पौने चार करोड इजिप्टवासीले बिर्सेको अरब क्रान्ति

बिहिबार, ७ फागुन, २०८२
डिजिटल संस्करण

इजिप्टमा अरब वसन्त विरोध प्रदर्शन सुरु भएको पन्ध्र वर्ष बितिसक्यो । ११ दिनअगाडि ट्युनिसियामा भएको सफल विद्रोहबाट प्रेरित भएर जब प्रदर्शनकारीले देशका राष्ट्रपति जिने एल अबिदिन बेन अलीलाई हटाउन सफल भए, तब इजिप्टका जनता स्वतन्त्रता र आफ्नो आवाज चौतर्फी रूपमा सुनियोस् भन्ने चाहन्थे । उच्च बेरोजगारी, गरिबी र राजनीतिक दमनबाट प्रभावित भएका लाखौँ मानिस १८ दिन लामो प्रदर्शनमा उत्रिए । उनीहरूले रोजगारी, शिक्षा, समानतालगायत माग गर्दै लामो समयदेखि राष्ट्रपति होस्नी मुबारकको राजीनामा माग गर्दै आएका थिए ।

लगभग २४ वर्षको औसत उमेरका साथ इजिप्ट विश्वव्यापी रूपमा युवा जनसंख्याको बाहुल्य रहेका देशको सूचीको अग्रपंक्तिमा पर्छ । करिब तीन करोड ७० लाख मानिस अर्थात् जनसंख्याको ३१ प्रतिशत १५ वर्षमुनिका छन् । ती बालबालिकाका लागि अरब वसन्त पुरानो पुस्ताको सम्झनामा बाँडिएको ऐतिहासिक घटना थियो ।

 कति छ इजिप्टको युवा जनसंख्या ?
२०११ मा इजिप्टको जनसंख्या आठ करोड ३० लाख थियो, जसमा १२ प्रतिशत बेरोजगारी दर थियो । विश्व बैंकका अनुसार त्यतिवेला प्रतिव्यक्ति कुल गार्हस्थ उत्पादन (जिडिपी) दुई हजार ५९० अमेरिकी डलर थियो, एक अमेरिकी डलरले ५.८ इजिप्टियन पाउन्ड किन्थ्यो ।पन्ध्र वर्षपछि इजिप्टमा लगभग तीन करोड ७० लाख मानिस थपिएका छन्, जसले गर्दा यसको जनसंख्या लगभग १२ करोड पुगेको छ । देशमा अहिले बेरोजगारी दर ६.४ प्रतिशत छ र प्रतिव्यक्ति कुल गार्हस्थ उत्पादन (जिडिपी ) तीन हजार ३३९ अमेरिकी डलर छ । एक अमेरिकी डलरले अहिले लगभग ४७ इजिप्टियन पाउन्ड किन्छ, जसले गर्दा धेरै नागरिकको क्रयशक्ति कमजोर भएको छ । इजिप्टमा युवा जनसंख्या छ, जसमा आधाभन्दा बढी नागरिक २४ वर्षमुनिका छन्, यो विश्वव्यापी औसत ३१ वर्षभन्दा लगभग सात वर्ष कान्छो छ ।

इजिप्टको कुल जनसंख्याको ३१ प्रतिशत बालबालिकाका लागि अरब वसन्त पुरानो पुस्ताको सम्झनामा बाँडिएको ऐतिहासिक घटना हो

आर्थिक अनुसन्धान मञ्चका अनुसार इजिप्टले प्रत्येक वर्ष १५ लाख रोजगारी सिर्जना गर्नुपर्ने आवश्यकता छ । यद्यपि, विगत दुई दशकमा यसले वार्षिक ६ लाख रोजगारी मात्र सिर्जना गर्न सफल भएको छ । हाल विश्वविद्यालय र प्राविधिक संस्थानसहित उच्च शिक्षामा लगभग ३६ लाख विद्यार्थी भर्ना भएका छन् । आधुनिकीकरण भइरहेको अर्थतन्त्रको माग पूरा गर्न सरकारले २०३२ सम्ममा यसलाई ५६ लाख पु¥याउने लक्ष्य राखेको छ ।८० प्रतिशतभन्दा बढी मानिस सक्रिय इन्टरनेट प्रयोगकर्ता छन्, यो लगभग पूर्णतया युवाद्वारा सञ्चालित छ, जसमा मोबाइल जडानहरू र अत्यधिक सामाजिक सञ्जाल प्रयोग छन् । इजिप्टको सेन्ट्रल एजेन्सी फर पब्लिक मोबिलाइजेसन एन्ड स्ट्याटिस्टिक्स (सिएपिएमएएस) का अनुसार राष्ट्रिय बेरोजगारी दर ६.४ प्रतिशतको रेकर्ड न्यूनतममा झरेको छ भने युवा बेरोजगारी (१५–२९ वर्ष उमेर समूह) लगभग १४.९ प्रतिशत छ ।

 १८ दिनमा इजिप्टमा के भयो ?
इजिप्टको क्रान्ति जनवरी २५ मा ठुलो विरोध प्रदर्शनबाट सुरु भएको थियो र १८ दिनसम्म चलेको थियो, जुन फेब्रुअरी ११ मा राष्ट्रपति होस्नी मुबारकको राजीनामासँगै समाप्त भयो । मुबारकले सेनालाई अधिकार हस्तान्तरण गरे । आफ्नो मोबाइल फोन र सामाजिक सञ्जाल प्रयोग गरेर इजिप्टवासीले आफ्नो संघर्षका भिडियो र तस्बिर सम्पूर्ण संसारले हेर्नका लागि प्रसारण गरे । १८ दिनको जनविरोधपछि, नवनियुक्त उपराष्ट्रपति ओमर सुलेमानले मुबारकले राजीनामा दिएको र सेनालाई नियन्त्रण हस्तान्तरण गरेको घोषणा गरे । त्यसअघि मुबारकले आगामी सेप्टेम्बरसम्म सत्तामा रहने आशयको भाषण दिएका थिए । तर, तहरिर स्क्वायरमा भरिएको आक्रोशले मुबारकलाई घुँडा टेक्न बाध्य पा¥यो । केही ऊँट र घोडामा सवार मुबारकका समर्थकले कायरो विद्रोहलाई दबाउन क्रूर प्रयास गरेका थिए । लाठी र चक्कु प्रयोग गरेर तिनले तहरिर स्क्वायरमा रक्तपातपूर्ण युद्ध सुरु गरेका थिए । यसअघि देशभर विशाल विरोध प्रदर्शन सुरु हुँदा सरकारले धेरै मानिसलाई कायरो पुग्नबाट रोक्न सबै रेल सेवा निलम्बन गरेको थियो ।

 अन्य ‘अरब वसन्त’ देशमा युवा जनसंख्या
इजिप्टजस्तै आफ्ना नेतालाई अपदस्थ गर्ने अन्य चार देशमा पनि युवा जनसंख्या ठुलो छ । ट्युनिसियामा २९ लाख ५० हजार मानिस वा देशको एक करोड २२ लाख जनसंख्याको २४ प्रतिशत १५ वर्षमुनिका छन् ।लिबियामा यो संख्या २७ प्रतिशत छ । देशको ७४ लाख बासिन्दामध्ये २० लाख १५ वर्षमुनिका छन् । सिरियामा जनसंख्याको २९ प्रतिशत वा दुई करोड ५० लाखमध्ये ७२ लाख १५ वर्षमुनिका छन् । यो संख्या यमनमा सबैभन्दा बढी अर्थात् ४१ प्रतिशत छ, जुन देशको चार करोड जनसंख्यामध्ये एक करोड ७० लाख १५ वर्षमुनिका छन् ।
(हदाद अलजजिराका स्तम्भकार हुन्) अलजजिराबाट
 

सुझावित समाचार