रोल्पालीको शिर उँचो बनाउने काम गरेको छु : वर्षमान

बुधबार, १३ फागुन, २०८२
डिजिटल संस्करण

नेपाली कम्युनिस्ट पार्टी (नेकपा)का नेता वर्षमान पुन अनन्तले आफूले विगतमा जनप्रतिनिधि भएर रोल्पालीको शिर उँचो पार्ने काम गरेको र आगामी दिनमा समेत जिल्लावासीले शिर झुकाउनुपर्ने काम नहुने प्रतिबद्धता जनाएका छन् । 

आगामी २१ फागुनमा हुने प्रतिनिधिसभा निर्वाचनका लागि सामाजिक सञ्जालमार्फत भिडियो अपिल जारी गरेर मत माग्दै उनले रोल्पाली जनताको शिर झुक्ने तथा मतको दुरुपयोग गर्ने कुनै काम नगरेको र अब पनि आफूबाट त्यस्ता काम नहुने बताएका हुन् । 

पुनले जनप्रतिनिधिका रूपमा आफूले जिल्लाको पूर्वाधार विकासमा गरेको कामबारे विस्तारमा चर्चा गरेका छन् । उनले जिल्लाका ७२ वटै वडामा सडक सञ्जाल विस्तार, मदन भण्डारी लोकमार्ग र सहिद मार्ग निर्माणमा आफूले खेलेको भूमिकाबारे सबै जानकार रहेको बताए । यस्तै जिल्लाभरका विद्यालयमा आधुनिक भवन निर्माण तथा शैक्षिक गुणस्तर वृद्धि, सबै पालिकामा १० देखि १५ शय्यासम्मका अस्पताल, पालिकाका प्रशासनिक भवन निर्माण तथा सिँचाइ, खानेपानी र विद्युतीकरणमा धेरै काम भएको उल्लेख गरे । 

‘रोल्पाको सडक सञ्जाल विस्तार गर्नका लागि मदन भण्डारी लोकमार्ग होस् वा सहिद मार्ग निर्माण र कालोपत्रे गर्ने मैले खेलेको भूमिका यहाँहरूलाई थाहा छ । जिल्लाभरि नै उदाहरणीय विद्यालय भवन भनेका छन् । शिक्षामा गुणस्तर वृद्धि भएको छ । संघीय र स्थानीय सरकारको साझेदारीमा १० वटै पालिकाका प्रशासनिक भवनहरू संघीय र स्थानीय सरकारको साझेदारीमा करिब बनिसकेका छन् । सबै पालिकामा १०–१५ बेडका अस्पताल बनेका छन् । केही बन्ने प्रक्रियामा छन् । ०६२–०६३ सालको जनआन्दोलन जतिवेला शान्ति प्रक्रिया सुरु भएको वेला १२ प्रतिशत विद्युतीकरण भएको जिल्लामा आज ९० प्रतिशतभन्दा बढी विद्युतीकरणको भएको छ,’ उनले भने, ‘तटबन्ध, नदी नियन्त्रण, सहर बजार, गाउँ, किसानका खेतहरूको संरक्षण भएको छ । खेलकुदका पूर्वाधार थवाङ, लिवाङ, माडीचौर पुत्लाचौरलगायतमा रंगशाला निर्माण भएको छ । जिल्लामा सरकारी कृषि क्याम्पस, बहुप्राविधिक शिक्षालय स्थापनाको काम भएका छन् । सदरमुकामस्थित उमावि र जिल्लाभरका विद्यालयमा स्मार्ट अध्यापन, छात्रावास र भवनजस्ता पूर्वाधार निर्माणमा पर्याप्त कामहरू भएका छन् । गाउँपालिका र वडाहरूमा पुग्ने सडक सञ्जाल विस्तार भएका छन् । हामी शान्ति प्रक्रियामा आउँदा सदरमुकाममा धुले सडक थियो । आज ७२ वटै वडाहरूमा माह्रैमास गाडी पुग्ने अवस्था बनेको छ । कुनै वेला थवाङको आलु पाँच रुपैयाँ किलोमा बिक्री हुँदैनथ्यो, आज पोखरा र  बुटवलका बजारहरूमा पुगिराखेको छ । आफ्नै बेतबारीबाट लाखौँको आलु, सिमी, तरकारी बिक्री गर्ने व्यवस्था भएको छ । एकै किसानले १०औँ लाख र एकै गाउँबाट पाँच करोडसम्ममको सुन्तला बिक्री गर्ने अवस्था बनेको छ । सडक सञ्जालका कारणले यो भएको छ । प्रत्यक्ष–अप्रत्यक्ष रोजगारी सिर्जना भएको छ । सबैजसो बालबालिका विद्यालय पुग्ने अवस्था बनेको छ । ११ सय सहिद परिवारमध्ये पक्की छाना नभएका ६ सय परिवारको जस्तापाताको छाना भएको सुरक्षित छानाका व्यवस्था गर्ने मैले अभियान नै चलाएँ । जिल्लाका ४६ हजार घरपरिवारमध्ये आधाजसो फुसको छाना थियो । फुसको छाना विस्थापित गर्ने अभियानअन्तर्गत अहिले लगभग धेरैजसो फुसको छाना विस्थापित भएको छ । लिफ्टबाट सिँचाइ र खानेपानी पुगेको छ ।’ 

जनयुद्ध र जनआन्दोलनमा अतुलनीय योगदान गर्ने जिल्लाको जनप्रतिनिधिका रूपमा आगामी दिनमा पनि आफूले जिल्लाको इज्जत बढाउने काम गर्ने प्रतिबद्धता उनले जनाए । ‘रोल्पालाई राष्ट्रिय–अन्तर्राष्ट्रिय स्तरमा चिनाउने काम गर्नेछु । राष्ट्र निर्माणमा, राष्ट्रिय स्वाधीनतामा, देशको समृद्धिमा युवाहरूलाई रोजगार–स्वरोजगार बनाउने अभियानमा लाग्नेछु ।  विगतमा आर्थिक र पूर्वाधार क्षेत्रको मन्त्रीका रूपमा काम गर्दाको अनुभव पनि छ । रोल्पाका लागि मात्र नभई देशको विकास र स्वाधीनताका लागि नेतृत्व गर्ने मेरो संकल्प र वचनबद्धता रहनेछ,’ उनले भनेका छन् । 

उनले आफूहरू निरन्तरको त्याग, बलिदान, निरन्तरता र संकल्पसहित भएको शक्ति भएको दाबी गर्दै हावाहुरी, विनाविचार, विनासिद्धान्त विनाइतिहास र विनापृष्ठभूमिका शक्ति या व्यक्तिको पछि कोही पनि लाग्न नहुने बताए ।
 

सुझावित समाचार