काबुलमै प्रशिक्षण गराउने गरी नयाँ प्रशिक्षक छान्दै अफगानिस्तान

अफगानिस्तानको घरेलु क्रिकेट तथा युवा खेलाडीको अवस्था बुझ्न नयाँ प्रशिक्षकले काबुलमा बसेर राष्ट्रिय टोलीलाई प्रशिक्षण गराउनुपर्ने सर्त बोर्डले राखेको छ । अहिलेसम्म दक्षिण अफ्रिकी दुई र एक एसियाली राष्ट्रका प्रशिक्षकले निवेदन दिएका छन् ।

सोमबार, ११ फागुन, २०८२
डिजिटल संस्करण

आइसिसी टी–२० विश्वकप क्रिकेट प्रतियोगिताको समूह चरणबाट बाहिरिएपछि अफगानिस्तानले नयाँ प्रशिक्षक नियुक्त गर्ने भएको छ । विश्वकपमा प्रशिक्षण दिएका प्रशिक्षक जोनाथन ट्रटको राजीनामासँगै अफगानिस्तानले तत्कालै नयाँ प्रशिक्षक चयनका लागि प्रक्रिया अगाडि बढाएको हो । अफगानिस्तानको राष्ट्रिय टोलीको प्रशिक्षक बन्न त्यति सहज हुनेछैन । अफगानिस्तान क्रिकेट बोर्डले काबुलमै बसेर प्रशिक्षण गराउनुपर्ने सर्त राखेको छ । 

‘अफ सिजनका लागि चयन हुने प्रशिक्षकले काबुलमै बसेर खेलाडीलाई प्रशिक्षण गराउनुपर्ने हुन्छ,’ बोर्डले जारी गरेको विज्ञप्तिमा भनिएको छ, ‘यो सर्त मान्न तयार नहुने प्रशिक्षकका लागि सिफारिस गरिनेछैन ।’ बोर्डका प्रमुख कार्यकारी अधिकृत नसिब खानले प्रशिक्षकबाहेक सपोर्ट स्टाफलाई समेत खेल नभएको समयमा अनिवार्य रूपमा अफगानिस्तानमै बसेर काम गर्नुपर्ने बताएका छन् । ‘अब नयाँ प्रशिक्षक नियुक्त गर्दै छौँ, तर उनको काम गर्ने स्थान काबुल हुनेछ । यसबाहेक अन्य क्षेत्रमा प्रशिक्षण गराउन पाइँदैन,’ खानले भने, ‘राष्ट्रिय टोलीका प्रशिक्षक घरेलु क्रिकेट र युवा खेलाडीबारे जानकार हुनुपर्छ ।’ चालू विश्वकपमा अफगानिस्तानले समूह ‘डी’मा दुई जित र हारको सामना गरेको थियो । ४ अंकका साथ अफगानिस्तान समूहको तेस्रो बनेको थियो । 

दक्षिण अफ्रिकी र एसियाली प्रशिक्षकका चासो
जोनाथनको राजीनामासँगै अफगानिस्तानको मुख्य प्रशिक्षक बन्न दक्षिण अफ्रिका र एसियाली मूलका व्यक्तिले चासो देखाएको सिइओ खानले बताएका छन् । ‘अहिले तीनजनाको सर्ट लिस्ट बनाएका छौँ । जसमा दुईजना दक्षिण अफ्रिकाका र एकजना एसियाका प्रशिक्षक छन्,’ खानले भने । नयाँ बन्ने प्रशिक्षकले तत्कालै श्रीलंकाविरुद्धको एकदिवसीय सिरिजका लागि तयारी गर्नुपर्ने हुन्छ । ‘प्रशिक्षकसँगको सम्झौता फाइनल भएपछि श्रीलंका सिरिजमा संलग्न हुन्छौँ,’ खानले भने ।

जोनाथनको चारवर्षे कार्यकाल
सन् २०२२ मा जोनाथन जोखिम मोलेर अफगानिस्तानको मुख्य प्रशिक्षक बनेका थिए । उनले बोर्डलाई प्रस्ट रूपमा आफूले तटस्थ भूमिमा अफगानी खेलाडीलाई प्रशिक्षण दिने बताएका थिए । यसक्रममा उनले विश्व क्रिकेटकै शक्तिशाली राष्ट्रहरूलाई हराउने दाबी गरेका थिए । जोनाथनले भनेझैँ अफगानिस्तानले यो चार वर्ष अवधिमा शक्तिशाली राष्ट्रहरूलाई हराए । तर, उनले भारत र श्रीलंकाले संयुक्त रूपमा आयोजना गरिरहेको टी–२० विश्वकपमा अफगानिस्तानलाई सुपर ८ सम्म पु¥याउन सकेनन् । दक्षिण अफ्रिका र न्युजिल्यान्ड जस्तो बलियो टोली समावेश समूहमा रहेको अफगानिस्तानले उनीहरूलाई हराउन सकेन । यद्यपि, दक्षिण अफ्रिका र न्युजिल्यान्डलाई कडा चुनौती दिएका थिए । 

जोनाथनको प्रशिक्षणमा अफगानिस्तानले एउटा उचाइ पाएको थियो । आइसिसीले आयोजना गरेका प्रतियोगितामा अफगानिस्तानले पाकिस्तान र अस्ट्रेलियालाई हराउनु नै ठूलो उपलब्धि रह्यो । यसैगरी, सन् २०२४ को टी–२० विश्वकपमा अफगानिस्तानले पहिलोपटक सेमिफाइनलमा स्थान बनाएको थियो । 

सुझावित समाचार