भ्रष्टाचार मुद्दामा दोषी ठहर भई कैद सजाय भोगिसकेका सप्तरीको रूपनी गाउँपालिका– १ का पूर्ववडाध्यक्ष पीताम्बर यादव नेपाली कांग्रेसमा प्रवेश गरेका छन्।
शुक्रबार उनलाई नेपाली कांग्रेसका सप्तरी क्षेत्र नम्बर ३ का उम्मेदवार दिनेश यादवले पार्टीमा स्वागत गरेका हुन्। ०७४ सालको स्थानीय तह निर्वाचनमा तत्कालीन राष्ट्रिय जनता पार्टी नेपालबाट वडाध्यक्षमा निर्वाचित यादव त्यसअघि जिल्ला शिक्षा कार्यालय दैलेखमा सबइन्जिनियर पदमा कार्यरत थिए। नक्कली शैक्षिक प्रमाणपत्रका आधारमा करार सेवामा जागिर खाएको आरोपमा उनीविरुद्ध अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा उजुरी परेको थियो।
आयोगले अनुसन्धानपछि विशेष अदालतमा भ्रष्टाचार मुद्दा दायर गरेको थियो। विशेष अदालतले २१ पुस ०७४ मा भ्रष्टाचार निवारण ऐन, २०५९ अन्तर्गत दोषी ठहर गर्दै उनलाई ६ महिना कैद र १५ हजार रुपैयाँ जरिवानाको फैसला सुनाएको थियो।
भ्रष्टाचार मुद्दा चलिरहेकै क्रममा उनले जागिर छाडेर चुनाव लडेका थिए। वडाध्यक्षमा निर्वाचित भइसकेपछि पनि मुद्दा प्रक्रिया जारी रह्यो। उच्च अदालत जनकपुर, राजविराज इजलासबाट उनी निलम्बनमा परे पनि सर्वोच्च अदालतको अन्तरिम आदेशपछि पुनः कामकाजमा फर्किएका थिए।
तर, २२ फागुन ०८० मा सर्वोच्च अदालतले विशेष अदालतको फैसला सदर गरेपछि उनी फरार रहेका थिए। करिब एक वर्षपछि ३० चैत ०८१ मा उनी पक्राउ परेका थिए।