सूर्यज्योति लाइफले देशभर रहेको आफ्ना शाखा कार्यालयमा कार्यरत ब्रान्च अपरेसनका कर्मचारीहरूलाई एउटै छातामुनि भेला गरी बृहत् तालिमको आयोजना गरेको छ। उक्त कार्यक्रम चितवनको भरतपुरमा अवस्थित लर्डस् बिसी प्लाजामा आयोजना गरिएको हो।
कार्यक्रममा देशभरबाट ब्रान्च अपरेसनअन्तर्गत कार्यरत कर्मचारीहरू, विभागीय प्रमुखहरू, एक्जुकेटिभहरू, कार्यकारी उपप्रमुख अधिकृत, प्रमुख कार्यकारी अधिकृत, सञ्चालक समिति सदस्यसहित २०० जनाको उपस्थिति थियो।
एएमएल–सिएफटीसम्बन्धी विस्तृत प्रशिक्षण नेपाल बिमा प्राधिकरणका उपनिर्देशक पदमप्रसाद सोडारीले प्रदान गरेका थिए भने सर्भिस एक्सिलेन्ससम्बन्धी प्रशिक्षण बैंकिङ तथा बिमाविज्ञ मनोजकुमार भट्टराईले दिएका थिए। सो अवसरमा विभागीय प्रमुखहरूसँगको प्यानल अन्तर्क्रियाअन्तर्गत विभिन्न सत्रहरू सञ्चालन गरिएका थिए, जसमा ब्रान्च अपरेसनसम्बन्धी विषयहरू समेटिएका थिए।
उक्त अवसरमा कार्यक्रमका सहभागीहरूले आफ्नो दैनिक कार्यसम्पादनका क्रममा भोगेका कठिनाइ तथा उठेका जिज्ञासाहरू सम्बन्धित प्यानलमार्फत विभागीय प्रमुखहरूले सम्बोधन गरेका थिए। सम्पूर्ण सत्रहरूलाई व्यवस्थित तथा प्रभावकारी रूपमा सञ्चालन गर्दै कार्यक्रम सफल बनाउन कम्पनीका चिफ सपोर्ट सर्भिसेज उमेशप्रसाद मैनालीले सहजीकरणको भूमिका निर्वाह गरेका थिए।
कम्पनीका प्रमुख कार्यकारी अधिकृत प्रकाश विक्रम खत्रीले अहोरात्र खटिने ब्रान्च अपरेसन कर्मचारीहरू नै कम्पनीका वास्तविक सर्भिस एम्बास्डर्स भएका बताउँदै ब्रान्च अपरेसनको कार्यसम्पादनले नै कम्पनीको ब्रान्ड भ्यालु र व्यवसाय विस्तारमा अहम भूमिका खेल्ने प्रस्ट पारे।