प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि उम्मेदवारी दिएका सबै उम्मेदवार तथा राजनीतिक दललाई अनिवार्य रूपमा बैंक खाता सञ्चालन गर्नुपर्ने कानुनी व्यवस्था रहे पनि हालसम्म सीमित संख्याले मात्र खाता खोलेको पाइएको छ।
निर्वाचन आयोगका अनुसार फागुन २१ गते हुने प्रतिनिधिसभा निर्वाचनअन्तर्गत प्रत्यक्षतर्फ उम्मेदवारी दर्ता गराएका तीन हजार ४०६ उम्मेदवारमध्ये एक हजार ८६५ जनाले मात्रै निर्वाचन प्रयोजनका लागि बैंक खाता सञ्चालन गरेका छन्। त्यसैगरी, निर्वाचनमा सहभागी ६५ राजनीतिक दलमध्ये ११ दलले मात्र अनिवार्य बैंक खाता खोलेका छन्।
हालसम्म खाता सञ्चालन गर्ने दलहरूमा नेपाली कांग्रेस, राष्ट्रिय जनमोर्चा, नेकपा (संयुक्त), नेपाल कम्युनिस्ट पार्टी (नेकपा), नेपालका लागि नेपाली पार्टी, जनता समाजवादी पार्टी, संयुक्त नागरिक पार्टी, मितेरी पार्टी, नेपाल जनता संरक्षण पार्टी, नेपाल मजदुर किसान पार्टी र राष्ट्रिय जनमुक्ति पार्टी रहेका छन्। आयोगकी सहायक प्रवक्ता सीता पुन श्रीसले उक्त जानकारी दिएकी हुन्।
निर्वाचन प्रचारप्रसारका क्रममा प्राप्त हुने आर्थिक सहयोगको पारदर्शिता कायम गर्न, खर्च सीमाको पालन सुनिश्चित गर्न तथा प्रभावकारी अनुगमनका लागि बैंक खातामार्फत मात्र आर्थिक कारोबार गर्नुपर्ने व्यवस्था गरिएको हो। ‘प्रतिनिधिसभा सदस्य निर्वाचन प्रचारप्रसार बैंक खाता (सञ्चालन तथा व्यवस्थापन) कार्यविधि, २०८२’ ले समानुपातिक तथा प्रत्यक्ष दुवै प्रणालीअन्तर्गत उम्मेदवारी दिएका दल, उम्मेदवार तथा स्वतन्त्र उम्मेदवारलाई अनिवार्य रूपमा बैंक खाता खोल्न निर्देशन दिएको छ।
कार्यविधिअनुसार निर्वाचनसम्बन्धी सम्पूर्ण आम्दानी तथा खर्च सम्बन्धित बैंक खातामार्फत नै सञ्चालन गर्नुपर्ने प्रावधान रहेको छ। आयोगले सो व्यवस्थाको कार्यान्वयन अवस्थाबारे नियमित निगरानी गरिरहेको जनाएको छ।