एन्फा महिला च्याम्पियनसिप : पुलिसलाई हराउँदै आर्मी फाइनलमा

बुधबार, ६ फागुन, २०८२
डिजिटल संस्करण

उदयपुरको गाईघाटस्थित थरूहट रंगशालामा जारी एन्फा महिला च्याम्पियनसिपमा विभागीय टोली त्रिभुवन आर्मी क्लब उपाधिनजिक पुगेको छ। बुधबार पहिलो सेमिफाइनलमा बलियो प्रतिद्वन्द्वी नेपाल पुलिस क्लबलाई १–० ले पराजित गर्दै आर्मीले फाइनलमा स्थान सुरक्षित गरेको हो।

खेलको सुरुवाती लयमै आर्मीले आक्रामक खेल प्रस्तुत गर्यो। सातौँ मिनेटमा जर्सी नम्बर १५ की विमला चौधरीले गरेको एक मात्र गोल नै खेलको निर्णायक बन्यो। सुरुदेखि नै लिएको अग्रता आर्मीले अन्तिमसम्म जोगाउँदै आफ्नो रक्षात्मक मजबुती पनि प्रमाणित गर्यो।

बराबरी गोलका लागि पुलिसले दोस्रो हाफमा निरन्तर दबाब सिर्जना गरे पनि आर्मीको संगठित डिफेन्स र गोलरक्षकको उत्कृष्ट प्रदर्शनका कारण पुलिस सफल हुन सकेन। आर्मीकी जर्सी नम्बर ३२ की दीपा शाही उत्कृष्ट प्रदर्शनका लागि ‘म्यान अफ द म्याच’ घोषित भइन्।

बिहीबार हुने दोस्रो सेमिफाइनलमा सशस्त्र प्रहरी क्लब र संकटा क्लबबिच प्रतिस्पर्धा हुनेछ। उक्त खेलको विजेताले फाइनलमा आर्मीसँग उपाधिका लागि भिड्नेछ।

अखिल नेपाल फुटबल संघ (एन्फा)को आयोजना तथा जिल्ला फुटबल संघ उदयपुरको सहआयोजनामा जारी प्रतियोगिताको फाइनल खेल फागुन ९ गते हुनेछ। विजेताले ७ लाख ५० हजार तथा उपविजेताले ५ लाख प्राप्त गर्नेछन्।

सुझावित समाचार