सर्वपक्षीय बैठकपछि वीरगन्ज महानगरपालिकामा लगाइएको कर्फ्यु आदेश हटाइएको छ। जिल्ला प्रशासन कार्यालय पर्साले अपराह्न ४ः३० बजेदेखि लागू हुने गरी कर्फ्यु हटाएको हो।
वीरगन्ज– ११, श्रीपुरमा आइतबार बेलुकी दुई समुदायबिच विवाद भएपछि सोमबार बिहान ९ः४५ बजेदेखि कर्फ्यु लगाइएको थियो। सर्वपक्षीय बैठकले दोषीहरूलाई कानुनी दायरामा ल्याउनेसहितको तीनबुँदे निर्णय गरेपछि प्रशासनले कर्फ्यु हटाएको हो।
‘समग्र शान्तिसुरक्षाको अवस्था विश्लेषण गर्दा परिस्थिति क्रमशः सुधार हुँदै गएको देखिएको र सम्बद्ध पक्षहरूसँगको सर्वपक्षीय बैठकमा भएको निर्णयसमेतका आधारमा उक्त कर्फ्यु आदेशलाई निरन्तरता दिइरहन पर्ने नदेखिएको’ प्रशासनले जनाएको छ।
यद्यपि, पूर्वमा बाइपास रोड, पश्चिम रानीघाट पुल, उत्तर पावरहाउस चोक र दक्षिणमा घण्टाघर चोक क्षेत्रभित्र आज बेलुकी ६ बजेदेखि भोलि बिहान ८ बजेसम्म कुनै किसिमको भेला, सभा, जुलुस तथा प्रदर्शन गर्न नपाउने गरी निषेधाज्ञाको आदेश जारी गरिएको छ।