इतिहास र हिमाली यात्राको केन्द्र पाथीभरा देवीधाम

मंगलबार, १२ फागुन, २०८२
डिजिटल संस्करण

हिमाली जिल्ला ताप्लेजुङमा रहेको पाथीभरा देवी केवल पूजा–अर्चनाको स्थल मात्र होइन, यात्रा, आस्था र प्रकृतिको संगम बनेको जीवित धरोहर हो ।

कोशी प्रदेशको ताप्लेजुङ जिल्लामा समुद्री सतहबाट ३,७९४ मिटर उचाइमा रहेको यो धामसम्म पुग्ने बाटो आफैँमा एउटा साधनाजस्तै मानिन्छ । मनोकामना पूरा हुने विश्वास र सांस्कृतिक सहअस्तित्वको अनुभूतिले वर्षभरि श्रद्धालु र पर्यटकलाई उकालो बाटोतर्फ डोर्याइरहन्छ ।

धामसम्म पुग्ने यात्रा प्रायः सुकेटार विमानस्थल वा फुङलिङ बजारबाट सुरु हुन्छ । काठमाडौंबाट ताप्लेजुङसम्म हवाई र स्थल दुवै मार्ग प्रयोग गर्न सकिन्छ । हवाईमार्ग रोज्नेले करिब ५५ मिनेटको उडानमा सुकेटार पुग्न सकिन्छ । जहाँबाट काफ्लेपाटीसम्म ट्याक्सीमा गएर त्यहाँबाट करिब ४ देखि ६ घण्टाको पदयात्रापछि मन्दिरपरिसर पुगिन्छ । स्थलमार्ग रोज्ने यात्रुहरू झापा–इलाम हुँदै ताप्लेजुङ पुगेर त्यही मार्ग समात्छन् ।

उकालो चढाइ, घना वन, खुला आकाश र हिमाली हावाबिचको यात्रा श्रद्धा र प्रकृतिसँगको गहिरो साक्षात्कारमा रूपान्तरित हुन्छ । माथि उक्लिँदै जाँदा पूर्वी हिमालको मनोरम दृश्य, विशेषतः कञ्चनजंघा हिमशृंखलाको शिखरहरूले यात्रालाई अझ अर्थपूर्ण बनाइदिन्छन् ।

यात्राको तयारीमा सामान्यभन्दा केही बढी ध्यान दिनुपर्छ । उच्च हिमाली क्षेत्र भएकाले न्यानो लुगा, वर्षा–हावा प्रतिरोधी ज्याकेट, राम्रो ग्रिप भएको जुत्ता, पानी, प्राथमिक उपचारका सामग्री र सामान्य औषधि अनिवार्यजस्तै हुन्छ  । मौसम छिट्टै फेरिने भएकाले बिहानै यात्रा सुरु गर्नु सुरक्षित मानिन्छ । स्थानीय गाइड वा पोर्टर लिने चलन बढ्दो छ, जसले मार्गदर्शनसँगै स्थानीय अर्थतन्त्रलाई पनि सघाउँछ ।

खर्चको हिसाबले यात्रुहरूको रोजाइअनुसार फरक पर्छ । काठमाडौं–सुकेटार हवाई भाडा साधारणतया महँगाे पर्न सक्छ भने स्थलमार्ग रोजेमा (बस तथा जिप) खर्च तुलनात्मक रूपमा कम हुन्छ । ताप्लेजुङ बजार वा मार्गमा उपलब्ध आवास र भोजनको खर्च मध्यम दायरामा पर्छ । गाइड, पोर्टर, पूजा सामग्री र दान–दक्षिणा जोड्दा कुल खर्च यात्राको शैलीअनुसार बढ्न सक्छ, तर धेरै श्रद्धालुले यसलाई आध्यात्मिक यात्राको आवश्यक अंशका रूपमा लिन्छन् । 

धाम पुगेपछि भक्तजनले ध्वजा, प्रसाद, धूप, फलफूल र रातो कपडा चढाउने चलन छ । पारिवारिक सुख, स्वास्थ्य, सन्तान प्राप्ति र समृद्धिको कामनासहित भाकल गर्ने परम्परा बलियो छ । स्थानीय लिम्बू समुदायले यस क्षेत्रलाई ‘मुकुमलुङ नामले पुकार्ने परम्पराले प्रकृति–आराधना र शक्तिपूजाको पुरानो संस्कार झल्काउँछ । हिन्दु र किराँत परम्पराको साझा आस्था स्थलका रूपमा यो क्षेत्रले सांस्कृतिक सह–अस्तित्वको सन्देश पनि बोक्छ ।

धार्मिक पर्यटनको विस्तारसँगै पदमार्ग सुधार, विश्रामस्थल निर्माण, आवास सुविधा र यातायात पहुँचमा सुधार आएको छ । यसले स्थानीय होटेल, पसल, यातायात सेवा र साना व्यवसायलाई चलायमान बनाएको छ । स्थानीयवासीका लागि पाथीभरा केवल धार्मिक धरोहर मात्र नभई पहिचान र रोजगारीसँग जोडिएको जीवनरेखा बन्दै गएको छ । 

कठिन उकालो पार गरेर धाम पुग्ने क्षण धेरैका लागि आत्मिक शान्तिको अनुभव हो । हिमालको काखमा, चिसो हावाको स्पर्श र विश्वासको उज्यालोबिच उभिँदा यात्रा केवल दूरी नाप्ने काम रहँदैन– आफ्नै भित्री शक्ति र आशासँगको भेट बन्छ । यही अनुभूति र जीवित परम्पराले पाथीभरा देवीलाई नेपालको धार्मिक–पर्यटकीय नक्सामा विशिष्ट स्थान दिलाइरहेको छ ।
 

सुझावित समाचार