चार वर्षअघि बाढीले ढालेको पक्की पुलमाथि प्रदेश सरकारको झोलुंगे पुल

बुधबार, १३ फागुन, २०८२
डिजिटल संस्करण

चार वर्षअघि बाढीले ढालेपछि अलपत्र बनेको संघीय सरकारको पक्की पुलमाथि प्रदेश सरकारले झोलुंगे पुल निर्माण गरेको छ । निर्माण सम्पन्न हुनै लाग्दा बाढीका कारण ढलेको उदयपुरको चौदण्डीगढी नगरपालिका– ५, शिवाई र बेल्हा जोड्ने त्रियुगा नदीमाथि झोलुंगे पुल निर्माण भएको हो ।संघीय सरकारको बजेटमा निर्माण सुरु भएको उक्त पुल ढलेपछि बेवारिसे अवस्थामा पुगेको छ । क्षतिग्रस्त मोटरेबल पक्की पुलको प्रयोगविहीन भागमाथि कोशी प्रदेश सरकारले झोलुंगे पुल निर्माण गरेपछि स्थानीय बासिन्दाले आवतजावतमा राहत पनि पाएका छन् । ‘पुलमाथि पुल’जस्तो अनौठो देखिने यो संरचना तत्कालका लागि व्यावहारिक समाधान बनेको स्थानीयको भनाइ छ । 

०६७ सालमा महालक्ष्मी–लोकप्रिय जेभी, कलंकीले करिब नौ करोड ७६ लाख रुपैयाँ लागत अनुमानसहित तीन वर्षभित्र सम्पन्न गर्ने लक्ष्य राखेर त्रियुगा नदीमाथि पुल निर्माण सुरु गरेका थिए । निर्माणकार्य ढिलाइ हुँदा लागत बढेर करिब ११ करोड २७ लाख रुपैयाँ पुगेको थियो । लामो समयको प्रतीक्षापछि ०७८ सालमा पुल निर्माण सम्पन्न भए पनि सोही वर्ष आएको बाढीले दुईवटा पिलर र तीनवटा स्ल्याबमा क्षति पुर्याएको थियो । जसका कारण करिब ८० मिटर भाग पूर्ण रूपमा प्रयोगविहीन बनेको छ । 

पुल क्षतिग्रस्त भएपछि चौदण्डीगढी नगरपालिका– ५, ९ र १० का करिब २० हजार स्थानीय प्रत्यक्ष प्रभावित बनेका थिए । शिवाई, सुन्दरपुर र हडिया क्षेत्रका बासिन्दाले बेल्टार बजार तथा पालिका केन्द्रसम्म पुग्न जोखिमपूर्ण यात्रा गर्नुपर्ने बाध्यता थियो । वर्षायाममा नदी वारपार गर्न डुंगाको प्रयोग गर्नुपथ्र्यो भने वैकल्पिक रूपमा मधेश प्रदेशको सप्तरी, फत्तेपुर हुँदै लामो घुमाउरो बाटो प्रयोग गर्नुपर्ने अवस्था थियो ।

स्थायी मर्मत तथा पुनर्निर्माणको काम अघि नबढेपछि कोशी प्रदेश सरकारले तत्काल राहतस्वरूप ६० लाख रुपैयाँ विनियोजन गरी झोलुंगे पुल निर्माण गरेको हो । उक्त झोलुंगे पुलबाट हाल मोटरसाइकल र पैदलयात्रीलाई सुरक्षित आवतजावत गर्न मिल्ने व्यवस्था भएको स्थानीय देवनारायण चौधरीले बताए । उनले भने, ‘बर्खामा वारिपारि आवतजावत बन्द हुने अवस्था थियो । अब त्यो समस्या टरेको छ ।’

प्रदेश सरकारले संघीय सरकारको स्वामित्वमा रहेको संरचनामा प्रत्यक्ष बजेट लगानी गर्न कानुनी जटिलता रहेका कारण वैकल्पिक उपाय अपनाइएर पुल बनाइएको कोशी प्रदेशको भनाइ छ । स्थानीय सरकार, प्रदेशका जनप्रतिनिधि र स्थानीय नागरिकको मागबमोजिम यो कार्य अघि बढाइएको थियो ।चौदण्डीगढी नगरपालिकाकी उपमेयर मणिकादेवी दुलालले ढलेको पक्की पुल बनाउन संघीय सरकारलाई ताकेता गरेको भए पनि हालको समस्या समाधानका लागि प्रदेश सरकारको सहयोगमा झोलुंगे पुल बनाइएको बताइन् । ‘तर, पक्की पुल नबनाईकन समस्या समाधान हुँदैन,’ उनले भनिन् ।

सुझावित समाचार