प्रहरी प्रधान कार्यालयमा एआई सेलको स्थापना, मिथ्या सूचना सम्प्रेषण गर्ने पाँचजना पक्राउ

सोमबार, ११ फागुन, २०८२
डिजिटल संस्करण

मिथ्या सूचना नियन्त्रणका लागि नेपाल प्रहरीले एआई प्रविधिको प्रयोग थालेको छ। प्रहरी प्रधान कार्यालयमा आर्टिफिसियल इन्टेलिजेन्स एन्ड एड्भान्स एनलिटिकल सेल(एआई सेल) स्थापना गरी प्रहरीले निगरानी थालेको हो। 

सोमबार गृहमन्त्री ओमप्रकाश अर्यालले सेलको उद्घाटन गरेका छन्। पछिल्लो समय बढ्दै गरेको साइबर अपराध, गलत तथा मिच्या सूचना, संगठित आपराधिक सञ्जाल, वित्तीय अपराध, सामाजिक अस्थिरता सिर्जना गर्ने डिजिटल अभियानजस्ता गतिविधिहरूले राष्ट्रिय सुरक्षा, अपराध अनुसन्धान, रोकथाम तथा नियन्त्रणमा चुनौती थपिँदै गइरहेकाले त्यसलाई रोक्न उच्च प्रविधियुक्त यस्तो सेल स्थापना गरिएको प्रहरी प्रवक्ता डिआइजी अबिनारायण काफ्ले बताए।

एआईको संस्थागत अवलम्बन र सुदृढीकरण, प्रोएक्टिभ इन्टेलिजेन्स तथा अर्ली वार्निङ प्रणाली, डिजिटल अपराध इन्टेलिजेन्सको सुदृढीकरण, एआईको दुरुपयोग डिटेक्सनजस्ता उद्देश्यले यस्ता सेल स्थापना गरिएको प्रहरीले जनाएको छ । 

प्रहरी प्रवक्ता काफ्लेका अनुसार एआई सेलको प्रयोगबाट गलत तथा मिथ्या सूचना सम्प्रेषण भएको ५ वटा घटनामा संलग्न व्यक्तिहरूलाई बाँके, कञ्चनपुर, सुनसरी, सल्याण र दाङबाट पक्राउ गरी कानुनी कारबाही अघि बढाइएको छ । प्रहरी प्रवक्ता काफ्ले भन्छन् ‘आमनागरिकले सामाजिक सञ्जाल प्रयोग गर्दा सचेत हुनु आवश्यक छ। सामाजिक सञ्जालको दुरुपयोगबाट गलत तथा मिथ्या सूचना सम्प्रेषण गर्नेलाई कानुनी दायरामा ल्याउन नेपाल प्रहरी सदैव सक्रिय छ ।’  
 

सुझावित समाचार