- खानेपानी, बाढी, हात्तीआतंक, सुकुमवासीलगायतका समस्या समाधान गर्ने दलहरूका वर्षौँदेखिका प्रतिबद्धता भएका छैनन् पूरा
सुनसरीमा यतिवेला चुनावी सरगर्मी बढेको छ । चार निर्वाचन क्षेत्र रहेको सुनसरीमा पुराना र नयाँ उम्मेदवारबिच प्रतिस्पर्धा हुँदै छ । निर्वाचन आयोगको तालिकाबमोजिम सोमबारबाट औपचारिक रूपमा पार्टीहरूले र्याली तथा प्रचारप्रसार सुरु गरेका छन् । कुनै पार्टीले जेन–जी आन्दोलनले खोजेको मुद्दा पार्टीको पुरानै एजेन्डा रहेको र कतिपयले सो मुद्दालाई यसपटकको निर्वाचनमार्फत उठाएका छन् । जिल्लामा मुख्य रूपमा कांग्रेस, एमाले, नेकपा र रास्वपाबिच प्रतिस्पर्धा छ । पुराना उम्मेदवार र पुराना पार्टीलाई नयाँ पार्टीका रूपमा उदाएका रास्वपा र श्रम संस्कृति पार्टी चुनौतीका रूपमा उभिएका छन् ।
सुनसरीमा कुल पाँच लाख ८० हजार ९४५ जना मतदाता छन् । जसमा दुई लाख ८६ हजार ६९१ महिला, दुई लाख ९४ हजार २५२ पुरुष र दुई अन्य छन् । कुल १६७ मतदानस्थल र ६२४ मतदान केन्द्र रहेको जिल्लामा ११० उम्मेदवार प्रतिस्पर्धामा उत्रिएका छन् । कुनै क्षेत्रमा नयाँ अनुहारका उम्मेदवार छन् भने कतिपय क्षेत्रमा पटक–पटक दोहोरिएका उम्मेदवार छन् । नेकपाले घोषणापत्र सार्वजनिक गरिसकेको छ भने अन्यले केही दिनमै सार्वजनिक गर्ने तयारी गरेका छन् ।
सुनसरी १ मा श्रम संस्कृति र रास्वपाबिच प्रतिस्पर्धा
यो क्षेत्रमा कांग्रेसबाट सुजेन्द्र तामाङ, श्रम संस्कृति पार्टीका सभापति हर्कराज राई, नेकपाबाट सूर्यबहादुर भट्टराई, राष्ट्रिय स्वतन्त्र पार्टीबाट गोमाङ (सरिन) र एमालेबाट टीकाराम लिम्बूलगायत प्रतिस्पर्धामा छन् । धरानमा ०७९ को स्थानीय तह निर्वाचनमा स्वतन्त्र उम्मेदवारी दिँदै नगर प्रमुखमा विजयी बनेका हर्कलाई जिल्लामा निकै चासोका साथ हेरिएको छ । ०७९ को प्रतिनिधिसभा सदस्यको निर्वाचनमा एमालेको समर्थन पाएको जनता समाजवादी पार्टीका नेता अशोक राई विजयी भएका थिए । उनले १७ हजार पाँच मत पाएका थिए । रास्वपाकी गोमाङले १६ हजार ६०६ मत प्राएकी थिइन् । ०७९ को निर्वाचनमा समानुपातिकतर्फ एमालेले २० हजार ९८ प्राप्त गरेको थियो । रास्वपाले १७ हजार २७१, कांग्रेसले ११ हजार ७५० र नेकपा (तत्कालीन माओवादी)ले ४ हजार ६५६ मत प्राप्त गरेका थिए । जिल्ला निर्वाचन कार्यालयका अनुसार सुनसरी १ मा एक लाख ५० हजार ३९३ मतदाता छन् । ४१ मतदानस्थल र १६१ मतदान केन्द्र कायम गरिएको छ ।
सुनसरीको १ केही रामधुनी र बाँकी सबै धरान क्षेत्र पर्छ । धरान वा क्षेत्र १ मा वर्षौँदेखि खानेपानीको समस्या छ । पटक–पटक नेताहरूले सोही खानेपानीको एजेन्डालाई लिएर निर्वाचनमा भाग लिएका छन् । अघिल्लो स्थानीय तह निर्वाचनमा खानेपानी समस्या समाधान गर्ने भनेर स्वतन्त्र रूपमा आएका हर्कराज राई मेयर पदमा विजयी भए । राईले खानेपानी समस्या समाधानका लागि केही काम गरे पनि समस्या पूर्ण रूपमा समाधान भएको छैन । धनीपुर्जाविहीन सबैभन्दा बढी धरानमै छन् । भूमि समस्या समाधान आयोगका अनुसार धरान उपमहानगरमा १३ हजार ३२८ परिवार धनीपुर्जाविहीन छन् ।
सुनसरी २ मा पुरानासँग नयाँको भिडन्त
सुनसरी २ मा एमालेका सुजन लामा, कांग्रेसका राजीव कोइराला, नेकपाकी रामकुमारी चौधरी, रास्वपाका लालविक्रम थापा, नेकपा संयुक्तका अतीत नेपाललगायत २८ जना उम्मेदवार चुनावी प्रतिस्पर्धामा छन् । यस क्षेत्रमा ०७९ को निर्वाचनमा एमालेका उम्मेदवार भीम आचार्य ३२ हजार ८ मत प्राप्त गरेर विजयी भएका थिए । उनका निकटतम प्रतिस्पर्धी कांग्रेसका सीताराम मेहताले २६ हजार ५८ मत प्राप्त गरे । निर्वाचनमा समानुपातिकतर्फ एमालेले २५ हजार १६९, कांग्रेसले २० हजार ६२६, रास्वपाले १६ हजार ९३७ र राप्रपाले ६ हजार ९६६ मत प्राप्त गरेको थियो । यस क्षेत्रमा एक लाख ५८ हजार ९१० मतदाता छन् भने ४० मतदानस्थल र १६७ मतदान केन्द्र छन् ।
सुनसरी २ मा बुढीखोला, सेहरा खोला, पानीपिया, खेतीखोलालगायत खोलाबाट हुने बर्सेनि बाढी र हात्तीआतंकको समस्या मुख्य छन् । सुरक्षाको समस्या पनि यस क्षेत्रमा रहेको छ ।
सुनसरी ३ मा एमालेलाई कांग्रेस र रास्वपाको चुनौती
सुनसरी ३ मा पटक–पटक दोहोरिएका पुरानै उम्मेदवारसँग नयाँको प्रतिस्पर्धा हुँदै छ । यस क्षेत्रमा कांग्रेसबाट विजयकुमार गच्छदार प्रतिस्पर्धामा छन् । उनी आठौँपटक यस क्षेत्रमा प्रतिस्पर्धा गर्दै छन् । एमालेकी भगवती चौधरी, रास्वपाका अशोककुमार चौधरी, नेकपाका दुर्गेशकुमार चौधरी, राप्रपाका घनश्याम गुरुङलगायत २३ जना उम्मेदवार प्रतिस्पर्धामा छन् । यस क्षेत्रबाट ०७९ को निर्वाचनमा एमालेकी भगवती चौधरी ४० हजार ७८८ मत पाएर विजयी भएकी थिइन् ।
कांग्रेसका विजयकुमार गच्छदारले ३५ हजार ६०० मत प्राप्त गरेका थिए । निर्वाचनमा समानुपातिकतर्फ एमालेले ३३ हजार ९०२, कांग्रेसले २९ हजार ६८०, रास्वपाले ६ हजार ८३८ र नेकपाले ३ हजार ९७५ मत प्राप्त गरेका थिए । ४४ मतदानस्थल र १४६ मतदान केन्द्र रहेको यस क्षेत्रमा एक लाख ३४ हजार ३०२ मतदाता छन् ।
सुनसरी ३ मा वर्षौैँदेखि सुकुमवासीहरूको समस्या छ । हरेकपटकको निर्वाचनमा उम्मेदवार सोही मुद्दा बोकेर अघि बढ्छन् । तर, समस्या समाधान भएको छैन ।
सुनसरी ४ मा मुख्य दलका प्रतिस्पर्धी पुरानै
सुनसरी ४ मा मुख्य दुई पार्टीका उम्मेदवार पुरानै छन् । कांग्रेसका ज्ञानेन्द्रबहादुर कार्की, एमालेका जगदीशप्रसाद कुसियत, नेकपाबाट महमद महफुज अन्सारी, रास्वपाबाट दीपककुमार साह, राप्रपाबाट प्रेमप्रसाद भट्टराईलगायत ३३ जना उम्मेदवार प्रतिस्पर्धामा छन् । ०७९ को निर्वाचनमा एमालेका कुसियतलाई तत्कालीन माओवादीसँगको गठबन्धनमा कांग्रेसका कार्कीले ११२ मतान्तरले पराजित गरेका थिए । निर्वाचनमा समानुपातिकतर्फ कांग्रेसले २८ हजार ८२, एमालेले २० हजार ५७३, जनता समाजवादी पार्टीले ६ हजार ५६५, राप्रपाले ५ हजार ६१० र रास्वपाले ५ हजार ६८ मत पाएका थिए । ४२ मतदानस्थल र १५० मतदान केन्द्र रहेको यस क्षेत्रमा एक लाख ३७ हजार ३४० मतदाता छन् ।
सुनसरी ४ मा हात्ती प्रभावित क्षेत्र पर्ने भएकाले हात्तीको समस्या अलिअलि छ । ०६५ मा कोशी बाँध फुटेपछि पीडित बनेको बाढीपीडितको समस्या पनि उस्तै छ । पुराना पार्टीका उम्मेदवार जितेर गएपछि गाउँमा कहिल्यै देख्न नपाएको अधिकांश मतदाताको भनाइ छ । कोशी गाउँपालिका– ३ का मोहम्मद सलिमले शिक्षा, स्वास्थ्य, रोजगारका लागि कुनै काम नभएको र अब जित्ने उम्मेदवारले सामान्य बाटोघाटो, कारखाना स्थापना, स्वास्थ्य चौकी निर्माण गरिदिए मात्र राहत हुने बताए । ‘मत लिएपछि नेता आउँदैनन्, हाम्रो समस्या लामो समयदेखि उस्तै छ,’ उनले भने, ‘धेरै ठुलो केही चाहिँदैन, जित्नेले कारखाना, बाटो, गुणस्तरीय शिक्षा, स्वास्थ्य चौकी बनाइदिए हुन्छ ।’