अछामको दुर्गम गाउँ तुर्माखाँदमा बाल अधिकार, कानुन, लागुऔषध दुर्व्यसनी र अनलाइन हिंसाबारे प्रशिक्षण लिन ५० भन्दा बढी किशोरकिशोरी भेला भए। करिब दुई घण्टाको प्रशिक्षणपछि उनीहरूलाई सोधियो, ‘तपाईंहरू पनि कुनै कुलतमा त हुनुहुन्न ?’ यो प्रश्नपछि उनीहरू मौन रहे। तर जब अरू साथीहरूको कुलतबारे सोधियो उनीहरूको स्वीकारोक्ति थियो, ‘हो, हाम्रा साथी कुलतमा छन् ।’
यसले दुर्गम गाउँमा किशोरकिशोरी पनि कुलतमा पुगेको देखाउँछ। भेलामा सहभागी १४ देखि १८ वर्ष उमेर समूहका उनीहरूले बताएअनुसार कलिलो उमेरमै मदिरा, सुर्ती र अन्य लागुऔषध प्रयोग गर्नेको संख्या दुर्गम गाउँका विद्यालयमा पनि छ। यो समस्या नियन्त्रण गर्न तुर्माखाँद गाउँपालिकाले योजना नै निर्माण गरेर कोही पनि किशोरकिशोरी नछुट्ने गरी वडास्तरमै पुगेर जनचेतना विस्तार गर्ने तयारी गरिरहेको गाउँपालिकाका अध्यक्ष डम्बरबहादुर बिसीले बताए।
‘हामी यो काम यही वर्षबाट निरन्तर रूपमा अघि बढाउनेछौँ,’ उनले भने। साथै किशोरकिशोरीले पनि यसमा महत्त्वपूर्ण भूमिका खेल्नुपर्नेमा जोड दिँदै उनले आफूले सिकेका कुरा अभिभावक तथा साथीहरूलाई बुझाउनुपर्ने बताए। जिल्ला प्रशासन कार्यालय अछाम, सामाजिक विकास कार्यालय, जिल्ला प्रहरी कार्यालय र रेडियो सोसाइटी एफएमले अभियानकै रूपमा गरेको यो प्रशिक्षणले किशोरकिशोरीको बाँच्न पाउने अधिकार, संरक्षणको अधिकार, विकासको अधिकार र सहभागिताको अधिकार सुनिश्चित हुने भन्दै प्रमुख जिल्ला अधिकारी यज्ञबहादुर बुढाले तीन महिनासम्म जिल्लाका दशवटै स्थानीय तहमा पुगेर यसबारे कार्यक्रम गरिने बताए।
उनले स्थानीय तह, विद्यालय, अभिभावक र छरछिमेकीले निगरानी गर्न सके यो अवस्था सुधार हुने दाबी गरे। यसको असर सबैभन्दा बढी बालिकाहरूमा परेको भन्दै तुर्माखाँदकी उपाध्यक्ष विमलाकुमारी शाहीले किशोरकिशोरीका अधिकांश समस्याको मुहान इन्टरनेटको दुरुपयोग हो भन्दै चिन्ता व्यक्त गरिन्।
दुर्व्यसन अन्त्यका लागि निरन्तर कार्यक्रम गरिरहेको भन्दै सामाजिक विकास कार्यालय अछामका प्रमुख डम्बरबहादुर रावलले जनप्रतिनिधि, कर्मचारी र समाजका अगुवाहरूलाई यसमा भूमिका खेल्न सुझाव दिए। किशोर–किशोरीका समस्या सहर हुँदै गाउँ पसेको भन्दै उनले यसको नियन्त्रणमा तत्काल गम्भीर नभए अवस्था भयावह हुने बताए। यो अभियानमा सक्रीय हुन रावलले अगुवा किशोरकिशोरीलाई पनि आग्रह गरे।
प्रशिक्षणमा सहभागी किशोरकिशोरीलाई गोरख बक्स गण मंगलसेनका गणपति, प्रमुख सेनानी राजु महर्जन, अछामका प्रहरी प्रमुख ओमप्रकाश खनाल, जिल्ला अनुसन्धान कार्यालयका प्रमुख अशोक पौडेल, सुदूरपश्चिम प्रदेश बाल अधिकार परिषदका सदस्य प्रेमबहादुर बुढाले बाल अधिकार, कानुन, लागुऔषध दुर्व्यसनी, अनलाइन हिंसा र विस्फोटक पदार्थबारे प्रशिक्षण दिएका थिए।