इटालीविरुद्धको खेलपछि नेपाली राष्ट्रिय क्रिकेट टिमका कप्तान रोहितकुमार पौडेलले बिरामी भएका छन्। शनिबार बिहान मुम्बईस्थित बानखेडे रंगशालामा अभ्यास सत्रमा रोहित उपस्थित भएनन्। अभ्यास सत्रपछि बालसाहेव थाकेर पत्रकार कक्षमा बोल्दै प्रशिक्षक स्टुआर्ट लले रोहितलाई ज्वरो आएको जानकारी गराए। उनले भने, ‘शुक्रबारबाट रोहितलाई ज्वरो आएकाले अभ्यासमा उपलब्ध भएनन्।’
प्रशिक्षक लले आइतबार बिहान हुने वेस्ट इन्डिजविरुद्धको खेलमा रोहित उपलब्ध हुने पनि बताए। नेपाल बिहीबार भएका खेलमा इटालीसँग १० विकेटले पराजित भएको थियो। यसपछि समूह ‘सी’ बाट नेपाली टिमको सुपर ८ सम्भावना कमजोर बन्यो। इटालीविरुद्ध अप्रत्याशित नतिजा आएपछि नेपाली खेलाडीको सर्वत्र आलोचना भइरहेको छ।
त्यसअघि नेपाली टिम इंग्ल्यान्डसँग ४ रनले पराजित हुँदा सर्वत्र चर्चा भएको थियो। नेपाली खेलाडीको सर्वत्र चर्चा बढेको थियो। इटालीसँगको खेलपछि एक दिन विश्राम बसेर नेपाली टिमले शनिबार अभ्यास गरेको हो। प्रशिक्षक लले वेस्ट इन्डिजविरुद्ध जितको विकल्प नभएको बताउँदै जित्न खेल्ने बताएका छन्।
नेपालसँग खेल्नुअघि वेस्ट इन्डिजका बलर अकिल हुसैनले नेपाललाई सामान्य नसोच्ने र जित्न खेल्ने बताएका छन्। उनले पछिल्लो शृंखलामा नेपालसँग पराजित भएकाले सजक हुने बताए। ‘हामीले पछिल्लोपटक नेपालसँग खेलेका छौँ। त्यसैले सहज पनि छौँ,’ उनले भने, ‘हामी विश्वकपमा सबै खेल जित्न चाहन्छौँ। त्यसैले, नेपालविरुद्ध पनि जित्नकै लागि खेल्छौँ।’