तीन विश्वकप खेल्ने एक मात्र नेपाली खेलाडी सोमपाल

१२ वर्षअघि बंगलादेशले आयोजना गरेको विश्वकप खेलेका सोमपालले १०औँ संस्करणमा वेस्ट इन्डिजविरुद्ध खेल्दै तीनवटा विश्वकप यात्रा पूरा गरे

सोमबार, ४ फागुन, २०८२
डिजिटल संस्करण

सोमपाल कामी यसपटकको आइसिसी टी–२० विश्वकपमा लगतार दुई खेलमा बेन्चमै रहे । प्रशिक्षक स्टुवार्ट लले युवा खेलाडीलाई मौका दिँदा सबैभन्दा सिनियर सोमपालले इंग्ल्यान्ड र इटालीविरुद्ध प्रतिस्पर्धा गर्न पाएनन् । नवप्रवेशी इटालीसँग १० विकेटको हारपछि स्टुवार्टले आइतबार दुईपटकको विश्व च्याम्पियन वेस्ट इन्डिजविरुद्ध टोली घोषणा गर्दा सोमपालले स्थान बनाए । वेस्ट इन्डिजविरुद्ध मैदानमा जानुअघि नै सोमपालले नेपाली खेलाडीमध्ये व्यक्तिगत रेकर्ड बनाए । 

तीनपटक टी–२० विश्वकप खेल्ने उनी पहिलो तथा एक मात्र नेपाली खेलाडी बने । फरक तीन विश्वकपको अनुभव सँगालेका सोमपालले वेस्ट इन्डिजसँगको महŒवपूर्ण खेलमा आठौँ क्रममा ब्याटिङ गर्न आए । वर्तमान नेपाली टोलीमा सबैभन्दा अनुभवी खेलाडी सोमपाल आफ्नो ब्याटिङ अलराउन्ड प्रदर्शन गर्न सफल भए । उनले कठिन अवस्थामा उपकप्तान दीपेन्द्रसिंह ऐरीसँग सातौँ विकेटका लागि उत्कृष्ट साझेदारी गरे । 

वेस्ट इन्डिजका नाम चलेका फास्ट बलरविरुद्ध उनको ब्याटबाट आकर्षक स्ट्रोक देखिएको थियो । सोमपालले केवल १५ बलमा चार चौकाको सहयोगमा २६ रन जोड्न १७३.३३ को स्ट्राइकमा ब्याटिङ गरे । ब्याटिङमा असाधारण प्रदर्शन गरेका सोमपाल बलिङ महँगा देखिए । दुई ओभर बलिङ गर्ने अवसर पाएका उनले २३ रन खर्चेका थिए । सन् २०१४ मा बंगलादेशले आयोजना गरेको विश्वकपमा सोमपालले डेब्यु गरेका थिए । त्यसपछि उनी सन् २०२४ मा वेस्ट इन्डिज र अमेरिकाद्वारा संयुक्त रूपमा आयोजित विश्वकपमा समेत सहभागी भए । 

व्यक्तिगत रेकर्ड बनाएका सोमपाल वेस्ट इन्डिजबाट पराजित हुँदा खुसी भएनन् । उनले व्यक्तिगत कीर्तिमान बनाएको दिनमै नेपाल १०औँ संस्करणको विश्वकपको समूह चरणबाटै बाहिरियो । यसै खराब नतिजाका कारण उनी वानखेडे रंगशालामा नेपाली पत्रकारमाझ उपस्थित हुँदा दुःखी देखिए । ‘नेपाल पराजित हुँदा दुःख लाग्छ,’ उनले भने, ‘यो विश्वकपमा हामीले राम्रो खेलेनौँ ।’ उनले विशेषतः नवप्रवेश राष्ट्र इटालीबाट लजास्पद हार व्यहोरेको क्षण पीडादायी भएको बताए । ‘भर्खर विश्वकप खेलिरहेको राष्ट्रबाटै १० विकेटले पराजित भइयो । योभन्दा नराम्रो के हुन सक्छ ?’ सोमपालले १७औँ ओभरमा वेस्ट इन्डिजका अनुभवी फास्ट बलर ज्यासन होल्डरलाई तीन चौका प्रहार गरेका थिए । 

बंगलादेशमा टी–२० आई डेब्यु
सन् २०१४ को टी–२० विश्वकप नेपालको डेब्यु थियो । कप्तान पारस खड्काको नेतृत्वमा रहेको नेपाली टोलीमा तत्काल सोमपालसँगै ज्ञानेन्द्र मल्ल, शक्ति गौचन, शरद भेसवाकर, जितेन्द्र मुखिया तथा सुभाष खकुरेलजस्ता खेलाडी थिए । नेपालले बंगलादेशमा टी–२० आईमा डेब्यु गरेका वेला सोमपाल टोलीकै कान्छा खेलाडी थिए । भारतको वानखेडे रंगशालामा तेस्रो विश्वकप खेल्दा उनी टोलीकै सबैभन्दा सिनियर खेलाडी बने । अहिलेसम्म तीन विश्वकपमा उनले सात खेल खेलेका छन् ।

१२ वर्षअघि विश्वकप खेल्दा सोमपालका बलिङ पार्टनर जितेन्द्र थिए । उनले बंगलादेशमा भएको विश्वकपमा तीन खेलमा चार विकेट लिएका थिए । नवौँ र दसौँ संस्करणमा उनले करण केसीको साथ पाए । वेस्ट इन्डिजमा सम्पन्न नवौँ विश्वकपमा दुई खेलमा उनले दुई विकेट हात पारेका थिए । विश्वकपमा उनले अफगानिस्तान, हङकङ, बंगलादेश, नेदरल्यान्ड्स, दक्षिण अफ्रिका र वेस्ट इन्डिजजस्ता राष्ट्रविरुद्ध आफ्नो क्षमता देखाए । पत्रकार सम्मेलनमा सोमपालले मैदानमा आफू सधैँ शतप्रतिशत खेल्ने बताए । ‘नेपालका लागि शतप्रतिशत खेल्छु, यो क्रम कहिल्यै रोकिनेछैन,’ सोमपालले भने ।

८७ टी–२० आईमा ८१ विकेट
सोमपालले अहिलेसम्म ८७ टी–२० आई खेलेका छन् । उनले ८७ इनिङ्स नै बलिङ गरी ८१ विकेट लिएका छन् । उनको इकोनोमी ७.१८ रहेको छ । ब्याटिङ क्रममा उनले ५२ इनिङ्समा ३९१ रन जोडेका छन् । टी–२० फम्र्याटमा उनले २९ चौका र १६ छक्का प्रहार गरेका छन् । उनले अहिलेसम्म १ हजार ६१४ पटक बल फ्याँकेका छन् । टी–२० आई करिअरमा सोमपालले एसियाली भूमिमा ६५ खेलमा ५७ विकेट हात पारेका छन् । यसैगरी अमेरिकन भूमिमा उनले नौ खेलमा १२ विकेट लिएका छन् । तथ्यांकअनुसार उनले घरेलु मैदानमा २४, अवेमा २६ र तटस्थ भूमिमा ३७ विकेट हात पारे । सन् २०१४ को सिजनमा उनले १३ खेलमा १४ पटक खेलाडीलाई आउट पारे । 

See More On

सुझावित समाचार