धूम्रपान निषेधका अभियन्ता मदन चन्द सम्मानित

बिहिबार, ३० माघ, २०८२
डिजिटल संस्करण

कञ्चनपुर भीमदत्त नगरपालिका– ७, हल्दुखालका स्थानीय मदन चन्द धूम्रपान निषेधका अभियन्ता हुन्। चन्दले ०५८ सालदेखि धूम्रपान निषेधको अभियान सञ्चालन गर्दै आएर आफ्नो पृथक् पहिचान बनाएका छन् ।  किराना, चियापसलका सञ्चलकसमेत रहेका चन्दले धूम्रपान निषेधको अभियान आफैँबाट सुरुवात गरेका थिए। 

आफैँबाट सुुरुवात गरेका चन्दले सुदूरपश्चिममा अढाई दशक अघिदेखि सुरुवात गरेको धूम्रपानविरुद्धको अभियान निरन्तर जारी राख्ने बताएका छन् । धूम्रपान निषेधको अभियान सुरु गरेको अवसरमा उनलाई कञ्चनपुरको एक सामुदायिक विद्यालयले सम्मान गरेको छ । भीमदत्त नगरपालिका १८ कटानमा रहेको महेन्द्रनगर नमुना माध्यमिक विद्यालय (साधारण स्कुल)ले चन्दलाई सम्मान गरेको हो । 

अभियानले २५ वर्षमा टेकेको अवसरमा बिहीबार हजारौं विद्यार्थीमाझ धूम्रपान, मध्यपानदेखि कुलतमा फस्न हुँदैन भनेर विद्यार्थीसँग अन्तर्क्रिया गरेका चन्दलाई विद्यालयले दोसल्ला ओढाउनुका साथै सम्मान गरेको छ। विद्यालयका सहायक प्रधानाध्यापक सरस्वती भाट (धामी)ले विद्यालयका तर्फबाट प्रधानाध्यापक देवराज भट्ट, अध्यक्ष वीरेन्द्रराज विष्ट, कञ्चनपुरका प्रमुख जिल्ला अधिकारी मदन कोइरालाले दोसल्लाका साथै प्रमाणपत्र हस्तान्तरण गरेर सम्मान गरेको बताइन् ।

महेन्द्रनगर माध्यमिक विद्यालय व्यवस्थापन समितिका अध्यक्ष वीरेन्द्रराज विष्टले समुदायमा सचेतना फैलाउन भूमिका निर्वाह गरेका चन्दलाई विद्यालयका तर्फबाट थप प्रेरणाका लागि सम्मान गरिएको बताए। चन्दले सञ्चालन गरेको अभियानबाट थुप्रै बालबालिका, किशोरकिशोरी, युवाहरू कुलतबाट मुक्तदेखि रोज्दै नरोजेको बताए ।

लोक देउडिया एवं चन्दका बाल्यसहपाठी लक्ष्मण अधिकारीले समेत धूम्रपान निषेधको अभियानले सार्थकता पाएको र त्यसलाई राज्यका निकायले समेत ग्रहण गर्नुपर्ने बताए । कञ्चनपुरका प्रहरी प्रमुख एसपी खडकबहादुर खत्रीले निःस्वार्थ रूपमा सञ्चालन गरिएको एकल अभियानले समाजमा सकारात्मक सन्देश दिएको बताए । कञ्चनपुरका प्रमुख जिल्ला अधिकारी मदन कोइरालाले चन्द एक्लैले आफैँबाट धूम्रपान निषेधको अभियानबाट सामाजिक सचेतना फैलाएको बताए । प्रजिअ कोइरालाले धूम्रपान निषेधको अभियानबाट थप समुदाय सचेत हुने विश्वास व्यक्त गरेका छन् । 

धूम्रपान निषेधका अभियन्ता मदन चन्दले आफूले समाजका लागि केही गर्नुपर्छ भन्ने प्रेरणाका साथ अढाई दशकदेखि सुरुवात गरेको अभियान निरन्तर अघि बढाउने बताए । उनले धूम्रपान, मद्यपानजस्ता वस्तुको उपभोग, सेवनले मानिसको व्यक्तिगत जीवनदेखि घरपरिवार, समुदाय, सिंगो राष्ट्रलाई हानिनोक्सानी पुर्याउने भएकाले अभियान सञ्चालन गरेको बताए । उनले अभियानलाई थप सार्थक बनाउन पालिका, प्रदेश र संघीय सरकारले समेत भूमिका समन्वय हुनुपर्ने बताए । 

सुझावित समाचार