प्रतिनिधिसभा सदस्य निर्वाचन : उदयपुरमा मतदान सामग्रीदेखि जनशक्तिसम्म पूर्ण व्यवस्थापन

मंगलबार, ५ फागुन, २०८२
डिजिटल संस्करण

आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनलाई लक्षित गर्दै निर्वाचन आयोगअन्तर्गत जिल्ला निर्वाचन कार्यालय उदयपुरले तयारीलाई तीव्र र व्यवस्थित बनाएको छ । निर्वाचनको मिति नजिकिँदै जाँदा उदयपुर जिल्लाभर चुनावी गतिविधि थप सक्रिय बन्दै गएको छ भने कार्यालयले आवश्यक सबै प्राविधिक, प्रशासनिक र व्यवस्थापकीय तयारीलाई अन्तिम रूप दिएको जनाएको छ ।

कार्यालयका अनुसार निर्वाचन सम्पन्न गर्न आवश्यक पर्ने सम्पूर्ण निर्वाचन सामग्रीहरू तयारी अवस्थामा राखिएको छ । मतदान केन्द्रमा प्रयोग हुने मतपेटिका, मतपत्र व्यवस्थापनसम्बन्धी सामग्री, छाप, फाराम, सुरक्षासम्बन्धी सामग्री तथा अन्य आवश्यक उपकरणहरू सुरक्षित रूपमा भण्डारण गरी समयमै सम्बन्धित मतदान केन्द्रमा पठाउने तयारी गरिएको छ । निर्वाचन सामग्रीको व्यवस्थापनलाई उच्च प्राथमिकताका साथ अघि बढाइएको कार्यालयले जनाएको छ ।

जिल्ला निर्वाचन कार्यालयका सूचना अधिकारी डिगम कार्कीका अनुसार निर्वाचन प्रक्रियाको महत्त्वपूर्ण पक्षका रूपमा उम्मेदवारहरूको आर्थिक पारदर्शिता सुनिश्चित गर्न बैंक खाता खोल्न सिफारिस दिने कार्य सुरु गरिएको छ । 

‘निर्वाचन खर्च पारदर्शी बनाउन प्रत्येक उम्मेदवारले निर्वाचन प्रयोजनका लागि छुट्टै बैंक खाता खोल्नुपर्ने व्यवस्था छ । हालसम्म एकजना उम्मेदवारले मात्र बैंक खाता खोल्न सिफारिस लिएका छन्, अन्य उम्मेदवारहरूलाई पनि छिट्टै प्रक्रिया पूरा गर्न आग्रह गरिएको छ,’ उनले भने । उदयपुरका दुई प्रतिनिधिसभा निर्वाचन क्षेत्रमा गरी कुल ३१ जना उम्मेदवार प्रतिस्पर्धामा उत्रिएका छन् ।

निर्वाचनका लागि जनशक्ति व्यवस्थापनलाई पनि प्राथमिकताका साथ अघि बढाइएको छ । जिल्ला निर्वाचन कार्यालयका प्रमुख दीपक दाहालका अनुसार मतदान सञ्चालनका लागि आवश्यक एक हजार ६५० जना जनशक्ति तयारी अवस्थामा राखिएको छ । जसमा २७५ जना मतदान अधिकृत, २७५ जना सहायक मतदान अधिकृत तथा ८२५ जना सहायक कर्मचारी रहनेछन् । उनीहरूको नामावली तयार गरी मुख्य निर्वाचन कार्यालयमा पठाइसकिएको र आवश्यक तालिम तथा परिचालनको तयारी भइरहेको दाहालले जानकारी दिए ।

त्यसैगरी, मतदातामा सचेतना अभिवृद्धि गर्न जिल्लाका आठवटै स्थानीय तहमा मतदाता शिक्षा कार्यक्रम सञ्चालन गरिएको छ । मतदाता शिक्षा कार्यक्रममार्फत मतदान गर्ने तरिका, मतदानको महत्त्व, मतपत्र प्रयोग गर्ने विधि तथा निर्वाचन आचारसंहितासम्बन्धी जानकारी प्रदान गरिएको छ । 

यता अस्थायी बसोबास गर्ने नागरिकहरूलाई मतदानको अधिकार सुनिश्चित गर्न अस्थायी मतदाता नामावली संकलन कार्यलाई पनि तीव्र बनाइएको छ । यस प्रक्रियामार्फत आफ्नो स्थायी ठेगानाबाहिर बसोबास गर्ने मतदातालाई पनि मतदानमा सहभागी गराउने लक्ष्य राखिएको छ ।

निर्वाचनलाई स्वच्छ, निष्पक्ष, विश्वसनीय र व्यवस्थित रूपमा सम्पन्न गर्न जिल्ला निर्वाचन कार्यालयले सुरक्षा निकाय, स्थानीय तह तथा सम्बन्धित निकायहरूसँग समन्वय गरी आवश्यक तयारीलाई निरन्तरता दिएको जनाएको छ । कार्यालयका अनुसार निर्धारित समयमै सम्पूर्ण प्रक्रिया पूरा गरी निर्वाचनलाई सफल बनाउन सम्पूर्ण संयन्त्र परिचालन गरिएको छ ।

सुझावित समाचार