकेटको नोक्सानीमा १५४ रन बनायो ।
दक्षिण अफ्रिकाले १३ बलअघि जित निकालेको हो । खेलमा जिम्बावेका अलराउन्डर सिकन्दर राजाले उत्कृष्ट प्रदर्शन गरे पनि टोलीलाई जित दिलाउन सकेनन् । उनले ४३ बलमा ७३ रन जोडेका थिए । बलिङमा उनले २९ रन खर्चेर तीन विकेट हात पारे । यसै प्रदर्शनका कारण उनी म्यान अफ दी म्याच भए । दक्षिण अफ्रिकी बलर लुन्गीले टी–२० आईमा राष्ट्रका लागि सर्वाधिक विकेट लिए ।
उनले टी–२० आईमा ९० विकेट पु¥याएका छन् । यसअघि साम्सीको नाममा ८९ विकेट थियो । यसैगरी रायल ब्रुलले टी–२० विश्वकपमा एक फिल्डरका रूपमा धेरै क्याच लिने रेकर्ड बनाए । उनले टी–२० विश्वकपमा १० क्याच लिएका छन् । यसअघि जिम्बावेका सिकन्दर राजाको नाममा नौ क्याच रहेको थियो ।
सिकन्दरको अर्धशतक
चालू १०औँ आइसिसी टी–२० विश्वकपमा जिम्बावेका सिकन्दर उत्कृष्ट फर्ममा छन् । उनले समूह चरणदेखि सुपर ८ सम्म ब्याटिङ र बलिङमा एकनासको प्रदर्शन गरेका छन् । प्रतियोगितामा उनी व्यक्तिगत रन बनाउने सूचीको १२औँ स्थानमा छन् । उनले ६ खेलमा २०६ रन जोडेका छन् । दक्षिण अफ्रिकाविरुद्ध पनि उनले एकल प्रदर्शन गरे । जिम्बावेले निरन्तर रूपमा विकेट गुमाइरहँदा सिकन्दरले आक्रामक रूपमा ब्याटिङ गरेका थिए । उनले ७३ रनको योगदान दिँदा आठ चौका र चार छक्का प्रहार गरेका थिए ।
उनी इनिङ्सको १६.३ ओभरमा आउट भए । त्यसवेला जिम्बावे १२६÷६ को अवस्थामा रह्यो । उनले क्लिभ माडान्डेसँग छैटौँ विकेटका लागि ३९ रनको साझेदारी गरेका थिए । जिम्बावेको ब्याटिङमा ब्रायन बेनेटले १३ बलमा १५ रन जोडे । डिओन मेयर्सले ११ रन जोडे । क्लिभले अन्तिमसम्म नटआउट रहँदै २० बलमा तीन चौकाको सहयोगमा २६ रनको योगदान दिए । बलिङमा दक्षिण अफ्रिकाका लागि वेनाले २१ रन खर्चंदै दुई विकेट लिए । कोर्बिन बोस्चले ४० रनमा दुई विकेट हात पारे ।
दक्षिण अफ्रिकाको मध्यक्रम बलियो
लक्ष्य पछ्याएको दक्षिण अफ्रिकाको सुरुवात कमजोर रह्यो । नयाँदिल्लीको पिचमा जिम्बावेले सुरुमै स्पिनर लगाएको थियो । कप्तान सिकन्दरले इनिङ्सको तेस्रो बलमै दक्षिण अफ्रिकाका दोस्रो ओपनर क्विन्टन डी कोकलाई मारुमानीबाट क्याच आउट गराए । त्यसपछि २.५ ओभरमा कप्तान एडेन माक्रामको विकेट सिकन्दरले नै लिए । एडेनले पाँच बलमा चार रन जोडेका थिए । दक्षिण अफ्रिकाले सुरुको दुई विकेट गुमाउँदा स्कोर बोर्डमा १४ रन मात्र जोडेको थियो ।
डेभिड मिलर र डेवाल्ड ब्रेभिसबिच चौथो विकेटका लागि ६० रनको साझेदारी भएको थियो । दुवैले टोलीलाई ९.६ ओभरमा ९३–४ को स्थितिमा राखे । मिलरले १६ बलमा २२ रन जोडे । ब्रेभिसले १८ बलमा चार छक्का र दुई चौका प्रहार गरी ४२ रनको योगदान दिए । रायनले २२ बलमा चार छक्काको सहयोगमा ३१ रन बनाए । त्यसपछि ट्रिस्टनले २४ बलमा २१ तथा जर्जिया लिन्डेले २१ बलमा ३० रन जोडे । लिन्डेले २१ बलमा दुई चौका र एक छक्का प्रहार गरी ३० रन बनाएका थिए ।