५६ दलले अझै खाता खोलेनन् : २,५३९ उम्मेदवार पनि बैंकिङ प्रणालीबाहिर

शनिबार, ९ फागुन, २०८२
डिजिटल संस्करण

निर्वाचन प्रचार खर्च बैंकिङ प्रणालीबाट गर्नुपर्ने निर्वाचन आयोगको निर्देशन दल र उम्मेदवारले उल्लंघन गरेका छन् । आयोगका अनुसार शुक्रबारसम्म सात दल र ८६७ उम्मेदवारले मात्र छुट्टै बैंक खाता खोलेका छन् । ५६ दल र दुई हजार ५३९ उम्मेदवारले बैंकिङ च्यानलबाहिर निर्वाचन खर्च गरिरहेका छन् । 

आयोगले ४ फागुनमा तोकिएको खुला प्रचारअगावै निर्वाचन प्रचारका लागि छुट्टै खाता खोलेर बैंकिङ कारोबार गर्न र घोषणापत्र सार्वजनिक गरेर बुझाउन निर्देशन दिए पनि दल र उम्मेदवारले अटेरी गरेका हुन् । आयोगकी सहायक प्रवक्ता सीता पुन श्रीसले अहिलेसम्म सात दल र ८६७ उम्मेदवारले खाता खोलेर खर्च थालेको भन्दै बाँकी पनि एक–दुई दिनमै प्रणालीभित्र आउने बताइन् । 

उनका अनुसार नेपाली कांग्रेस, नेकपा संयुक्त, राष्ट्रिय जनमोर्चा, नेपाली कम्युनिस्ट पार्टी (नेकपा), नेपालका लागि नेपाली पार्टी, जनता समाजवादी पार्टी र संयुक्त नागरिक पार्टीले मात्र छुट्टै खाता खोलेका छन् । उम्मेदवारतर्फ २५ प्रतिशतले मात्रै खाता खोलेका छन् । उनले कार्यविधिअनुसार निर्वाचन प्रचारका लागि आर्थिक सहयोग लिई गर्ने आम्दानी र खर्चको कारोबार छुट्टै खातामार्फत गर्नुपर्ने बताइन् । खाता सञ्चालन निर्वाचन आचारसंहिताको पालनाभित्र पर्ने भन्दै कार्यान्वयन नगरिए दल र उम्मेदवारलाई निर्वाचन कसुर तथा सजाय ऐनअन्तर्गत कारबाही हुने बताइन् । ऐनमा एक लाखसम्म जरिवाना र उम्मेदवारी खारेजीसम्मको व्यवस्था छ । सहायक प्रवक्ता पुनले दल तथा उम्मेदवारबाट अटेरी भए आयोगले जरिवानाको निर्णय गर्ने बताइन् । 

आयोगले निर्वाचनमा दल एवं उम्मेदवारबाट हुने निर्वाचन प्रचारका लागि प्राप्त हुने स्वेच्छिक आर्थिक सहयोगको रकम र त्यस्तो प्रचारप्रसारका लागि दल एवं उम्मेदवारले गर्ने खर्चलाई मितव्ययी, पारदर्शी बनाई निर्वाचनमा सुशासन कायम गर्न ‘निर्वाचन प्रचारप्रसार बैंक खाता सञ्चालन तथा व्यवस्थापन कार्यविधि २० माघमा स्वीकृत गरी सार्वजनिक गरेको थियो । खुला प्रचार सुरु हुनुअगावै खाता खोल्न दल तथा उम्मेदवारलाई भनेको थियो । 

आयोगका प्रवक्ता नारायण भट्टराईले दल तथा उम्मेदवारद्वारा आमनिर्वाचनको सिलसिलामा गरिने प्रचारप्रसार खर्चलाई बैंकिङ प्रणालीमा आबद्ध गराउन कार्यविधि बनाइएको बताए । उनका अनुसार खाता खोल्नका लागि दलको हकमा निर्वाचन आयोगको सचिवालयबाट र उम्मेदवारहरूको हकमा सम्बन्धित जिल्लाको निर्वाचन कार्यालयबाट सिफारिस हुने गरी तोकिएको छ ।

दल तथा उम्मेदवारले कुनै नेपाली नागरिक वा संगठित संस्थाबाट २५ हजार रुपैयाँभन्दा बढी स्वैच्छिक आर्थिक सहयोग रकम प्राप्त गर्दा सोझै बैंक खातामा प्राप्त गर्नुपर्ने र सोभन्दा कम रकमका लागि नगदी रसिद वा भर्पाई बैंक खातामा जम्मा गर्नुपर्ने भनिएको छ । सरकारी निकाय, सार्वजनिक निकाय, गैरसरकारी संस्था, विदेशीबाट सहयोग लिन नपाउने भनिएको छ । तर, ५६ दल र २५ सय ३९ उम्मेदवारले बैंकिङ च्यानलबाहिर निर्वाचन खर्च गरिरहेका छन् । 

सुझावित समाचार