झापा ५ का सुकुमवासी : भोटको मौसममा सधैँ लालपुर्जाको आश्वासन

बिहिबार, ३० माघ, २०८२
डिजिटल संस्करण
झापा ५ का सुकुमवासी : भोटको मौसममा सधैँ लालपुर्जाको आश्वासन

गौरादह– ६, दामुनाको सुकुमवासी बस्ती

  • ठुला नेताका ठुलै भाषण र चर्चाबिच सुकुमवासीको सानो, तर निर्णायक प्रश्न छ– यसपटकको चुनावमा पनि भोट मात्र कि धनीपुर्जा पनि ?

झापा ५ अहिले एमाले अध्यक्ष केपी ओली र राष्ट्रिय स्वतन्त्र पार्टीका प्रधानमन्त्रीका उम्मेदवार बालेन शाहबिचको प्रतिष्ठाको भिडन्तले राष्ट्रिय चर्चामा छ । तर, यही क्षेत्रमा तीन दशकदेखि बसोबास गर्दै आएका हजारौँ सुकुमवासीका लागि भने चुनाव नयाँ होइन, आश्वासन मात्र नयाँ शैलीमा दोहोरिँदै छन् ।

रतुवा र दामुना खोलाको बाढीले बर्सेनि विस्थापित हुने दामुनाका भगत महतोजस्ता परिवारले हरेक निर्वाचनमा धनीपुर्जाको वाचा जहिल्यै सुन्छन्, तर हातमा कहिल्यै कागज पर्दैन । झापा ५ मै ११ हजार ५१२ परिवारले जग्गाधनी प्रमाणपुर्जाका लागि निवेदन दिएका छन् । तर, निर्णय अझै राजनीतिक नारामै सीमित छ ।

दुई वर्षअघि रतुवा खोलाको बाढीले क्षतविक्षत बनाएको घर टालटुल गरेर बस्न बाध्य छन् झापा गौरादह नगरपालिका– ६ दामुनाका सुकुमवासी महतो । यहाँका ५० परिवार सुकुमवासी छन् । दैनिक ज्याला–मजदुरी गरेर परिवार पाल्ने उनीहरूले नयाँ घर बनाउन सकेका छैनन् ।

सुरक्षित नागरिक आवास कार्यक्रममार्फत विपन्नलाई जस्तापाता दिने सरकारी कार्यक्रम छ । तर, महतो र यो गाउँका अन्य सुकुमवासीलाई सरकारको त्यो कार्यक्रमले छुन सकेको छैन । अघिल्लो वर्ष रतुवा खोलामा तटबन्धन गरिएको छ । तर, घरछेउकै दामुना खोला बर्सेनि बस्तीमा पस्छ । बाढी पस्नेबित्तिकै भगतसहित ५० सुकुमवासी परिवार बस्तीबाटै विस्थापित हुनुपर्छ । 

यही ठाउँमा बसेको तीन दशक भयो । तर, अहिलेसम्म सुकुमवासी जीवन बिताएका छन् । हरेक निर्वाचनमा भोट माग्न आउने उम्मेदवारले जग्गाधनी प्रमाण धनीपुर्जाको आश्वासन दिन्छन् । तर, त्यो आश्वासन कहिल्यै पूरा हुँदैन । 

झापा ५ मा उम्मेदवार बनेका एमाले अध्यक्ष केपी ओली, रास्वपा वरिष्ठ नेता बालेन्द्र शाह (बालेन) लगायत उम्मेदवारले सुकुमवासी बस्ती पुगेर यसपटक पनि धनीपुर्जा दिने आश्वासन दिएका छन् । तर, यहाँका बासिन्दाले धनीपुर्जा पाउने विश्वास गरेका छैन । ‘धनीपुर्जा दिन्छौँ भन्छन् । धनीपुर्जा दिनका लागि फारम पनि भराए । तर, धनीपुर्जा कहिल्यै दिएनन्,’ महतोले भने, ‘चुनाव आउँदा सधैँ धनीपुर्जा दिन्छौँ भन्छन् । चुनावसँगै हामी सुकुमवासीलाई बिर्सन्छन् ।’

दामुनाको सुकुमवासी बस्तीका श्याम शर्माले पनि धनीपुर्जा पाउने आश्वासन पाएको तीन दशक भयो । तर, धनीपुर्जा हातमा अहिलेसम्म परेको छैन । राजनीतिक दल र नेताहरूले धनीपुर्जालाई चुनावी नारा मात्र बनाएको उनको भनाइ छ । ‘चुनावमा त धनीपुर्जा हातमै दिउँलाजस्तो गर्छन् । तर, चुनाव सकिएपछि हामी सुकुमवासीलाई बिर्सन्छन्,’ श्याम भन्छन्, ‘केन्द्र (प्रतिनिधिसभा)को चुनावमा मात्र होइन, नगरपालिकाको चुनावमा पनि धनीपुर्जा दिने भन्छन् । तर, धनीपुर्जाचाहिँ कहिल्यै दिँदैनन् ।’ 

झापा ५ बाट यसअघि पटकपटक निर्वाचित भएका एमाले अध्यक्ष ओली तीनपटक देशको  प्रधानमन्त्री भए । यही निर्वाचन क्षेत्रको प्रदेश निर्वाचन क्षेत्र झापा ५ (क) बाट निर्वाचित हिक्मतकुमार कार्की कोशीका मुख्यमन्त्री पनि भए । तर, सुकुमवासी र गरिबको अवस्था उस्तै रहेको दामुनाकी सुकुमवासी फूलकुमारी महतो बताउँछिन् । ‘भोट माग्न आउँदा के–के नै गर्नेजस्तो गर्छन् । चुनाव जितेर गएपछि फर्किएर हेर्दैनन् । हामीलाई धनीपुर्जा दिने त उनीहरूको मुख्य नारा नै हुन्छ,’ उनी भन्छिन्, ‘गाउँमा केही विकास भएको छैन । बर्खामा बढीले घरमा बस्न सक्ने बनाउँदैन । श्रीमान्को मृत्यु भइसक्यो । दुई वर्षअघि बाढीले घर बगाएपछि भाडामा बस्दै आएकी छु । घरसम्म पनि बनाउन सकेकी छैन । भाडामा बस्दै छु । दैनिक जनमन गरेर छोरा र मलाई खाना पनि पुग्दैन । छोरा अपांग छ । कमाउन सक्दैन ।’ निर्वाचनमा भोट माग्न आउने उम्मेदवारसँग फूलकुमारीको धेरै ठुलो आसा पनि छैन । गरिबका लागि काम गरिदिए मात्र हुने उनी बताउँछिन् । ‘हामीलाई दिनैपिच्छे मासुभात खान दिनु भनेको होइन । गरिबले कम्तीमा बस्न मिल्ने घर पाए हुने,’ उनी भन्छिन्, ‘रोजगारी पाएदेखि हामी आफैँ गरेर खाने थियौँ । बिहान–बेलुका खान पुगोस् भन्ने मात्रै हो ।’

झापा ५ मा मात्र ११ हजार ५१२ भूमिहीन, सुकुमवासी परिवार
भूमि समस्या समाधान आयोग झापाको तथ्यांकअनुसार झापा ५ मात्र ११ हजार ५१२ घर भूमिहीन दलित, भूमिहीन सुकुमवासी र अव्यवस्थित बसोबासीले जग्गाधनी प्रमाणपुर्जाका लागि निवेदन दिएका छन् । जसमा दमक नगरपालिकामा ५६० भूमिहीन दलित, दुई हजार ४७७ भूमिहीन सुकुमवासी, तीन हजार २८५ अव्यवस्थित बसोबासी गरी ६ हजार ३३२ घरले जग्गाधनी प्रमाणपुर्जाका लागि निवेदन दिएका छन् ।

यस्तै, गौरादह नगरपालिकामा ३३१ भूमिहीन दलित, एक हजार १२० भूमिहीन सुकुमवासी र एक हजार २१३ अव्यवस्थित बसोबासी गरी दुई हजार ५६४ जनाले निवेदन दिएको भूमि समस्या समाधान आयोग झापाको तथ्यांकमा उल्लेख छ । कमल गाउँपालिकामा ७८ भूमिहीन दलित, दुई हजार १९० भूमिहीन सुकुमवासी, २३१ अव्यवस्थित बसोबासी गरी ४९९ घरले जग्गाधनी प्रमाणपुर्जाका लागि निवेदन दिएका छन् भने गौरीगन्ज गाउँपालिकामा २३५ भूमिहीन दलित, एक हजार १४६ भूमिहीन सुकुमवासी, ७३६ अव्यवस्थित बसोबासी गरी दुई हजार २१ घरले जग्गाधनी प्रमाणपुर्जाका लागि निवेदन दिएको भूमि समस्या समाधान आयोगले जनाएको छ ।

तर, उनीहरूलाई जग्गाधनी प्रमाणपुर्जा दिने मुद्दा चुनावी नारा मात्र बनेको सुकुमवासीको गुनासो छ । झापा ५ मा निर्णायक मतदाता रहेका सुकुमवासीलाई दलहरूले भोट बैंक मात्र बनाएको सुकुमवासीको गुनासो छ । ‘हामीलाई भोट दिन मात्र लागाउँछन् । भोट माग्न धनीपुर्जा दिने भनेर फकाउँछन् । त्यसपछि अर्को चुनावसम्म बिर्सन्छन्,’ गौरादह– ६, दामुनाकी सुकुमवासी शिला महतो भन्छिन्, ‘तर, हामीलाई अब कसैको विश्वास छैन । सबैले भोट पाएपछि बिर्सन्छन् । हामीले भोट दियौँ । हामीलाई केही पनि गरेनन् ।’

See More On

सुझावित समाचार