वीरगन्ज घटनाका दोषीहरूलाई कानुनी दायरामा ल्याउने निर्णय

सोमबार, ११ फागुन, २०८२
डिजिटल संस्करण

वीरगन्ज महानगरपालिका वडा नम्बर ११ श्रीपुरमा आइतबार बेलुकी भएको घटना तथा उक्त घटनाबाट सिर्जित घटनाक्रमका दोषीहरूलाई कानुनी दायरामा ल्याउने निर्णय भएको छ।

आइतबार पर्साका प्रमुख जिल्ला अधिकारी भोला दाहालको अध्यक्षतामा बसेको सद्भाव संयन्त्रको बैठकले यस्तो निर्णय गरेको हो।

बैठकले पीडित पक्षबाट जाहेरी लिई आवश्यक प्रक्रिया यथाशीघ्र अगाडि बढाउने निर्णय गरेको छ। दोषीहरुलाई कानुनी दायरामा ल्याउन धार्मिक अगुवाहरुले समेत सहजीकरण गर्ने तीनबुँदे निर्णयमा उल्लेख छ।

बैठकमा व्यक्तिगत घटना र दुर्घटनालाई लिएर धार्मिक तथा सामाजिक सद्भावमा खलल पुग्ने गरी भड्काउने, दुष्प्रचार गर्ने, सामाजिक सञ्जालमा भाइरल बनाउने, ‘हेट स्पिच’ (घृणास्पद अभिव्यक्ति) दिनेलाई साइबर कानुन तथा प्रचलित कानुनबमोजिम तत्काल कारबाहीको दायरामा ल्याउने निर्णय भएको प्रमुख जिल्ला अधिकारी दाहालले बताए।

यस्तै आगामी दिनमा धार्मिक, सामाजिक सद्भाव कायम राख्न नागरिक समाज, राजनीतिक दल, मिडियाकर्मी, धार्मिक तथा सामाजिक अगुवा र जनप्रतिनिधिले आ–आफ्नो संस्था तथा निकायबाट विज्ञप्ति प्रकाशन गर्ने निर्णय पनि गरिएको उनले बताए।

सुझावित समाचार