राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले आफ्नो पार्टीले बहुमत नल्याए सबैभन्दा बढी खुसी भ्रष्टाचारीहरू हुने बताएका छन्।
चुनावी सभालाई सम्बोधन गर्न गोरखा पुगेका लामिछानेले स्थायी र बलियो सरकार गठनका लागि मतदातालाई ‘घन्टी’ चिह्नमा मतदान गर्न आग्रह गरे। उनले पाँच वर्षसम्म स्थिर सरकार दिन रास्वपाले बहुमत ल्याउन आवश्यक रहेको बताए।
उनले मत विभाजनको रणनीतिप्रति सचेत गराउँदै भने, ‘कहिलेकाहीँ सुनिन्छ, एउटा भोट समानुपातिकलाई एकातिर, प्रत्यक्षलाई अर्कातिर अथवा आलोपालो भन्ने। भोट बाँडियो भने सिट बाँडिन्छ, सिट बाँडियो भने रास्वपाले बहुमत ल्याउँदैन।’
लामिछानेले वर्षौँदेखि मिलेर बसेका समुदायबिच धर्म, जात, समुदाय र सम्प्रदायका नाममा राजनीतिक खेल खेल्ने प्रयासप्रति सचेत रहन आग्रह गरे। उनले राजनीति र धर्मलाई अलग राख्नुपर्नेमा जोड दिँदै भोट बैंकको राजनीतिलाई अस्वीकार गर्नुपर्ने बताए।
उनले गोरखा १ बाट सुधन गुरुङ र गोरखा २ बाट कवीन्द्र बुर्लाकोटीलाई विजयी गराएर संसद् पठाउन मतदातासँग अपिल गरे।