‘चियासँग कविता’ कार्यक्रमको पहिलो वार्षिक उत्सवको अवसरमा धनकुटामा चारजना व्यक्तित्वहरू सम्मानित भएका छन्। वार्षिक उत्सवको अवसरमा आयोजित कार्यक्रममा साहित्यकार र पत्रकार नगदसहित सम्मानित भएका छन्।
चियासँग कवितामा धनकुटा साहित्यक रत्न पुरस्कारबाट घनश्याम बराल ‘औलाली’ नगद १५ हजारसहित सम्मानित भएका छन्। त्यस्तै, युवा साहित्य पुरस्कारबाट कवि मञ्जुल मितेरी, नव प्रतिभा पुरस्कारबाट कवि दृष्टि श्रेष्ठ र चियासँग कविता साहित्यिक पत्रकारिता पुरस्कारबाट पत्रकार ईश्वर थापा नगदसहित सम्मानित भएका छन्। उनीहरूलाई नगद ५ हजारसहित सम्मान–पत्रद्वारा सम्मान गरिएको छ।
सम्मानित साहित्यकार तथा पत्रकारलाई कार्यक्रमका प्रमुख अतिथि नेपाल प्रज्ञा प्रतिष्ठानका कुलपति भुपाल राई र चियासँग कविता कार्यक्रमका संयोजक रहेका रेडियो धनकुटा एफएमका स्टेसन मेनेजर गोपाल बराइलीले संयुक्त रूपमा नगद तथा सम्मान–पत्र प्रदान गरेका थिए। सो अवसरमा चियासँग कविता कार्यक्रममार्फत एक वर्षभरि प्रस्तुत भएका कवितासंग्रहको पुस्तक पनि विमोचन गरिएको थियो।
धनकुटामा सुस्ताउँदै गएको साहित्यिक माहोललाई पुनःजागरण गर्न चियासँग कविता कार्यक्रमले सहयोग पुर्याएको कार्यक्रमका संयोजक गोपाल बराइलीले बताए। उनले भने, ‘चियासँग कविता कार्यक्रमले साहित्यिक विकास र नयाँ प्रतिभा पहिचानमा समेत टेवा पुगेको छ।’ वार्षिक उत्सव कार्यक्रममा कवि मुकुन्द प्रयास, केजी सुब्बा, द्वारिका रिजाल, रेखा क्षेत्री, रमेशचन्द्र अधिकारीलगायतले आ–आफ्नो कवितावाचन गरेका थिए भने दोस्रो चरणमा कलाकार भुवन डंगोल, हेम स्मृति चोङबाङ, जुनी खालिङ, गौरवनारायण राई, ध्रुव एलेक्सले आफ्नो गीत तथा कला प्रस्तुत गरेका थिए।