ट्रन्सपरेन्सी इन्टरनेसनल नेपालले आसन्न प्रतिनिधिसभाको निर्वाचनमा हुन सक्ने गैरकानुनी आर्थिक चलखेल रोक्न अपिल गरेको छ।
देशले अकल्पनीय जनधनको क्षति व्यहोरेको पृष्ठभूमिमा निर्वाचन हुन लागेको उल्लेख गर्दै ट्रान्सपरेन्सीले निर्वाचनको परिणामले भ्रष्टाचार नियन्त्रण र सुशासन प्रवर्द्धनको जग बसाल्न सक्ने प्रत्याभूति दिन सक्नुपर्नेमा जोड दिएको छ।
राजनीतिक दलहरूबाट उम्मेदवार चयन र टिकट वितरणमा रकम असुली, अपारदर्शी रूपमा चन्दा संकलन तथा निर्वाचन आचारसंहिताविपरीतका कार्यहरू खुल्लमखुला भइरहेका घटनाहरू सञ्चारमाध्यमबाट प्रसारण भइरहेको विज्ञप्तिमा उल्लेख छ।
‘यसप्रकारका गैरकानुनी आर्थिक कारोबार तथा आचारसंहिताविपरीत क्रियाकलाप गरी निर्वाचित भएर आउने जनप्रतिनिधिहरूबाट इमानदारी, जवाफदेहिता र सुशासनको अपेक्षा गर्न सकिँदैन। निर्वाचनमा त्यसरी गरिएको खर्च उठाउन र राजनीतिक शक्ति कायम राख्न भ्रष्टाचारबाहेक अन्य स्राेत हुन सक्दैन। यो परिपाटीले भ्रष्टाचारको दलदलबाट देश माथि उठ्न सक्दैन,’ ट्रान्सपरेन्सीले भनेको छ।
यस्ता गैरकानुनी तथा भ्रष्टाचारलाई प्रश्रय दिने आपराधिक कार्य भए–नभएकोबारे सम्बन्धित निकायले प्रभावकारी निगरानी र जाँचबुझ भई कडा कारबाही गर्नुपर्नेमा ट्रान्सपरेन्सीको जोड छ।
