नेपाली कम्युनिस्ट पार्टीका संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले योपटकको चुनाव जनमत संग्रह भएको बताएका छन् । अग्रगामी, सुशासन र परिवर्तनकामी शक्ति र यथास्थितिवादीबिचको जनमत संग्रह भएको उनको भनाइ छ। उनले देश, राष्ट्र र जनताको हकहितको रक्षा गर्नुपर्नेमा जोड दिए।
बुधबार सल्यानको सल्लीबजारमा कार्यकर्ता भेटघाट कार्यक्रममा बोल्दै प्रचण्डले पार्टीको चुनावी अभियानप्रति जनताको अभूतपूर्व उत्साह देखिएको दाबी गरे। उनले भने, ‘चुनावी अभियानमा जनताको ऊर्जा र उत्साह देख्दा अत्यन्तै खुसी लाग्यो। पार्टी र नेतृत्वप्रति जनताको विश्वास स्पष्ट छ। मैले अभियानमा हिँड्दा र विजयी जुलुसमा सहभागी हुँदाजस्तो आनन्द महसुस गरेँ। यस अभियानमा अध्ययन–अनुसन्धान, सांस्कृतिक र जनसहभागिता सबैको अनुभव भयो।’
संयोजक प्रचण्डले देशभरका रिपोर्टिङअनुसार पार्टीमा उत्साह र विश्वासको लहर चलिरहेको जानकारी दिए। उनले पाटीले अघि सारेको योजनाले जनताको राजनीतिक सक्रियता र उत्साह थपेको र पर्यटन, रोजगारी, उद्यम तथा समाजका विभिन्न क्षेत्रमा व्यवस्थित कार्यक्रममार्फत जनताको सहभागिता सुनिश्चित हुँदै गरेको देखिएको दाबी गरे।