आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि मतपत्र छपाइ अन्तिम चरणमा पुगेको छ। जनक शिक्षा सामग्री केन्द्र लिमिटेडले दैनिक १२–१५ लाख मतपत्र छाप्दै आइतबारसम्म सबै मतपत्र छपाइ सकिने जनाएको छ।
कुल दुई करोड तीन लाख मतपत्रमध्ये एक करोड ७३ लाख छपाइ भइसकेको र बाँकी ३० लाख आइतबारसम्म छपाइ सकिने प्रबन्ध निर्देशक यदुनाथ पौडेलले जानकारी दिए।
ठुला उम्मेदवार भएका जिल्लामा ठुलो र साना उम्मेदवार भएका क्षेत्रमा सानो मतपत्र छापिएको कारण छपाइ केही दिन ढिला भएको छ। छपाइ सकिएका जिल्लाका मतपत्र नेपाली सेनामार्फत ढुवानी सुरु भइसकेको छ।
हालसम्म ५८ जिल्लाका १२४ निर्वाचन क्षेत्रको मतपत्र छपाइ र ढुवानी भइरहेको छ। कर्णाली प्रदेशका सल्यान, रुकुम पश्चिम, डोल्पा, मुगु, हुम्ला, कालीकोट, जुम्ला, जाजरकोट, दैलेख र सुर्खेतमा मतपत्र ढुवानी पूरा भइसकेको छ।