५५ अर्ब लागतको केबलकार अघि बढाउँदा २२९ परिवार र साढे २४ हजार रुख प्रभावित हुने

आइतबार, ३ फागुन, २०८२
डिजिटल संस्करण

मुक्तिनाथ केबलकारको वातावरणीय प्रभाव मूल्यांकनको मस्यौदा

पर्वतको सेराफाँटदेखि मुस्ताङको रानीपौवासम्म बन्ने प्रस्तावित नयाँपुल–मुक्तिनाथ केबलकारको वातावरणीय प्रभाव मूल्यांकन (इआइए)को मस्यौदा तयार भएको छ । ५५ अर्ब लागत अनुमान रहेको मुक्तिनाथ केबलकार अघि बढाउँदा दुई सय २९ परिवार र साढे २४ हजार रुख प्रभावित हुने देखिएको छ ।

वन तथा वातावरण मन्त्रालयले मुक्तिनाथ दर्शन लिमिटेडबाट प्रस्तावित ८१.०४ किमि लामो नयाँपुल–मुक्तिनाथ केबलकार आयोजनाको वातावरणीय प्रभाव मूल्यांकन अध्ययन प्रतिवेदनको मस्यौदा प्रकाशित गर्दै राय तथा सुझाव माग गरेको छ । इआइए प्रतिवेदन नेपाल इन्भाइरोन्मेन्टल एन्ड साइन्टिफिक सर्भिसेज प्रालिले तयार गरेको हो ।

सरकारले मुक्तिनाथ केबलकार निर्माणका लागि १४ असोज ०७८ मा वातावरणीय प्रभाव मूल्यांकन अध्ययन गर्न सैद्धान्तिक सहमति दिएको थियो । वन तथा वातावरण मन्त्रालयले २२ असोज २०७८ मा इआइए गर्न स्वीकृति दिएको थियो । 

मन्त्रालयले २७ भदौ ०७९ मा क्षेत्र निर्धारण प्रतिवेदन तथा कार्यसूची स्वीकृत गरेको थियो । सोही आधारमा तयार भएको वातावरणीय प्रभाव मूल्यांकन अध्ययन प्रतिवेदनको मस्यौदा लगानी बोर्डको कार्यालयको सिफारिससहित मन्त्रालयमा पठाइएको थियो । मन्त्रिपरिषद्को गत ८ मंसिरको नीतिगत निर्णयका आधारमा वन तथा वातावरण मन्त्रालयले २५ पुसमा नियमअनुसार इआइएको सूचना अघि बढाउने निर्णय गरेको हो । सोहीबमोजिम मन्त्रालयले इआइएको मस्यौदा सार्वजनिक गर्दै राय–सुझाव माग गरेको हो । 

प्रस्तावित परियोजनाको इआइए प्रतिवेदनअनुसार निर्माणका क्रममा ९३.६१ हेक्टर वनको, ७२.६६ हेक्टर बाँझो र ४१.३४ हेक्टर नदी क्षेत्रको जग्गा प्रभावित हुनेछ । त्यस्तै, संरक्षण क्षेत्र व्यवस्थापन समितिको वनबाट २२ हजार तीन सय नौवटा, सामुदायिक वनबाट तीन सय ८६ वटा र सरकारद्वारा व्यवस्थित वनबाट एक हजार आठ सय ५५ वटा रुख प्रभावित हुने मस्यौदामा उल्लेख छ । आयोजनाका लागि ५९.७१ हेक्टर जग्गा स्थायी अधिग्रहण र प्राप्ति गर्नुपर्ने तथा ३४ भौतिक र एक सय ९५ आर्थिक रूपमा गरी दुई सय २९ घरधुरी प्रभावित हुने मस्यौदामा उल्लेख छ । कुल वातावरणीय लागत ७८ करोड १२ लाख ५२ हजार पाँच सय सात रुपैयाँ अनुमान गरिएको छ । 

मस्यौदा प्रतिवेदनमा उल्लेख भएअनुसार प्रस्तावित आयोजना सञ्चालन चरणमा दैनिक १० हजार व्यक्तिको केबलकारबाट यात्रा हुनेछ । यस चरणमा दैनिक ३५ लाख लिटर पानीको आवश्यकता पर्ने र सो पानीमध्ये ३३ लाख २५ हजार लिटर फोहोर पानीका रूपमा निष्कासन हुने छ । सोको न्यूनीकरणका लागि प्रतिदिन ३० लाख लिटर प्रशोधन क्षमताको फोहोर पानी प्रशोधन प्लान्टको स्थापना गरिने उल्लेख गरिएको छ ।

यस्तो छ प्रस्तावित केबलकार
प्रस्तावित नयाँपुल–मुक्तिनाथ केबलकार आयोजनाको तल्लो स्टेसन पर्वत जिल्लाको सेराफाँट र माथिल्लो स्टेसन मुस्ताङ जिल्लाको रानीपौवामा रहनेछ । कुल ८१.०४१ किलोमिटर लम्बाइ रहने केबलकारमा २० वटा स्टेसन तथा चार सय ४२ टावर रहनेछन् । त्यस्तै, केबलकारमा प्रतिगोन्डोला १० जना अटाउने आठ सय ७१ वटा गोन्डोला रहनेछन् । केबलकारको गति प्रतिसेकेन्ड सात मिटरको रहनेछ भने तल्लो स्टेसनबाट माथिल्लो स्टेसनमा पुग्न तीन घण्टा ३६ मिनेट समय लाग्नेछ । यस आयोजनाका लागि १३ मेगावट विद्युत् आवश्यक पर्नेछ । आयोजनाको कुल लागत ५५ अर्ब रुपैयाँ अनुमान गरिएको छ । 

प्रस्तावित आयोजना निर्माण चरणमा एक हजार सात सय ६९ र सञ्चालन चरणमा चार सय ३९ व्यक्तिले रोजगारी पाउने कुरा उल्लेख गरिएको छ । यस आयोजना हालसम्म विश्वकै सबैभन्दा लामो परियोजनाका रूपमा कल्पना र डिजाइन गरिएको कम्पनीको दाबी छ । 

सुझावित समाचार