आसन्न निर्वाचनका लागि मैदानमा उत्रिएका प्रमुख राजनीतिक दलहरूले घोषणापत्रमा राष्ट्रिय हित, स्वाधीनता र सन्तुलित कूटनीतिको प्रतिबद्धता दोहोर्याएका छन् । राष्ट्रिय हितमा आधारित विदेश नीतिमा जोड दिए पनि परराष्ट्र मन्त्रालयको संस्थागत सुदृढीकरण, कूटनीतिक आचारसंहिताको कडाइलगायतका संवेदनशील विषयमा अधिकांश दल मौन छन् ।
आसन्न निर्वाचनमा होमिएका प्रमुख दल कांग्रेस, एमाले, नेकपा, रास्वपा, राप्रपा र जसपा नेपालले सार्वजनिक गरेको घोषणापत्रमा राष्ट्रहितमा जोड दिइएको छ । तर, रास्वपाबाहेक अन्य दलले भागबन्डामुक्त राजदूत नियुक्तिको स्पष्ट प्रतिबद्धता जनाएका छैनन् ।कांग्रेसले राष्ट्रिय हित र सार्वभौमिक समानताका आधारमा सन्तुलित परराष्ट्र नीति अवलम्बन गर्ने प्रतिबद्धता जनाएको छ । राष्ट्रिय स्वाधीनता, सार्वभौमसत्ता र भौगोलिक अखण्डताको रक्षा आफ्नो मूल प्रतिबद्धता रहेको एमालेले जनाएको छ । नेकपाले कालापानी पश्चिम लिम्पियाधुरासम्मको सीमा समस्या समाधान गर्ने भनेको छ भने राष्ट्रिय स्वतन्त्र पार्टीले कूटनीतिक नियोगहरूलाई दलीय भागबन्डाको थलो बन्न नदिने भनेको छ ।
कांग्रेस : सन्तुलित सम्बन्ध र ‘क्रिकेट कूटनीति’
विश्व समुदायसँग समानताको सिद्धान्तमा आधारित सम्बन्ध विस्तार गर्दै नेपाललाई आत्मविश्वासी राष्ट्रका रूपमा स्थापित गर्ने कांग्रेसको प्रतिज्ञापत्रमा छ । ‘विश्व समुदायसँग सार्वभौमिक समानताको सिद्धान्तका आधारमा सन्तुलित अन्तर्राष्ट्रिय सम्बन्ध र परराष्ट्र नीति अवलम्बन गर्दै नेपाली कांग्रेस नेपाललाई एउटा आत्मविश्वासयुक्त राष्ट्रका रूपमा विश्वमञ्चमा स्थापित गराउने प्रतिबद्धता व्यक्त गर्दछ,’ कांग्रेसको प्रतिज्ञापत्रमा छ ।
छिमेकी र मित्रराष्ट्रहरूसँगको सम्बन्ध समानता र आपसी सम्मानमा आधारित हुने कांग्रेसको प्रतिज्ञा छ । ‘नेपालको परराष्ट्र नीति राष्ट्रिय हित र सार्वभौमिक समानताको जगमा उभिनेछ । हाम्रो छिमेकी र मित्रराष्ट्रहरूसँगको सम्बन्ध समानता र आपसी सम्मानमा आधारित हुने छ र यस्तो सम्बन्धलाई पारस्परिक हित र आर्थिक साझेदारीका आधारमा अगाडि बढाइनेछ,’ कांगेसले भनेको छ ।
कांग्रेसले नेपाल संलग्न विभिन्न अन्तर्राष्ट्रिय बहुपक्षीय मञ्चमा उपस्थिति र संलग्नतालाई अझ सघन र प्रभावकारी बनाउने भनेको छ । ‘अन्तर्राष्ट्रिय साझेदारी बलियो बनाउँछौँ र त्यसबाट प्राप्त हुने सहयोग र अवसरहरूको अधिकतम उपयोग गर्छौँ,’ कांग्रेसले भनेको छ, ‘कुनै पनि प्रकृतिको प्रतिरक्षा, सैन्य तथा सुरक्षा सवाल एवं शक्तिराष्ट्रहरूबिचको सामरिक प्रतिस्पर्धामा नेपाल प्रत्यक्ष वा परोक्ष संलग्न हुनेछैन ।’
विदेशस्थित नेपाली नियोगलाई डिजिटल व्यापार प्रवद्र्धन केन्द्रका रूपमा विकास गर्ने र खेलकुदलाई ‘सफ्ट पावर’का रूपमा प्रयोग गर्दै ‘क्रिकेट कूटनीति’मार्फत अन्तर्राष्ट्रिय छवि सुदृढ गर्ने कांग्रेसको योजना छ । ‘खेलकुदलाई सफ्ट पावरका रूपमा प्रयोग गर्दै नेपाललाई क्षेत्रीय तथा अन्तर्राष्ट्रिय प्रतियोगिताको ‘तटस्थ आयोजना स्थल’का रूपमा स्थापित गर्न विशेष पहल गर्दै क्रिकेट कूटनीतिमार्फत नेपालको अन्तर्राष्ट्रिय छवि सुधार र कुटनीतिक सम्बन्ध विस्तार गरिनेछ,’ कांग्रेसले भनेको छ ।
कांग्रेसले प्रमुख श्रम गन्तव्य मुलुकका कूटनीतिक नियोगहरूलाई साधन–स्रोत सम्पन्न बनाई नेपाली श्रमिकको सुरक्षा, उद्धार र हकहितका लागि राज्यको सक्रिय अभिभावकत्व सुनिश्चित गर्ने भनेको छ । ‘गन्तव्य मुलुकमा रहेका नेपाली श्रमिकको हक–हित सुरक्षा र कल्याण एवं उद्धार तथा राहतमा कूटनीतिक नियोग र कर्मचारीको कुनै पनि कमजोरी अक्षम्य हुनेछ,’ कांग्रेसले भनेको छ, ‘परराष्ट्र सेवाका सबै कर्मचारीको आधारभूत सेवा प्रवेश र सेवाकालीन प्रशिक्षण एवं श्रम सहचारी, श्रम काउन्सिलर र राजदूतहरूको अभिमुखीकरणमा नेपाली श्रमिकको हक–हितको संरक्षण, कल्याण र उद्धारको विषय राख्छौँ ।’
एमाले : सबैसँग मित्रता, कसैसँग छैन शत्रुता
एमालेले राष्ट्रिय स्वाधीनता, सार्वभौमसत्ता र भौगोलिक अखण्डताको रक्षा आफ्नो मूल प्रतिबद्धता रहेको जनाएको छ । अध्यक्ष केपी ओलीको सन्देशसहित सार्वजनिक घोषणापत्रमा स्वतन्त्र, तटस्थ र असंलग्न वैदेशिक नीति अवलम्बन गर्ने उल्लेख छ ।‘हामी हाम्रो राष्ट्रिय स्वाधीनता र सार्वभौमसत्ताका रक्षक हौँ । त्यसैले सार्वभौमसत्तामाथिको आक्रमणमा मौन छैनौँ,’ एमालेले भनेको छ, ‘हामी नेपालको सार्वभौमसत्ता, भौगोलिक अखण्डता, स्वाधीनता, स्वतन्त्रता एवं राष्ट्रिय हितको रक्षा र संवद्र्धनको विषयमा कुनै प्रकारको कमीकमजोरी हुन नदिने घोषणा गर्दछौँ ।’
एमालेले स्वतन्त्र, तटस्थ, न्याय र विश्व शान्तिमा आधारित असंलग्न वैदेशिक नीति र परराष्ट्र सम्बन्ध कायम राख्दै अघि बढ्ने घोषणा गरेको छ । ‘सबैसँग मित्रता, छैन कसैसँग शत्रुता’ नारासहित एमालेले छिमेकी देशहरूसँगको सम्बन्धलाई अझ विश्वसनीय र विश्वासपूर्ण बनाउने भनेको छ । ‘सबै राष्ट्रको सार्वभौमिकता र स्वतन्त्रताको सम्मान गर्दै र अन्य राष्ट्रबाट त्यस्तै व्यवहारको अपेक्षा गर्नेछौँ । कुनै पनि राष्ट्रको राजनीतिक, सैनिक, भौगोलिक अखण्डता र आन्तरिक मामिलामा हस्तक्षेप अस्वीकार्य छ,’ एमालेले भनेको छ ।
एमालेले छिमेकी भारत र चीनसँगको सम्बन्धलाई अझै मजबुत एवं सुदृढ बनाउँदै पारस्परिक सहयोग अभिवृद्धि गर्ने भनेको छ । ‘हामी कुनै पनि छिमेकीसँगको अति निकटता चाहँदैनौं र अति दूरी पनि चाहँदैनौँ,’ एमालेले भनेको छ । एमालेले श्रम गन्तव्यका सबै देशसँग सामाजिक सुरक्षाको प्रावधानसहित द्विपक्षीय श्रम सम्झौता गर्ने भनेको छ ।
नेकपा : स्वतन्त्र नेपाल र सन्तुलित कूटनीति
नेकपाले स्वतन्त्र नेपाल र सन्तुलित कूटनीतिको नारा दिँदै राष्ट्रिय स्वाधीनता र स्वाभिमानको रक्षा गर्ने प्रतिबद्धता जनाएको छ । ‘अहिले मुलुकमा जुन खालका बाह्य हस्तक्षेपकारी गतिविधि भएका छन्, त्यसबारे इतिहासमा कहिल्यै कुनै विदेशी शासनको अधीनमा नरहेको हाम्रो राष्ट्रको स्वाधीनता र स्वाभिमानमा आँच आउन सक्ने खतरा महसुस भएको छ,’ नेकपाले भनेको छ । तर, नेकपाले हस्तक्षेप र खतरा कहाँबाट भएको उल्लेख गरेको छैन ।
नेकपाले छिमेकी भारत र चीनसँग पारस्परिक सम्मान, विश्वास र लाभमा आधारित सन्तुलित सम्बन्ध विकास गर्ने भनेको छ । ‘लिपुलेक, लिम्पियाधुरा, कालापानीजस्ता सीमा विवादलाई कूटनीतिक वार्ता र अन्तर्राष्ट्रिय कानुनका आधारमा समाधान गर्नेछौँ,’ नेकपाले भनेको छ । नेकपाले आर्थिक कूटनीतिलाई प्राथमिकता दिँदै वैदेशिक लगानी, निर्यात प्रवद्र्धन, प्रविधि हस्तान्तरण, पर्यटन र रोजगारी अवसर विस्तार गर्ने भनेको छ । यसैगरी, नेकपाले जलवायु परिवर्तन, हिमालय संरक्षण, पर्वतीय मुद्दा र भूपरिवेष्टित राष्ट्रका साझा हितमा अन्तर्राष्ट्रिय मञ्चमा नेपालको आवाज सशक्त बनाउने प्रतिबद्धता जनाएको छ ।
रास्वपा : ‘बफर स्टेट’बाट ‘भाइब्रेन्ट ब्रिज’
राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले सन्तुलित र गतिशील कूटनीति अवलम्बन गर्दै नेपाललाई ‘बफर स्टेट’बाट ‘भाइब्रेन्ट ब्रिज’मा रूपान्तरण गर्ने अवधारणा अघि सारेको छ । ‘नेपालको सार्वभौमसत्ता, भौगोलिक अखण्डता र राष्ट्रिय हितलाई सर्वोपरि राख्दै बदलिँदो वैश्विक भूराजनीति र छिमेकी शक्तिहरूको उदयलाई नेपालको विकासको अवसरमा बदल्न हामी सन्तुलित र गतिशील कूटनीति अवलम्बन गनेर्छौँ,’ रास्वपाले भनेको छ, ‘छिमेकी मुलुकहरूको रणनीतिक चासो र वैश्विक शक्तिसन्तुलनमा आएको बदलाबलाई मध्यनजर गर्दै नेपाललाई बफर स्टेटबाट भाइब्रेन्ट ब्रिजका रूपमा रूपान्तरण गरी त्रिपक्षीय आर्थिक साझेदारी र कनेक्टिभिटीका माध्यमबाट राष्ट्रिय हित सुनिश्चित गर्ने प्रयास गर्नेछौँ ।’
भारत र चीनसँग विकास साझेदारी सुदृढ गर्दै डिजिटल पूर्वाधार, भौतिक संरचना र आर्थिक सहकार्य विस्तार गर्ने रास्वपाको दृष्टिकोण छ । ‘विशेषगरी डिजिटल पब्लिक पूर्वाधार, उच्च गतिमा बनेका गुणस्तरीय भौतिक पूर्वाधार, अर्थतन्त्रको औपचारिकीकरण, उत्पादनमूलक उद्योग र सेवा क्षेत्रबिचको सामञ्जस्य र समग्र राज्य सक्षमताको वृद्धिमा भारतसँग लाभ लिन सकिन्छ,’ रास्वपाको भनाइ छ, ‘चीनसँग सहुलियतपूर्ण वित्तको परिचालनमार्फत विश्वस्तरीय पूर्वाधार निर्माण, आर्थिक सामाजिक विकासका लागि राज्यनिर्देशित लक्ष्य र कार्यक्रम, अन्तरप्रादेशिक प्रतिस्पर्धाका अनुकरणीय विषयहरूलाई साझेदारीका पाटा बनाउनेछौँ ।’
रास्वपाले कूटनीतिक नियोगलाई राजनीतिक भागबन्डाको थलो बन्न नदिई ‘परफर्मेन्स अडिट’ प्रणाली लागू गर्ने प्रतिबद्धता जनाएको छ । ‘राजनीतिक भागबन्डाको थलो बन्न नदिई प्रत्येक कूटनीतिक नियोगको सक्रियता र नतिजा मापन गर्न वैज्ञानिक ‘परफर्मेन्स अडिट’ प्रणाली सुरु गरी कूटनीतिलाई देशको आर्थिक समृद्धिको बलियो आधार बनाउनेछौँ,’ रास्वपाले भनेको छ, ‘विश्वको जुनसुकै कुनामा रहेका नेपालीले राज्यको उपस्थिति महसुस गर्न सकून् भन्नका लागि कूटनीतिक सेवालाई ‘सुरक्षा र सुविधा’केन्द्रित बनाउनेछौंँ ।’ आर्थिक कूटनीतिलाई प्राथमिकता दिँदै प्रमुख व्यापारिक साझेदार मुलुकमा ‘इकोनोमिक कन्सुलर’को संख्या बढाउने योजना पनि सार्वजनिक गरेको छ ।
राप्रपाले संकल्पपत्रमा मुलुकको राष्ट्रियता कमजोर अवस्थामा रहेको र वैदेशिक हस्तक्षेप डरलाग्दो ढंगले बढेको भनेको छ । तर, कहाँबाट हस्तक्षेप भएको उल्लेख गरेको छैन । ‘राष्ट्रिय स्वतन्त्रता, अखण्डता, एकता, सार्वभौमिकता, प्राकृतिक, धार्मिक र सांस्कृतिक सम्पदाहरूको संरक्षण र संवद्र्धनको निमित्त राष्ट्रिय सुरक्षा मूल नीति बनाइनेछ,’ राप्रपाले भनेको छ ।
राप्रपा : ‘नेपाल प्रथम’
राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)ले राष्ट्रियता कमजोर बन्दै गएको र बाह्य हस्तक्षेप बढेको दाबी गर्दै ‘नेपाल प्रथम, नेपाली प्रथम’ नारा अघि सारेको छ । राप्रपाले असमान सन्धि–सम्झौता खारेज गर्ने, आर्थिक कूटनीतिलाई प्राथमिकता दिने र ‘नेपाल शान्ति क्षेत्र’ प्रस्ताव पुनर्जीवित गर्ने प्रतिबद्धता जनाएको छ । ‘नेपालको भूभाग कसैको विरुद्ध प्रयोग हुन दिइनेछैन । सबै प्रकारका असमान सन्धि–सम्झौता खारेज गरिनेछ । आर्थिक कूटनीतिलाई जोड दिइनेछ,’ राप्रपाले भनेको छ, ‘नेपाल शान्ति क्षेत्रको प्रस्तावलाई पुनर्जीवित गरिनेछ ।’
जसपा नेपाल : राष्ट्रिय सुरक्षामा जोड
जसपा नेपालले राष्ट्रिय सुरक्षा, स्वाधीनता, अखण्डता र वातावरणीय संरक्षणलाई परराष्ट्र नीतिको आधार बनाउने उल्लेख गरेको छ । द्विपक्षीय तथा बहुपक्षीय सम्बन्धमार्फत शान्ति, स्थायित्व र आर्थिक समृद्धि प्रवद्र्धन गर्ने पार्टीको धारणा छ । ‘नेपालले राष्ट्रिय सुरक्षा, अखण्डता, स्वाधीनता, स्वतन्त्रता, सार्वभौमसत्ता, सीमा, वातावरणको सुरक्षा, नागरिकहरूको आर्थिक विकास तथा सामाजिक, सांस्कृतिक मूल्य र मान्यताको संरक्षणलाई सर्वोपरि राखी राष्ट्रियहितका आधारमा सबै मित्रराष्ट्रसँग सु–सम्बन्ध कायम गर्दै शान्ति, स्थायित्व, आर्थिक विकासको स्थायित्व र समृद्धिको दिशामा अगि बढ्न द्विपक्षीय वा बहुपक्षीय सम्बन्ध विस्तार गर्नुपर्दछ,’ जसपा नेपालले भनेको छ ।