बागलुङको बडिगाडमा जिप दुर्घटना हुँदा पाँचजना घाइते

बुधबार, ६ फागुन, २०८२
डिजिटल संस्करण

बागलुङको बडिगाड गाउँपालिका–८ खोलाखर्कमा जिप दुर्घटना हुँदा पाँचजना घाइते भएका छन्। खोलाखर्कदेखि गलकोटको हटिया बजारतर्फ जाँदै गरेको ग ३ च ६५२१ नम्बरको बोलेरो जिप दुर्घटना भएको हो।

उकालो चढ्ने क्रममा ब्रेक फेल भई जिप अन्दाजी २५ मिटर तल खसेको जिल्ला प्रहरी कार्यालय बागलुङका प्रहरी नायब उपरीक्षक वसन्त पाण्डेले जानकारी दिए। 

घाइते हुनेमा जिपका चालक गलकोट नगरपालिका– १० पाण्डवखानीका २० वर्षीय सुनील विक, बडिगाड गाउँपालिका– ८, खोलाखर्कका ७२ वर्षीय यामबहादुर श्रीस, ५७ वर्षीय वेदबहादुर श्रीस, ४९ वर्षीय विष्णु श्रीस र सवारीधनी गलकोट नगरपालिका– ११, पाण्डवखानी रमुवाका ४० वर्षीय लीलबहादुर श्रीस रहेका छन्।

दुर्घटनापछि स्थानीयवासीहरूले तत्काल उद्धार गरी घाइतेलाई गलकोट नगर अस्पताल पठाएको पाण्डेले जानकारी दिए। घाइतेको उपचार भइरहेको रअवस्था सामान्य रहेको अस्पतालले जनाएको छ।

सुझावित समाचार