ज्वरोका कारण एकै घरका दुई किशोरको मृत्यु, गाउँ नै त्रासमा
बैतडीको पुरचौँडी नगरपालिका–१०, महरागाउँमा ज्वरोका कारण दुई किशोरको मृत्यु भएको छ। मृत्यु हुनेमा १३ वर्षीय विनोद महरा र उनकै भाइ १० वर्षका विकास महरा रहेका छन्। उच्च ज्वरो आउने, बान्ता हुने, जिउ तथा आँखा दुख्नेजस्ता लक्षणले सहोदर दाजुभाइको मृत्यु भएको स्थानीय किशोर धामीले बताए। उनका अनुसार दाजु विनोदको गत सोमबार मृत्यु भएको हो भने भाइ विकासको आज बिहान मृत्यु भएको हो।
ज्वरोबाट गम्भीर बनेका उनलाई अस्पताल लैजान गाउँलेहरूले गाडी मगाएका थिए। गाडी आइनपुग्दै बान्ता गरेर पानी पिएपछि छट्पटाउँदै मृत्यु भएको स्थानीय कैलाश महराले बताए । उनका दाजु विकासलाई पनि गत सोमबार अस्पताल लैजान घरबाट १० मिनेट हिँडेर सडकमा पुर्याएपछि गाडी चढ्नै लाग्दा बेहोस भएर मृत्यु भएको महराले जानकारी दिए।
इजरायल–इरान तनाव : खाडी मुलुकले बन्द गरे हवाई क्षेत्र
मध्यपूर्वमा तनाव तीव्र बनेको छ। इजरायल र संयुक्त राज्य अमेरिकाले संयुक्त रूपमा इरान माथि हवाई आक्रमण सुरु गरेपछि खाडी क्षेत्रका देशहरूले आफ्नो हवाई क्षेत्र अस्थायी रूपमा बन्द गरेका छन्।
अन्तर्राष्ट्रिय सञ्चारमाध्यमका अनुसार आक्रमणपछि कतार, कुवेत र संयुक्त अरब इमिरेट्सले सुरक्षाको कारण देखाउँदै हवाई उडान स्थगित गरेका छन्। यस निर्णयले अन्तर्राष्ट्रिय उडान तालिकामा व्यापक प्रभाव परेको छ भने हजारौं यात्रु प्रभावित भएका छन्।
अवसर नपाएका समुदायलाई अर्को चुनावबाट अवसर: गगन थापा
नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले बाराको कोल्हबी नगरपालिकामा आयोजित चुनावी सभामा कांग्रेस सबै जातजातिको साझा पार्टी भएको भन्दै स्थानीय र प्रदेश चुनावमा सबै समुदायले अवसर पाउने बताएका छन्।
थापाले आगामी फागुन २१ को चुनावमा सबैले एक भएर मतदान गर्नुपर्ने र कांग्रेसले ५ वर्षमा नेपालमा विकास, सुधार र स्थायित्वको ग्यारेन्टी लिएको बताए। उनले जात, धर्म वा क्षेत्रको आधारमा विभेद नगरी काम गर्दै सरकारलाई गतिमा अघि बढाउने वाचा पनि गरे।
बाबुराम भट्टराई नेतृत्वको प्रलोपाले गोरखामा कांग्रेसलाई सहयोग गर्ने
प्रगतिशील लोकतान्त्रिक पार्टीले (प्रलोपा) ले २१ फागुनमा हुन लागेको प्रतिनिधिसभा सदस्य निर्वाचनअन्तर्गत गोरखा जिल्लामा नेपाली कांग्रेसलाई सहयोग गर्ने भएको छ। पूर्वप्रधानमन्त्री डा. बाबुराम भट्टराई आबद्ध प्रलोपाले गोरखाको दुवै क्षेत्रमा प्रत्यक्षतर्फ कांग्रेसका उम्मेदवारलाई सहयोग गर्ने भएको हो।
प्रलोपाको तर्फबाट २१ फागुनको निर्वाचनका लागि गोरखा १ बाट गोपालबाबु श्रेष्ठ र २ बाट डा. बाबुराम भट्टराईले उम्मेदवारी दर्ता गरेकोमा दुवैजनाले ९ माघमा आ– आफ्नो उम्मेदवारी फिर्ता लिएका थिए। दुवै उम्मेदवारले उम्मेदवारी फिर्ता लिएपछि प्रलोपाले कसलाई सहयोग गर्छ भन्ने विषयमा सबैले चासो दिइरहेका वेला निर्वाचनको मिति नजिकिएसँगै कांग्रेसलाई सहयोग गर्ने निर्णय गरेको हो।
मध्यपूर्वमा कार्यरत लाखौँ नेपालीको सुरक्षाका लागि कूटनीतिक पहल थाल्न प्रचण्डको आग्रह
नेपाली कम्युनिस्ट पार्टीका संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ले इरानमाथि अमेरिका र इजरायलबाट भएका आक्रमण तथा त्यसपछि विकसित घटनाहरूले मध्यपूर्व क्षेत्रमा गम्भीर तनाव सिर्जना गरेको बताएका छन्। सामाजिक सञ्जालमा स्टाटस लेख्दै प्रचण्डले घटनाप्रति गहिरो चिन्ता व्यक्त गरेका छन्।
यस स्थितिमा मध्यपूर्वमा कार्यरत लाखौँ नेपालीको सुरक्षा हाम्रो प्रमुख प्राथमिकता भएको भन्दै उनले विकसित परिस्थितिको प्रत्यक्ष प्रभाव उनीहरूमा पर्न सक्ने भएकाले नेपाल सरकारलाई उच्च सतर्कता अपनाउन अनुरोध गरे। साथै, आवश्यक कूटनीतिक पहल गर्न तथा कुनै पनि नेपाली नागरिकको सुरक्षामा आँच आउन नदिन प्रभावकारी व्यवस्था मिलाउन आग्रह गरेका छन्।
हिमाली पहाड छिचोल्दै कठिन यात्रामा मतदान केन्द्र पुग्दै छन् निर्वाचन टोली
ताप्लेजुङको उत्तरी हिमाली क्षेत्रका दुर्गम बस्तीहरूमा निर्वाचन टोली पुग्ने र सामग्री पुर्याउने कार्य तीव्र गतिमा अघि बढेको छ। चार हिमाली मतदान केन्द्रमध्ये दुई केन्द्रका कर्मचारी सामग्रीसहित शनिबार साँझ पुगेका छन्। बाँकी दुई टोली क्रमशः आइतबार र सोमबार बिहान मात्र पुग्ने भएका छन् ।
हिमाली पहाड छिचोल्दै गएको टोली शनिबार साँझसम्म ओलाङ्चुङगोलाका मतदान अधिकृत तथा सिरिजंगा गाउँपालिकाका प्रशासकीय अधिकृत डम्बरहादुर आङदेम्बेले ओलाङचुङगोला पुगेको बताए । ओलाङचुङगोला कै याङ्मा जाने टोली शनिबार९आज० भने ओलाङचुङगोलामा बास बसेको छ । भोली आइतबारपनि याङ्मा पुग्न नसिकिने र बाटोमा घरहरु नभएका कारण पार्टीमा बस्नुपर्ने अवस्था देखिएको याङ्मा मतदान केन्द्रका अधिकृत माधव खड्काले जानकारी दिए ।
मध्यपूर्वमा रहेका नेपालीलाई उच्च सतर्कता अपनाउन बालेन्द्र शाहको आग्रह
मध्यपूर्वी एसियाका विभिन्न देशमा बसोबास गरिरहेका नेपाली नागरिकहरूलाई वर्तमान असामान्य परिस्थितिलाई ध्यानमा राख्दै उच्च सतर्कता अपनाउन बालेन्द्र शाहले आग्रह गरेका छन्। राष्ट्रिय स्वतन्त्र पार्टीका वरिष्ठ नेता तथा झापा क्षेत्र नम्बर ५ का प्रत्यक्षतर्फका उम्मेदवारसमेत रहेका शाहले सामाजिक सञ्जालमार्फत एक सन्देश जारी गर्दै त्यहाँस्थित नेपालीहरूलाई सुरक्षित रहन र आधिकारिक निकायको निर्देशन पालना गर्न अनुरोध गरेका हुन् ।
शाहले सम्बन्धित देशहरूमा रहेका नेपाली राजदूतावासहरूले जारी गरेका सूचनालाई गम्भीरतापूर्वक लिन आग्रह गर्दै सकेसम्म घरभित्रै सुरक्षित रहन, स्थानीय सुरक्षा निकायका निर्देशनहरू पूर्ण रूपमा पालना गर्न र अत्यावश्यक अवस्थाबाहेक यात्रा नगर्न सुझाव दिएका छ्न्।
रोल्पामा नेकपाको चुनावी सभाबाट फर्किंदै गरेको बस दुर्घटना
रोल्पाको लिबाङमा शनिबार आयोजित नेपाली कम्युनिष्ट पार्टीको चुनावी सभाबाट फर्किंदै गरेको बस दुर्घटना हुँदा बसमा सवार ३१ जना घाइते भएका छन् । प्रहरी नायब उपरीक्षक वीरेन्द्रबीर विश्वकर्माका अनुसार १३ जनाको अवस्था मध्यम रहेको र जसमध्ये ५ जनालाई बुटवल सिटी अस्पतालमा रेफर गरिएको छ ।
सुनिलस्मृति गाउँपालिका–३, मिझिङ उपल्लो गाउँमा ना ५ ख १२३१ नम्बरको बस घुम्तीमा दुर्घटनामा परेको हो ।
मतदान केन्द्रमै प्राथमिक उपचारको व्यवस्था गर्न आयोगको निर्देशन
निर्वाचन आयोगले फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनका क्रममा सबै मतदान केन्द्रमा प्राथमिक स्वास्थ्य उपचार सेवा उपलब्ध गराउन निर्देशन दिएको छ। देशभर १० हजार ९६७ मतदानस्थल र २३ हजार २५५ मतदान केन्द्र (अस्थायीसमेत) मा मतदान हुने भएकाले कर्मचारी, सुरक्षाकर्मी तथा अपांग, अशक्त र ज्येष्ठ नागरिक मतदातालाई लक्षित गर्दै आकस्मिक स्वास्थ्य सेवा तयारी अवस्थामा राख्न आग्रह गरिएको हो।
आयोगका सहसचिव एवं प्रवक्ता नारायणप्रसाद भट्टराईद्वारा जारी विज्ञप्तिअनुसार स्थानीय तह, स्वास्थ्य तथा जनसंख्या मन्त्रालय र संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयसँग समन्वय गरी अस्पताल तथा स्वास्थ्य संस्थामा चिकित्सक, स्वास्थ्यकर्मी र औषधि तयारी अवस्थामा राख्न पत्राचार गरिएको छ।
संविधानसभा सदस्य पहाडी एमाले प्रवेश
संविधानसभा सदस्य विनोद पहाडी नेकपा एमालेमा प्रवेश गरेका छन्। उनलाई एमाले उपाध्यक्ष विष्णु पौडेल, सचिव छविलाल विश्वकर्मा, नेता लीला गिरीले पार्टीमा स्वागत गरेका छन्। उनी राष्ट्रिय दलित पत्रकार महासंघका अध्यक्ष हुन्।
एमाले प्रवेश गर्दै पहाडीले कुनै लोभमा नभएर विचारका आधारमा एमाले रोजेको जनाए। उनीसँगै नेकपा रूपन्देही सदस्य सरोज गौतम, नगर सदस्य जनक गौतम एमाले प्रवेश गरेको सो पार्टीले जनाएको छ।