सप्तरीको गजेन्द्रनारायण सिंह अस्पतालमा सुत्केरीको मृत्यु भएको घटनाको छानबिन र क्षतिपूर्ति माग गर्दै पीडित परिवारले राजविराजमा प्रदर्शन गरेका छन्। अस्पतालअगाडि प्रदर्शन गरिरहेका उनीहरूले अस्पताल प्रशासनमा ढुंगामुढासमेत गरेका छन्।
विष्णुपुर गाउँपालिकाकी २३ वर्षीया सुजानदेवी सदाको अस्पतालमा उपचारका क्रममा मृत्यु भएको हो। गर्भावस्थामा पीडा सुरु भएपछि शुक्रबार उनलाई उपचारका लागि गजेन्द्रनारायण सिंह अस्पताल ल्याइएको थियो।
अस्पताल स्रोतका अनुसार शनिबार चिकित्सकले गर्भमा रहेको बच्चाले दिसा निलेको (मेकोनियम एस्पिरेसन सिन्ड्रोम) भन्दै तत्काल शल्यक्रिया गर्नुपर्ने बताएपछि परिवार अप्रेसनका लागि तयार भएको थियो। राति शल्यक्रिया सम्पन्न भएपछि सुजानलाई पोस्ट–अपरेटिभ वार्डमा राखिएको र उनको अवस्था सामान्य रहेको बताइएको छ। तर, आइतबार बिहान उनी मृत अवस्थामा फेला परेकी थिइन्।
मृतककी ठुलीआमा बेचनी सदा बिहान करिब ३ बजे सुजानले बान्ता गर्न थालेपछि चिकित्सक खोज्दा वार्डमा कोही नभेटिएको दाबी गर्छिन्। स्वास्थ्यकर्मीहरू आएर जबर्जस्ती कागजातमा छाप लगाएर परिवारलाई बाहिर निकालेको उनकाे आरोप छ। परिवारले उपचारका क्रममा लापरबाही भएको भन्दै निष्पक्ष छानबिनको माग गरेको छ।
यता अस्पतालका निमित्त मेडिकल सुपरिटेन्डेन्ट तथा शल्यक्रिया गर्ने विशेषज्ञ चिकित्सक दिलीप साहले भने शल्यक्रियामा कुनै त्रुटि नभएको स्पष्टीकरण दिएका छन्। उनका अनुसार बान्ता हुँदा अन्न श्वासनलीमा पुगेर सुजानको मृत्यु भएको हो। वार्डमा समयमा स्वास्थ्यकर्मी नभेटिएको आरोप अस्वीकार गर्दै उनले नर्सहरू उपस्थित रहेको दाबी गरेका छन्।