बाँफिकोटका प्रमुख प्रशासकीय अधिकृतसहित पाँचजनालाई सफाइ

सोमबार, ११ फागुन, २०८२
डिजिटल संस्करण

रुकुम पश्चिमको बाँफिकोट गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृतसमेत पाँचजनालाई सफाइ दिने फैसला भएको छ। विशेष अदालतले सोमबार यस मुद्दाका सबै प्रतिवादीलाई सफाइ दिने फैसला गरेको हो।

अख्तियार दुरुपयोग अनुसन्धान आयोगले गत ७ जेठमा मुद्दा दायर गरेको थियो। जसमा बाँफीकोटका प्रमुख प्रशासकीय अधिकृत दुर्गबहादुर ओली, खानेपानी तथा सरसफाइ टेक्निसियन दलबहादुर ओली, लेखापाल महेन्द्र शर्मा र शान्तबहादुर बस्नेत प्रतिवादी थिए। बस्नेत पिपलकाँडा मेलगौरी सडक योजना निर्माण गर्ने कम्पनीका प्रोप्राइटर हुन्।

आर्थिक वर्ष ०७९/८० मा पिपलकाँडा–मेलगौरी सडक निर्माण योजनाका लागि भ्याटसहित १ करोड ९९ लाख रुपैयाँभन्दा बढी लागत अनुमान गरिएको थियो। यसमध्ये गाउँपालिकाले मालिका बस्नेत निर्माण सेवासँग ७७ लाख ४४ हजार रुपैयाँमा निर्माण सम्झौता गरेको थियो। सडक निर्माणका क्रममा २९ सय मिटर मात्र सडक बनेकोमा नापी किताबमा ३७०० मिटर उल्लेख गरेको भेटिएको थियो।

अख्तियारमा उजुरी परेपछि अनुसन्धान सुरु हुँदा जिल्ला दररेटअनुसार काम भएको भनी प्राप्त अनुगमन प्रतिवेदनमा अनुगमन गर्ने पदाधिकारीको हस्ताक्षर नै नभएको तथा अन्य कैफियत भेटिएको थियो। जसपछि २१ लाख ६३ हजार रुपैयाँ बिगो कायम गरी मुद्दा दर्ता भएकोमा विशेषले सफाइ दिएको हो।

अदालतको आदेशपछि भएको स्थलगत प्राविधिक मुचुल्कामा ३७०० मिटर नै सडक रहेको र आरोपदाबी अनुसारका कैफियत नभेटिएको विशेषको ठहर छ। अन्य प्रमाणले पनि भ्रष्टाचार गरेको आरोपदाबी वस्तुनिष्ठ तवरबाट पुष्टि हुन नसकेको संक्षिप्त फैसलामा उल्लेख छ।

सुझावित समाचार