दुईपटकको विजेता इंग्ल्यान्डले आइसिसी टी–२० विश्वकपअन्तर्गत सुपर ८ मा आयोजक श्रीलंकालाई ५१ रनले पराजित गरेको छ । जितसँगै समूह ‘२’ मा इंग्ल्यान्डले महत्वपूर्ण २ अंक जोडेको छ । घरेलु मैदानमा श्रीलंकाले इंग्ल्यान्डविरुद्ध फितलो ब्याटिङ प्रदर्शन गर्यो । पहिलो ब्याटिङ गरेको इंग्ल्यान्डले २० ओभरमा नौ विकेट गुमाएर १४६ रन बनाएको थियो । सहज लक्ष्य पछ्याएको श्रीलंका १६.४ ओभरमै ९५ रनमा समेटियो ।
चालू विश्वकपमा श्रीलंकाले पहिलोपटक फितलो ब्याटिङ प्रदर्शन गरेको हो । यसअघि समूह चरणमा श्रीलंकाको ब्याटिङ अब्बल थियो । इंग्ल्यान्डको जितमा विल ज्याकले अलराउन्ड प्रदर्शन गरे । उनले ब्याटिङमा १४ बलमा २१ रन बनाउनुका साथै बलिङमा २२ रन खर्चेर तीन महत्वपूर्ण विकेट हात पारे । यसै प्रदर्शनका कारण उनी खेलका म्यान अफ दी म्याच भए । प्रतिस्पर्धामा दुसान सनकाले टी–२० आई फम्र्याटमा श्रीलंकाली खेलाडीमध्ये सर्वाधिक छक्का प्रहार गर्ने नाम आफ्नो नाम लेखाए । उनले समग्रमा ९८ छक्का प्रहार गरेका छन् । यसअघि कुशल मेन्डिसले ९७ छक्का ठोकेका थिए । पालिकेलेमा बनेको कुल योगफल श्रीलंका र इंग्ल्यान्डबिच सबैभन्दा कम रह्यो । यो खेलमा दुवै पक्षको ब्याटिङबाट २४१ रन योगफल खडा भएको थियो ।
फिलको अर्धशतकीय इनिङ्स
इंग्ल्यान्डले पहिलो ब्याटिङ गर्दा ओपनर फिल साल्टले मात्र अर्धशतकीय इनिङ्स खेलेका थिए । उनले ४० बलको सामना गरी दुई छक्का र ६ चौकाको सहयोगमा सर्वाधिक ६२ रनको योगदान दिए । ओपनिङ ब्याटिङ गरेका फिल इनिङ्सको १४.२ ओभरमा आउट भए । उनले लगातार छैटौँ विकेटका लागि साझेदारी गरेका थिए । उनी आउट हुँदा इंग्ल्यान्ड १०६–६ को कमजोर अवस्थामा थियो । मध्यक्रमका विलले आक्रामक रूपमा ब्याटिङ गरी चार चौका प्रहार गरे । यसैगरी जेमिए ओभर्टनले १० बलमा १० रन जोडेका थिए ।
इंग्ल्यान्डको मध्यक्रम बलियो मानिन्छ । तर, इंग्ल्यान्डले श्रीलंकाविरुद्ध सबैभन्दा बलियो पक्षबाट आशा गरेजस्तो योगदान पाउन सकेन । टोम बान्टोनले ६, कप्तान ह्यारी बुकले १४, साम कुरानले ११ तथा लिआम डवासनले ६ रन जोडे । बलिङमा श्रीलंकाका लागि दुनिथ वेलागागेले २६ रन खर्चेर तीन विकेट लिए । दिल्सान र महिस थिक्षनाले समान दुई विकेट हात पारे ।
श्रीलंकाका कप्तान मात्र चले
इंग्ल्यान्डले दिएको १४७ रनको लक्ष्य सहज देखिएको थियो । इंग्लिस बलरले ओसिलो पिचमा श्रीलंकाली ब्याट्सम्यानलाई स्ट्रोक लगाउन अवसर नै दिएनन् । स्ट्राइक बलर जोफ्रा आर्चरले पहिलोपटक उत्कृष्ट बलिङ स्पेल गरे । उनले तीन ओभरमा २० रन खर्चेर दुई विकेट लिए । जिआमले २७ रनमा दुई तथा आदिल रसिदले १३ रनमा दुई विकेट लिँदा श्रीलंकाको ब्याटिङ कमजोर भयो । श्रीलंकाका लागि कप्तान दुसानले सर्वाधिक ३० रनको योगदान दिए । उनले २४ बलमा दुई छक्का र एक चौका प्रहार गरेका थिए । श्रीलंकाका शीर्ष पाँच ब्याट्सम्यान ३४ रनभित्र पेभेलियन फर्केका थिए ।