देशभरका किसानलाई डिजिटल र प्रिमियम कृषि सेवाहरू उपलब्ध गराउन एनसेल र डिजिटल कृषि प्लाटफर्म ‘सुपर कृषक’ले सहकार्य गरेका छन्। यो सहकार्यको मुख्य उद्देश्य मोबाइल फोनमार्फत सहजै सबै किसानसम्म आधुनिक कृषि सेवाहरू उपलब्ध गराउनु रहेको बताइएको छ।
हालसम्म देशका ३० हजारभन्दा बढी किसानहरू सुपर कृषक प्लाटफर्ममा दर्ता भइसकेका कम्पनीले जनाएको छ। यस प्लाटफर्ममार्फत अनलाइन कृषि तालिम, कृषि डाक्टर, तथा कृषि चिना (स्याटेलाइट अनुगमन)जस्ता डिजिटल उपकरण र सेवाहरू उपलब्ध हुने छन्, जसले किसानलाई आफ्नै मोबाइल फोनमार्फत वास्तविक समयमै कृषि परामर्श, रोगकिरा तथा बाली समस्या पहिचान र बाली अनुगमनसम्बन्धी जानकारी प्राप्त गरी स्वमूल्यांकन गर्न सक्षम बनाउँछ।
किसानले सुपर कृषक एपमार्फत यो सेवा लिन सक्छन् । यस एपमा विभिन्न अवधिका सदस्यता प्याकेजहरू उपलब्ध छन्। एक वर्षको प्याक किस्ताबन्दीमा लिन चाहनेले प्रत्येक तीन दिनमा १३ रुपैयाँ तिर्दै वार्षिक १५६० रुपैयाँ खर्चिनुपर्नेछ। त्यस्तै, ६ महिनाका लागि प्रत्येक तीन दिनमा १४ रुपैयाँ भुक्तानी गरी कुल ८४० रुपैयाँ तिर्नुपर्नेछ।
एकमुस्ट भुक्तानी गर्ने किसानहरूले भने ६ महिनाका लागि ७५६ रुपैयाँ तथा एक वर्षका लागि १२४८ रुपैयाँ तिरेर सेवा लिन सक्छन्। आफूलाई उपयुक्त सेवा लिएपछि लागू हुने शुल्क मेन ब्यालेन्सबाटै कटौती हुने एनसेलले जनाएको छ।
किसानहरूले प्रिमियम सेवाअन्तर्गत आधुनिक कृषि प्रविधिबारे विस्तृत तथा चरणबद्ध सिकाइ सामग्री समेटिएका तालिम मोड्युलहरूको लाभ उठाउन सक्छन्। त्यस्तै कृषि डाक्टर सुविधामार्फत कृषकहरूले आठ सयभन्दा बढी बालीका रोग किरा तथा अन्य समस्याको पहिचान एआईमार्फत गर्न सक्छन्। यो सेवाले बाली समस्या पहिचान गरिसकेपछि आवश्यकताअनुसार समाधानका उपायहरू पनि सुझाउँछ। त्यस्तै किसानले स्थानीय भाषामै तथ्यमा आधारित व्यक्तिगत परामर्श आफूलाई आवश्यक परेको समयमा प्राप्त गर्न सक्छन्।
एनसेल र सुपर कृषकले यो सेवा अबको एक वर्षमै एक लाख २० हजारभन्दा बढी किसानसम्म पुर्याउने लक्ष्य राखेका छन्। यो महत्त्वपूर्ण कदमले कृषिसम्बन्धी ज्ञान अभिवृद्धि गर्न, किसान र विशेषज्ञबिचको दूरी घटाउन साथै ग्रामीण नेपालमा रहेको डिजिटल खाडल कम गर्न महत्त्वपूर्ण योगदान पुर्याउने अपेक्षा गरिएको छ।