पोखराको सिर्जना चोकमा रहेको एनसेल सेन्टर पुनः सञ्चालनमा आएको छ। जेन–जी आन्दोलनका क्रममा तोडफोडबाट क्षति पुगेपछि यो एनसेल सेन्टर बन्द रहेको थियो।
मर्मत–सम्भारपश्चात् पुनः सञ्चालनमा ल्याइएको सेन्टरको बिहीबार एक कार्यक्रमबिच उद्घाटन गरिएको हो। एनसेलकी ग्राहक सेवा प्रबन्धक ज्योति दाहाल र पोखरा नुडल्सका एचआर अफिसर यमप्रसाद गौतमले एनसेल सेन्टरको उद्घाटन गरेका हुन्। सेन्टरमा क्षति पुगेर बन्द भएपछि कम्पनीले अस्थायी रूपमा ग्राहक सेवारू एक तलामाथि रहेको कार्यालयबाट प्रदान गर्दै आएको थियो।
कम्पनीले आफ्ना ग्राहकलाई एकै स्थानबाट विभिन्न सेवा प्रदान गर्दै विश्वस्तरीय सेवा–सुविधाको अनुभव प्रदान गर्ने उद्देश्यका साथ सेन्टर पुनः सञ्चालनमा ल्याएको जनाएको छ। यो सेन्टरबाट ग्राहकहरूले सबै ग्राहक सेवा प्राप्त गर्न सक्नेछन्।
पोखरा एनसेल सेन्टरको पुनः सञ्चालनले ग्राहकहरूलाई स्थानीय रूपमा विश्वस्तरीय सेवाहरू प्रदान गर्न कम्पनी सधैँ प्रतिबद्ध रहेको पुष्टि गर्ने एनसेलको दाबी छ। ग्राहक सेवालाई अझ सहज र गुणस्तरीय बनाउन एनसेलले देशका विभिन्न भागमा ३१ वटा एनसेल सेन्टरहरू सञ्चालन गर्दै आएको छ।