एपिएफ क्लब राष्ट्रिय लिग फुटबलको शीर्ष स्थानमा उक्लिएको छ । आइतबार भएको खेलमा नवजनजागृति क्लबलाई ४–१ ले हराउँदै एपिएफ शीर्ष स्थानमा उक्लिएको हो । एपिएफले ६ खेलबाट १६ अंक बनाएको छ । उसले मच्छिन्द्र क्लबलाई गोल अन्तरमा पछि पारेको हो ।
नवजनजागृतिको यो लगातार छैटौँ हार हो । सातदोबाटोस्थित एन्फा कम्प्लेक्सको मैदानमा भएको खेलमा जनजागृतिले अप्रत्याशित रूपमा ३०औँ मिनेटमा १–० को अग्रता लियो । टोलीका लागि निश्चय थापाले अग्रता दिलाएका थिए ।
जनजागृतिको अग्रता धेरै बेर टिकेन । खेलको ४३औँ मिनेटमा एपिएफले १–१ को बराबरी गोल फर्कायो । एपिएफका कप्तान हरि कार्कीले बराबरी गोल गरेका हुन् । एपिएफले मध्यान्तरपछि १५ मिनेटको अन्तरमा तीन गोल गर्दै बाजीमा मारेको हो । खेलको ४६औँ मिनेटमा युवराज खड्काले एपिएफलाई २–१ को अग्रता दिलाए । खेलको ५६औँ मिनेटमा समीराज थोकरले ३–१ का लागि गोल गरे । अनिश घर्ती क्षेत्रीले ५८औँ मिनेटमा गोल गरेपछि एपिएफको जित सहज भयो ।