चुनावको समाजशास्त्र

निर्वाचन आयोग, दल र राज्यप्रति समाजको विश्वास कमजोर भएमा मतदानमा उदासीनता बढ्छ, वैकल्पिक आन्दोलन वा निराशा जन्मिन्छ

सोमबार, ४ फागुन, २०८२
डिजिटल संस्करण

चुनावको समाजशास्त्र केवल भोट हाल्ने प्रक्रिया मात्र होइन, यो समाजको शक्ति संरचना, वर्ग, पहिचान र सामूहिक चेतनाको ऐना पनि हो । यसले ‘मानिसले किन र कसरी मतदान गर्छन् ?’ भन्ने प्रश्नलाई सामाजिक दृष्टिकोणबाट विश्लेषण गर्छ । चुनावले समाजमा विद्यमान वर्गीय विभाजनलाई उजागर गर्छ । धनी–गरिब, सहर–गाउँ, शिक्षित–अशिक्षित वर्गबिचको शक्ति असमानता मतदाताको व्यवहारमा प्रकट हुन्छ । आर्थिक स्रोत भएका समूहले प्रचार, सञ्जाल र प्रभाव प्रयोग गरेर निर्वाचनमा तुलनात्मक रूपमा बढी प्रभाव जमाउँछन् । चुनाव केवल मतपेटिकामा मत हाल्ने प्रक्रिया होइन, समाजको आत्मकथा पनि हो । समाजले देखाउने र हेर्ने ऐना हो । यसमा आशा, डर, पहिचान, असमानता र परिवर्तनको आकांक्षा सबै प्रतिबिम्बित हुन्छन् । त्यसैले, चुनावलाई बुझ्नु भनेको समाजलाई बुझ्नु हो र समाजलाई बदल्न चाहनेले चुनावको समाजशास्त्र गहिरोसँग अध्ययन गर्नैपर्छ । चुनावलाई समाजशास्त्रीय हिसाबले बहुकोणबाट हेर्न सकिन्छ :

 पहिचानको राजनीति
जाति, भाषा, धर्म, क्षेत्र, लिंगजस्ता सामाजिक पहिचान चुनावमा निर्णायक बन्छन् । धेरैजसो अवस्थामा मतदाताले नीतिभन्दा पनि ‘आफ्नो समूह’को प्रतिनिधित्व गर्ने उम्मेदवारलाई रोज्छन् । यसले समावेशिताको बहस उठाए पनि कहिलेकाहीँ समाजलाई ध्रुवीकृत पनि गर्छ । पछिल्लो समय चुनावमा ‘मुद्दा’भन्दा ‘पहिचान’ हाबी हुने गरेको छ । सीमान्तकृत समुदाय (महिला, दलित, मधेशी, जनजाति, लैंगिक आयाम र उमेर)ले आफ्नो अधिकार र उपस्थितिका लागि मतदानलाई एक औजारका रूपमा प्रयोग गर्छन् । यसले समाजमा समावेशीकरण र प्रतिनिधित्वको बहसलाई अगाडि बढाउँछ । लैंगिक र पुस्तागत आयाम महिला, युवा र सीमान्तकृत समुदायको सहभागिता चुनावी समाजशास्त्रको केन्द्रीय प्रश्न हो । महिलाको प्रतिनिधित्व, सामाजिक न्याय र समावेशिता, युवाको सहभागिता र परिवर्तन र नयाँ मूल्यको संकेत पहिचानगत आधार हुन्, तर संरचनात्मक अवरोधले यी समूहको आवाज अझै पूर्ण रूपमा सशक्त हुन सकेको छैन ।

 संस्कृति, परम्परा, प्रभाव, चेतना, शिक्षा र सूचना
मतदान व्यवहारमा स्थानीय संस्कृति, सामाजिक मान्यता र परम्परा गहिरोसँग गाँसिएका हुन्छन् । कतिपय समाजमा वृद्ध, धार्मिक अगुवा वा सामुदायिक नेताको भनाइले मतदान निर्णय तय गर्छ, जसले व्यक्तिगत स्वतन्त्रताभन्दा सामूहिक सोचलाई प्राथमिकता दिन्छ । समाजशास्त्रीय मोडेलले भन्छ कि व्यक्तिको मतदान गर्ने निर्णय उसको सामाजिक पृष्ठभूमिसँग जोडिएको हुन्छ । जस्तैः जात र धर्म, विशेषगरी दक्षिण एसियाली र नेपाली सन्दर्भमा जातीय र धार्मिक पहिचानले चुनावी नतिजामा ठुलो प्रभाव पार्छ ।

चुनावले समाजमा विद्यमान वर्गीय विभाजनलाई उजागर गर्छ । धनी–गरिब, सहर–गाउँ, शिक्षित–अशिक्षित वर्गबिचको शक्ति असमानता मतदाताको व्यवहारमा प्रकट हुन्छ 

मानिसले आफ्नो समूहको प्रतिनिधित्व गर्ने उम्मेदवारलाई सुरक्षित महसुस गर्छन् । वर्ग, आर्थिक अवस्थाले राजनीतिक विचारधारा निर्धारण गर्छ । निम्न वर्ग र उच्च वर्गका चुनावी एजेन्डा फरक हुन्छन् । हामीले कुन पार्टीलाई मन पराउने भन्ने कुरा हाम्रो हुर्काइ र परिवेशले तय गर्छ । यसलाई राजनीतिक सामाजिकीकरण भनिन्छ । परिवारको राजनीतिक झुकाव र साथीभाइको सर्कलले मतदाताको मानसिकता निर्माण गर्छ । शिक्षाले मानिसलाई आलोचनात्मक बनाउँछ । शिक्षा र राजनीतिक चेतनाले चुनावी निर्णयलाई प्रत्यक्ष असर गर्छ । उच्च चेतना, नीति, विचारधारा र दीर्घकालीन प्रभावमा आधारित मतदान हुन्छ । कम चेतना, भावनात्मक नारा, पैसाको प्रभाव, डर वा भ्रममा आधारित मतदान र सामाजिक सञ्जालले सूचना मात्र होइन, भ्रम र अफवाह पनि तीव्रगतिमा फैलाउँछ ।

 राज्य, संस्था र विश्वास
चुनावप्रति जनविश्वास समाजशास्त्रीय रूपमा अत्यन्त महत्वपूर्ण छ । निर्वाचन आयोग, दल र राज्यप्रति विश्वास कमजोर भएमा मतदानमा उदासीनता बढ्छ, वैकल्पिक आन्दोलन वा निराशा जन्मिन्छ । यसले लोकतन्त्रको सामाजिक आधारलाई कमजोर बनाउँछ ।

 शक्ति र प्रभुत्व 
एन्टोनियो ग्राम्सीको ‘हेजेमनी’को सिद्धान्तअनुसार, शासक वर्गले आफ्नो विचारलाई नै ‘साझा सत्य’ बनाएर समाजमा स्थापित गर्छन् । चुनावमा प्रतीक, नारा र विचारधारा प्रयोग गरेर जनताको ‘सहमति’ प्राप्त गर्ने प्रयास गरिन्छ । यसमा पैसा, पहुँच र बाहुबलको प्रयोगले कसरी वास्तविक लोकतन्त्रलाई छायामा पार्छ भन्ने अध्ययन गरिन्छ । चुनावमा कहिलेकाहीँ सत्तासंरचनाको पुनरुत्पादन मात्र हुन्छ, जहाँ पुरानै अभिजात वर्ग घुमेर सत्तामा फर्किन्छ । तर, केही अवस्थामा चुनाव सामाजिक रूपान्तरणको साधन पनि बन्छ । नयाँ विचार, नयाँ नेतृत्व र नयाँ सामाजिक सम्झौताको बाटो खोल्दै जान्छ ।

 विनिमय सिद्धान्त
समाजशास्त्रको विनिमय सिद्धान्तअनुसार, मतदाताले ‘लगानी र प्रतिफल’को हिसाब गर्छन् । कतिपय अवस्थामा मतदाताले तत्कालीन फाइदा (जस्तैः पैसा, सामान वा व्यक्तिगत कामको आश्वासन)का लागि भोट ‘साट्ने’ गर्छन् । अर्कोतर्फ, दीर्घकालीन सामाजिक विकास र भविष्यको सुरक्षालाई पनि प्रतिफलकै रूपमा हेरिन्छ ।

 चुनावी कर्मकाण्ड 
इमाइल दुर्खिमको सिद्धान्तअनुसार, चुनाव एकप्रकारको ‘सामूहिक अनुष्ठान’ हो । यसले छरिएर रहेका मानिसलाई एक ठाउँमा ल्याउँछ र उनीहरूमा ‘हामी एक हौँ’ भन्ने नागरिक भावना पैदा गर्छ । चुनावले समाजमा विद्यमान तनावलाई वैधानिक रूपमा पोख्ने ठाउँ दिन्छ । चुनाव केवल सरकार छान्ने प्राविधिक काम मात्र नभई यो समाजको शक्ति सन्तुलन, विभेद र एकता मापन गर्ने कसी हो । नेपाली समाजमा पछिल्लो समयमा परम्परागत पार्टीगत ‘भोटबैंक’भन्दा पनि ‘स्वतन्त्र’ र ‘वैकल्पिक’ सोचको उदय हुनुले समाजशास्त्रीय रूपमा नयाँ मोड लिएको देखिन्छ । वर्तमान समयमा सामाजिक सञ्जाल चुनावको समाजशास्त्र बुझ्नका लागि सबैभन्दा शक्तिशाली माध्यम बनेको छ । यसले मतदाताको व्यवहार, सूचनाको प्रवाह र राजनीतिक शक्तिको सन्तुलनलाई पूर्णतः परिवर्तन गरिदिएको छ । सामाजिक सञ्जालले चुनावी प्रक्रियालाई कसरी प्रभाव पार्छ भन्ने मुख्य बुँदा तल प्रस्तुत गरिएको छः

 इको चेम्बर र ध्रुवीकरण 
सामाजिक सञ्जालका अल्गोरिदमले हामीलाई त्यस्तै सामग्री देखाउँछन् जुन हामीले पहिले नै मन पराएका हुन्छौँ । यसले समाजमा दुईवटा असर गर्छ– इको चेम्बरः मानिसहरू आफ्नै विचारधारा भएका समूहमा मात्र सीमित हुन्छन्, जसले गर्दा उनीहरूमा ‘हाम्रो विचार मात्र सही हो’ भन्ने भ्रम पैदा हुन्छ । ध्रुवीकरण : यसले गर्दा समाजमा ‘हामी’ र ‘उनीहरू’ भन्ने तीव्र विभाजन पैदा हुन्छ, जसले सहिष्णुता घटाउँछ ।

 ‘फेक न्युज’ अर्थात् गलत सूचना 
चुनावको समयमा मतदातालाई भ्रमित पार्न नियोजित रूपमा गलत सूचना फैलाइन्छ । कसैको चरित्रहत्या गर्ने वा नभएको कामको जस लिने गरी बनाइएका सामग्रीले तटस्थ मतदाताको निर्णय बदल्न सक्छन् । पछिल्लो समयमा पनि डिप फेक एआई प्रयोग गरी बनाइएका नक्कली भिडियो वा अडियोले चुनावी नतिजामै प्रभाव पार्ने जोखिम बढेको छ । सञ्जालमा देखिने लाइक र भ्युजकै भरमा जनमतको मापन गरिनुले ‘लोकतन्त्र’ बिस्तारै ‘भिडतन्त्र’मा परिणत हुने खतरा बढेको छ ।

 डिजिटल पपुलिजम 
लोकप्रियतावादी नेताहरूले सामाजिक सञ्जाललाई परम्परागत मिडिया (जस्तैः पत्रिका वा टिभी)लाई बाइपास गर्ने माध्यम बनाउँछन् । उनीहरू जनताका भावना र आक्रोशलाई सिधै सम्बोधन गरेर ‘मास सेन्टिमेन्ट’ आफ्नो पक्षमा पार्छन् । नेपालको पछिल्लो चुनावमा स्वतन्त्र उम्मेदवारहरूको उदयमा यसको ठुलो भूमिका छ । आजको नेपाली राजनीतिमा निर्वाचन केवल भोट खसाल्ने प्रक्रिया मात्र रहेन, यो ‘डिजिटल म्यानिपुलेसन’ र ‘इमेज व्यवस्थापन’को एउटा जटिल समाजशास्त्रीय खेल बनेको छ । परम्परागत रूपमा ‘आस्था’ र ‘त्याग’मा आधारित राजनीति आज सामाजिक सञ्जालको ‘अल्गोरिदम’ र ‘भाइरल’ संस्कृतिको चेपुवामा परेको छ ।

 वैचारिक निष्ठामाथि ‘इमेज’ र ‘स्टन्ट’को विजय
विगतमा नेताको पहिचान उसको राजनीतिक इतिहास र दर्शनले हुन्थ्यो । तर, आजको डिजिटल युगले मतदातालाई नागरिकबाट उपभोक्तामा परिणत गरिदिएको छ । सामाजिक सञ्जालले नेताहरूलाई एउटा ‘प्रोडक्ट’ (उत्पादन) र राजनीतिक दललाई ‘ब्रान्ड’का रूपमा प्रस्तुत गर्छ । विभिन्न राजनीतिक दलका नेताहरूको ‘सिम्बोलिक इमेज’ ‘फेसबुक लाइभ’, दृश्य प्रभावले नीतिगत बहसलाई ओझेलमा पारेको छ ।

 युवा मतदाता र एजेन्डा सेटिङ
परम्परागत रूपमा चुनावमा ‘पार्टीको लिगेसी’ हेरिन्थ्यो, तर सामाजिक सञ्जालले गर्दा अब ‘सेलिब्रेटी कल्चर’ र ‘तत्कालीन मुद्दा’ हाबी भएका छन् । ह्यासट्याग अभियान :  सामाजिक सञ्जालमा चल्ने ट्रेन्डले चुनावको मुख्य एजेन्डा के हुने भन्ने तय गर्छ । भिजुअल प्रभाव : छोटा भिडियो (टिकटक रिल्स)ले लामो भाषणभन्दा छिटो र प्रभावकारी रूपमा मानिसको दिमागमा छाप पार्छन् । काठमाडौं महानगरपालिकाको चुनाव २०७९ मा बालेन शाहको उदय सामाजिक सञ्जालको सही प्रयोगको उत्कृष्ट उदाहरण हो । पछिल्लो चुनावले यो सिद्ध गर्यो कि अब चुनाव जित्न ‘बुथ’मा मात्र होइन, मानिसको ‘हातको मोबाइल’भित्र पनि पस्नु अनिवार्य छ । सामाजिक सञ्जालले राजनीतिलाई ‘एलिट’ (हुनेखाने र पहुँचवाला) को कब्जाबाट निकालेर अलिकति भए पनि ‘मास’ (जनता)को हातमा पुर्याएको छ ।

 मूल्य र मान्यतामा परिवर्तन
समाजशास्त्रीय दृष्टिकोणबाट यो केवल राजनीतिक परिवर्तन मात्र नभई नेपाली समाजको चेतना र मनोविज्ञानमा आएको परिवर्तन पनि हो । पुस्तान्तरणको खोजी : नेपाली समाज अहिले ‘इतिहासको ब्याज’भन्दा ‘वर्तमानको डेलिभरी’ खोजिरहेको छ । मानिसमा नेताको भाषणभन्दा कामको नतिजाप्रति बढी चासो छ । भावनात्मक भर्सेस व्यावहारिक ः पुराना शक्तिहरूले ‘भावनात्मक र आदर्शवादी’ सम्बन्ध बनाउँछन् भने नयाँ शक्तिहरूले ‘एजेन्डा र समस्या समाधान’मा आधारित सम्बन्ध बनाइरहेका छन् । सहरीकरण र प्रविधि ः बढ्दो सहरीकरण र इन्टरनेटको पहुँचले गर्दा मानिसहरू अब माइकिङ र आमसभाबाट प्रभावित हुन छाडेका छन् । उनीहरू आफ्नो मोबाइलको स्क्रिनमै नेताको क्षमता जाँच्न चाहन्छन् ।

 निष्कर्ष 
आजको चुनावमा भोट खसाल्ने औँला र मोबाइल स्क्रोल गर्ने औँलाको महत्वव बराबर छ । राजनीतिलाई ‘अवसरवाद’बाट जोगाएर ‘सेवा’मा फर्काउने हो भने मतदाताले डिजिटल भ्रम र भिडतन्त्रभन्दा माथि उठेर उम्मेदवारको चरित्र र स्पष्ट एजेन्डालाई प्राथमिकता दिनु आवश्यक छ । चुनावले समाज बदल्न सक्छ, तर त्यसका लागि मतदातामा सूचना मात्र होइन, विवेकको जागरण पनि उत्तिकै जरुरी देखिन्छ ।

सुझावित समाचार