विश्वको ध्यान प्यालेस्टाइनको एक हिस्सा गाजामाथि केन्द्रित हुँदा इजरायल भने अर्को हिस्सा पश्चिम किनारलाई आफूमा विलय गराउन अघि बढेको छ । इजरायलले संसदीय कदम, सुरक्षा अभियान, बस्ती विस्तार र इजरायलीबाट प्यालेस्टिनीमाथि हुने हिंसाको समर्थनमार्फत अहिले पश्चिमी किनारामा बसोवास गर्ने प्यालेस्टिनीलाई अभूतपूर्व दरमा आफ्नै भूमिबाट पलायन हुन बाध्य पारिरहेको छ । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले पश्चिमी किनारा विलयको सार्वजनिक रूपमा विरोध गरेका छन् । तर, उनले यस सम्बन्धमा तत्काल कुनै कदम चालेनन् र आफ्नो अभिव्यक्तिमा कठोर भएनन् भने इजरायललाई रोक्न कठिन हुनेछ ।
नेतान्याहुको सुस्त विलयको महत्वाकांक्षा : गत जुलाईमा इजरायली संसद् (नेसेट)ले पश्चिम किनार विलयको समर्थनमा एक प्रस्ताव पारित गरेको थियो । उसो त सो प्रस्ताव बाध्यकारी थिएन, तर त्यस कदममार्फत संसद्ले यस मुद्दामा आफू कहाँ उभिएको भन्ने स्पष्ट पार्यो । त्यसपछि अमेरिकी उपराष्ट्रपति जेडी भान्स इजरायल भ्रमणमा रहेकै समयमा अक्टोबरमा नेसेटले ती भाग औपचारिक विलयको आह्वान गर्दै दुई विधेयक अनुमोदन गर्यो । भान्सले त्यति वेला सो कदमलाई ‘अत्यन्त मूर्खतापूर्ण राजनीतिक स्टन्ट’ भनेका थिए । तथापि, भान्सको भ्रमणकै अवसर पारेर विधेयक पारित गरिनुले यसको उद्देश्य उनलाई लज्जित पार्नुजस्तो देखियो ।
ट्रम्पले चाहे भने उनीसँग नेतान्याहुलाई रोक्न सक्ने शक्ति र प्रभाव दुवै छ
इजरायली प्रधानमन्त्री बेन्जामिन नेतान्याहुले आफू रहेसम्म स्वतन्त्र प्यालेस्टिनी राज्य निर्माणलाई सम्भव हुन नदिने बताउँदै आएका छन् । पछिल्ला विधेयक नेतान्याहुको सोही वाचाअनुरूप आएका छन् । त्यसपछि यसै महिना (फेब्रुअरी)को सुरुमा इजरायली मन्त्रिपरिषद्ले पश्चिम किनार क्षेत्रलाई साँच्चै नै इजरायलमा विलय गर्ने उपायका शृंखलालाई अनुमोदन गर्यो । उग्र दक्षिणपन्थी पार्टीबाट अर्थमन्त्री बनेका बेजालेल स्मोट्रिच र रक्षामन्त्री इजरायल काट्जले ती उपायको प्रस्ताव गरेका थिए । अन्तर्राष्ट्रिय कानुनविरुद्धका यी उपायले त्यस क्षेत्रमा इजरायली शक्ति विस्तारलाई रोक्ने ‘कानुनी अवरोध’ हटाउने हिसाबले ल्याइएका छन् । यी उपायले इजरायलीलाई पश्चिम किनारका कुनै पनि भेगमा जग्गा खरिद गरी स्वामित्व लिने अग्राधिकार प्रदान गर्छन् । त्यस्तै, अब इजरायली राज्यले पश्चिम किनारामा रहेका ऐतिहासिक र धार्मिक स्थलमाथि समेत पकड कायम गर्न पाउनेछन् ।
इजरायलले पहिल्यै आफ्नो प्रमुख प्रतिद्वन्द्वी इरानका दुई मुख्य क्षेत्रीय प्रतिनिधि हमास र हिजबुल्लाहको शक्तिमा उल्लेख्य क्षति पुर्याइसकेको छ । एक वर्षको अन्तरालमा इजरायलले लेबनान र सिरियामा आफ्नो सैन्य अवस्थिति फराकिलो बनाएको छ । अहिले नेतान्याहुको नजर तेहरानमा आफूअनुकूल शासन परिवर्तनसम्म पुगेको छ । ट्रम्पले इरानसँग कुनै खालको आणविक विकास रोक्ने सम्झौता चाहेका छन् । तर, नेतान्याहु त्यतिमै खुसी हुनेछैनन् । उनले इरानको आणविक कार्यक्रमलाई ध्वस्त पारेर मात्र नपुग्ने बताउँदै उसको क्षेप्यास्त्र क्षमता पनि कमजोर बनाउनुपर्ने र मध्यपूर्वभरका आफ्ना छद्म शक्तिसँगको सम्बन्ध तोड्न बाध्य पार्न अमेरिकी नेतृत्वलाई बारम्बार जोड दिइरहेका छन् ।
ट्रम्पले के गर्लान् ? : पश्चिम किनारामा नयाँ इजरायली उपायले निःसन्देह प्यालेस्टिनीमाथि इजरायलीको आक्रमण बढाउनेछ । पहिल्यैदेखि इजरायलले प्यालेस्टिनीको बसोवास क्षेत्रलाई एक–अर्काबाट सम्पर्कविच्छेद गर्ने गरी तीव्र गतिमा पूर्वाधार बनाइरहेको थियो । ‘युएन अफिस फर द कोअर्डिनेसन अफ ह्युम्यानिटेरियन अफेयर्स (ओसिएचए)’का अनुसार सन् २०२५ मा पश्चिम किनारमा प्यालेस्टिनीमाथि हालसम्मकै उच्च हिंसाका कारण ३७ हजारभन्दा बढीलाई विस्थापित गरिएको थियो ।
ट्रम्पले चाहे भने उनीसँग नेतान्याहुलाई रोक्न सक्ने शक्ति र प्रभाव दुवै छ । तर, सदाझैँ अस्थिर ट्रम्पले लेनदेनका आधारमा आफ्नो अडान सहजै त्याग्न सक्छन् । जस्तो, उनले पश्चिम किनारालाई औपचारिक विलय गर्ने कदमबाट नेतान्याहु पछि हटेबापत नेतान्याहुलाई फाइदा हुने गरी इरानमाथि आक्रमण गर्न पनि सक्छन् । ट्रम्पले अहिले आफ्नो राष्ट्रपतित्वकालको सबैभन्दा ठुलो परीक्षाको सामना गरिरहेका छन् । पहिलो, उनले आफैँले युद्धनायक भन्ने गरेका नेतान्याहुलाई कसरी व्यवस्थापन गर्नेछन् र दोस्रो, उनले इरानसँगको द्वन्द्व कसरी साम्य पार्छन् भन्ने हो ।
(सैकल अस्ट्रेलियन नेसनल युनिभर्सिटी, युनिभर्सिटी अफ वेस्टर्न अस्ट्रेलिया र भिक्टोरिया युनिभर्सिटीलगायत विश्वविद्यालयबाट अवकाशप्राप्त सम्मानित प्राध्यापक हुन्) द कन्भर्सेसनबाट