बलेरोको ठक्करबाट एक बालिकाको ज्यान गयो

शनिबार, ९ फागुन, २०८२
डिजिटल संस्करण

रामेछाप नगरपालिका–६, ओख्रेनीको च्यास्कु बजारमा बलेरो गाडीको ठक्करबाट शनिबार दिउँसो एक बालिकाको घटनास्थलमा नै ज्यान गएको छ । 

च्यास्कु बजारको एक पसलमा सामान खरिद गर्दै गरेकी बालिकालाई बाग्मती प्रदेश ०३१ च ५०७५ नम्बरको बलेरो गाडी सोही पसलको सटरमै छिरेर ठक्कर दिएको थियो । गाडीको ठक्करबाट सोही वडाकी स्थानीय कोपिला तामाङ (श्रेष्ठ) की ४ वर्षकी छोरीको ज्यान गएको जिल्ला प्रहरी कार्यालय रामेछापले जनाएको छ । 

बजारछेउमा रोकी राखेको उक्त गाडी चालक नभएको मौका छोपी स्थानीय अटोचालक तीर्थबहादुर तामाङले चलाउँदै गर्दा गाडी अनियन्त्रित भई पसलभित्र छिरेको थियो । पसलमा सामान खरिद गरिरहेका बालिकासँगै अन्य केही ग्राहकसमेत घाइते भएका छन् । घाइतेहरूको घटनास्थलबाट उद्धार गरी उपचारका लागि रामेछाप अस्पतालमा पठाइएको छ । 

प्रहरी चौकी रामेछापडाँडावाट घटनास्थल पुगेको प्रहरी टोलीले मृतक बालिकाको शव आफन्तको मन्जुरीविना एम्वुलेन्समा राखेको भन्दै आक्रोशित भएका मृतक बालिकाका आफन्तहरूले प्रहरीमाथि हातपात गर्ने प्रयास गरेका छन् । अहिले घटनास्थलमा ठुलो संख्यामा मृतकका आफन्तहरू जम्मा भएका र घटनास्थलमा अहिले तनावपूर्ण रहेको रामेछाप नगरपालिका–६, ओख्रेनीका वडासदस्य खड्गबहादुर मगरले जानकारी दिए । 

सुझावित समाचार