वेस्ट इन्डिज ३० रनले विजयी

बिहिबार, ३० माघ, २०८२
डिजिटल संस्करण

वानखेडे रंगशालामा बुधबार समान दुईपटकका विजेता इंग्ल्यान्ड र वेस्ट इन्डिजले प्रतिस्पर्धा गरेका थिए । समूह ‘सी’को सर्वाधिक रोमाञ्चक भनिएको प्रतिस्पर्धामा वेस्ट इन्डिजले इंग्ल्यान्डलाई ३० रनले हराउँदै लगातार दोस्रो जित निकाल्यो । जितसँगै वेस्ट इन्डिज ४ अंकका साथ शीर्ष स्थानमा छ । यस समूहमा स्कटल्यान्डले पनि २ अंक जोडेको छ । रनरेटमा स्कटल्यान्ड दोस्रो स्थानमा रहँदा २ अंक नै जोडेको इंग्ल्यान्ड तेस्रो स्थानमा छ । 

पहिलो ब्याटिङ गरेको वेस्ट इन्डिजले २० ओभरमा ६ विकेट गुमाएर १९६ रनको विशाल योगफल खडा गर्यो । प्रत्युत्तरमा इंग्ल्यान्ड १९ ओभरमा १६६ रनमा समेटिँदा वेस्ट इन्डिजले महŒवपूर्ण २ अंक बटुलेको हो । वेस्ट इन्डिजको जितमा सेर्फाने रुथफोर्डले ४२ बलमा ७६ रन जोडेका थिए । उनले सात छक्का र दुई चौका प्रहार गरेका थिए । पूर्वकप्तान जासन होल्डरले १७ बलमा चार छक्का र एक चौका प्रहार गरी ३३ रन बनाए । इंग्ल्यान्डका लागि साम कुरानले ३० बलमा तीन चौका र दुई छक्का प्रहार गरी ४३ रन जोडेका थिए । इंग्ल्यान्डको ब्याटिङमा ओपनर फिल साल्टले १४ बलमा ३० तथा जोस बटलरले १४ बलमा २१ रन बनाए । ज्याकोब वेथेलीले ३३ रन बटुले ।

सुपर ओभरमा अफगानिस्तान निराश
आइसिसी टी–२० विश्वकप २०२६ अन्तर्गत बुधबारको रोमाञ्चक खेलमा अफगानिस्तानमाथि दक्षिण अफ्रिकाले दोस्रो सुपर ओभरमा जित निकालेको छ । अहमदाबादमा समूह ‘डी’को खेलमा दक्षिण अफ्रिका र अफगानिस्तानले समान १८७ रन बनाएपछि खेल सुपर ओभरमा पुगेको थियो । पहिलो सुपर ओभरमा अफगानिस्तानले १७ रन जोडेको थियो । दक्षिण अफ्रिकाले पनि १७ रन नै जोड्यो । त्यसपछि दोस्रो सुपर ओभरमा दक्षिण अफ्रिकाले २३ रन बनायो । २४ रनको लक्ष्य पछ्याएको अफगानिस्तान १९ रनमा समेटियो ।

दक्षिण अफ्रिकाका केशव महराजलाई अफगानिस्तानका गुर्बाजले लगातार तीन छक्का हाने पनि जित निकाल्न सकेनन् । यसअघि लक्ष्य पछ्याएको इनिङ्समा अफगानिस्तानलाई अन्तिम ओभरमा १३ रन चाहिएको थियो । दक्षिण अफ्रिकाका कागिसो राबाडाले पहिलो बल नो बल र दोस्रो बलमा वाइड फ्याँकेका थिए । अफगानिस्तानका नुरु अहमदले छक्का प्रहार गर्दा राबाडाले चौथो बल नो बल फ्याँकेका थिए । जितका लागि २ रन आवश्यक रहँदा अफगानिस्तानका फारुकी रनआउट हुन पुगे । अफगानिस्तानले दोस्रो हार सामना गर्दा सुपर एटमा स्थान बनाउन कठिन देखिएको छ । समूह ‘डी’मा दक्षिण अफ्रिका र न्युजिल्यान्डले समान दुई जित निकालेका छन् ।

अस्ट्रेलियाले आयरल्यान्डलाई हरायो
अस्ट्रेलियाले समूह ‘बी’मा आयरल्यान्डलाई ६७ रनले हराएको छ । श्रीलंकाको कोलम्बोको प्रेमादासा रंगशालामा टस जितेर ब्याटिङ गरेको अस्ट्रेलियाले २० ओभरमा ६ विकेट गुमाउँदै १८२ रन बनाएको थियो । प्रत्युत्तरमा आयरल्यान्डले १६.५ ओभरमा सबै विकेट गुमाउँदा ११५ रन बनाउन सक्यो । अस्ट्रेलिया सन् २०२१ को विजेता हो । आयरल्यान्डका जर्ज डक्रेलले सर्वाधिक ४१ रन जोड्न २९ बलमा तीन चौका र दुई छक्का हिर्काएका थिए । लोर्कानले २७ बलमा २४ रन बनाए । बलिङमा अस्ट्रेलियाका नाथन एलिस र एडम जाम्पाले समान दुई विकेट लिएका थिए । यसअघि अस्ट्रेलियाका मार्कोस स्टोनिसले २९ बलमा ४५ रन बनाए । उनले दुई चौका र एक छक्का हाने । जस इंग्लिस र म्याट रेन्सवाले समान ३७ रन बनाए । क्यामरुन ग्रिनले ११ बलमा २१ रन जोडे ।

See More On

सुझावित समाचार