निर्वाचनका लागि किमाथांका लागे कर्मचारी

शुक्रबार, १५ फागुन, २०८२
डिजिटल संस्करण

पूर्वीपहाडी जिल्ला संखुवासभाको दुर्गम र विकट मानिने किमाथांकामा निर्वाचन सम्पन्न गराउन कर्मचारी पठाइएको छ।

शुक्रबार भोटखोला गाउँपालिका वडा नं. १ को किमाथांका, वडा नं. २ को रिदाक र थुदाममा कर्मचारी पठाएको मुख्य निर्वाचन अधिकृतको कार्यालयका सूचना अधिकारी उज्ज्वल न्यौपानेले जानकारी दिए। उनका अनुसार १८ गतेभित्र मतदानस्थल र केन्द्रमा सबै कर्मचारी पुगिसक्नुपर्ने भएकाले जिल्लाको सबैभन्दा टाढा रहेको क्षेत्रमा आजै खटाइएको हो।

सदरमुकाम खाँदबारीदेखि किमाथांकाको दूरी १६२ किलाेमिटर रहेको छ। खाँदबारीदेखि ८० किलाेमिटर बरुण दोभानसम्म मात्रै यातायातको व्यवस्था छ। त्यहाँबाट किमाथांकासम्म पैदल पुग्नुपर्ने भएकाले चाँडै पठाइएको मुख्य निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ। शनिबारदेखि दूरीका हिसाबले जिल्लाभरका मतदानस्थलहरूमा कर्मचारीहरू खटाइने बताइएको छ।

संखुवासभामा ३३७ मतदान अधिकृत र सहायक मतदान अधिकृतलाई निर्वाचनसम्बन्धी तालिम दिइएको छ। जिल्लाको ७६ वटै वडामा एक–एकजना मतदाता स्वयंसेवकसमेत खटाइएको छ। संखुवासभामा कुल ९८५ जना कर्मचारीहरू निर्वाचन सम्पन्न गर्न खटाइएको छ।

एक निर्वाचन क्षेत्र रहेको संखुवासभामा ५७ हजार ४५८ महिला र ६२ हजार १७२ पुरुष गरी एक लाख १९ हजार ६३० मतदाता छन्। १०९ वटा मतदानस्थल र १६४ मतदान केन्द्र रहेको जिल्लामा एक स्वतन्त्रसहित १५ राजनीतिक दल चुनावी मैदानमा उत्रिएका छन्।

सुझावित समाचार