काभ्रे प्रतिनिधिसभा निर्वाचन क्षेत्र नं. १ को कोशीपारी क्षेत्रमा नेकपा (एमाले)ले घरदैलो अभियानलाई तीव्र बनाएको छ। पार्टीका केन्द्रीय सदस्य तथा उम्मेदवार अमित लामा मतदातासँग प्रत्यक्ष भेटघाट गरिरहेका छन्।
अभियानका क्रममा लामा काभ्रेको चौँरीदेउराली गाउँपालिकाका विभिन्न वडामा पुगेका छन्। घरदैलो कार्यक्रममा उनले स्थानीय बासिन्दासँग विकास निर्माण, रोजगारी सिर्जना, पूर्वाधार विस्तार तथा कृषि आधुनिकीकरणका विषयमा छलफल गरेका छन्।
लामाले कोशीपारीको समृद्धिका लागि दीर्घकालीन योजना आवश्यक रहेको उल्लेख गर्दै सुनकोशी तेस्रो जलविद्युत् आयोजना सुरु गर्न पहल गर्ने प्रतिबद्धता जनाए। उनका अनुसार नेपाल सरकारको बहुप्रतीक्षित उक्त आयोजना यस क्षेत्रको विकाससँग प्रत्यक्ष जोडिएको परियोजना भएकाले शीघ्र कार्यान्वयनमा जोड दिइनेछ।
यस आयोजनाले स्थानीय युवालाई रोजगारी सिर्जना, व्यापारिक गतिविधि विस्तार तथा राजस्व वृद्धिमा टेवा पुग्ने विश्वास गरिएको छ। परियोजना सुरु भएसँगै दोलालघाटदेखि दोभानटारसम्म जल–पर्यटन प्रवर्द्धन, धार्मिक तथा सांस्कृतिक सम्पदाको संरक्षण, खानेपानी तथा सिँचाइ व्यवस्थापन सुधार तथा सडक स्तरोन्नतिलाई प्राथमिकतामा राखिने उम्मेदवार लामाको भनाइ छ।
उनले घरदैलोमार्फत धार्मिक पर्यटन विस्तारका लागि पाथीभरा मन्दिर, चौँरीदेउराली मन्दिर, खाँडादेवी मन्दिर र नाग्रेगगर्चेलाई विकासको केन्द्रका रूपमा अघि बढाउने उल्लेख गरे।
घरदैलो अभियानलाई सम्बोधन गर्दै लामाले विगतमा यस क्षेत्रका जनताले पटक–पटक अन्य दललाई विजयी गराए पनि अपेक्षित विकास हुन नसकेको बताए। ‘सडक, खानेपानी, स्वास्थ्य र शिक्षाजस्ता आधारभूत क्षेत्रमा उल्लेखनीय परिवर्तन हुन सकेन,’ उनले भने, ‘अब एकपटक एमालेलाई जिताउनुहोस्, म यस भेगमा जनताको आधारभूत विकास निर्माणको बलियो जग बसाल्ने काम गर्छु।’
उम्मेदवार लामाले कोशीपारीको दीर्घकालीन विकासका लागि स्पष्ट मार्गचित्र आफूसँग रहेको दाबी गर्दै आगामी पाँच वर्षभित्र यस क्षेत्रलाई नमुना विकासका मार्गमा अघि बढाउने प्रतिबद्धता व्यक्त गरेका छन्। ‘समृद्ध कोशीपारी’ निर्माणका लागि एमालेलाई अवसर दिन उनले मतदातासँग आग्रह गरे।