भारत भ्रमणका सहमति कार्यान्वयन गर्न परराष्ट्रको गृहकार्य

आइतबार, १३ मंसिर, २०८३
प्रिन्ट संस्करण
  • दिल्लीबाट फर्किएलगत्तै परराष्ट्रमन्त्री खनालले बोलाए बैठक, हवाई रुट तथा आर्थिक सहायता कार्यान्वयन प्राथमिकतामा

काठमाडाैं- प्रधानमन्त्री बालेन्द्र शाहको राजकीय भारत भ्रमण (६ र ७ मंसिर)का क्रममा भएका सहमति, समझदारी तथा निर्णय कार्यान्वयनका लागि सरकारले गृहकार्य थालेको छ । परराष्ट्रमन्त्री शिशिर खनालको निर्देशनमा परराष्ट्र मन्त्रालयले सम्बन्धित सबै मन्त्रालय र निकायलाई आ–आफ्नो कार्यक्षेत्रसँग सम्बन्धित सहमति कार्यान्वयनको तयारी गर्न पत्राचार गरेको छ ।

भ्रमणका क्रममा जारी संयुक्त वक्तव्य र नेपाल–भारत संयुक्त दूरदृष्टि दस्ताबेजमा समेटिएका विषयलाई नागरिकले प्रत्यक्ष अनुभूति गर्ने गरी कार्यान्वयनमा लैजान सरकारले प्राथमिकता दिएको हो । परराष्ट्रमन्त्री खनालले प्रधानमन्त्री स्वदेश फर्किएको भोलिपल्टै मंगलबार परराष्ट्रसचिव अमृतबहादुर राईसहित सबै महाशाखा प्रमुख तथा वरिष्ठ अधिकारी सम्मिलित ‘सिनियर म्यानेजमेन्ट’ बैठक बोलाएर सहमति कार्यान्वयनबारे छलफल गरेका थिए । सोही दिन दक्षिण एसिया महाशाखाका अधिकारीसँग पनि छुट्टै छलफल गरेका उनले कार्यान्वयनका लागि तत्काल गृहकार्य थाल्न निर्देशन दिएका थिए ।

‘प्रधानमन्त्रीज्यूको भारत भ्रमणका क्रममा भएका सहमति, समझदारी एवं निर्णयहरूको कार्यान्वयनका लागि मन्त्रालयबाट सम्बन्धित निकायसँग समन्वय सुरु गरिएको छ,’ परराष्ट्र मन्त्रालयका प्रवक्ता लोकबहादुर पौडेल क्षेत्रीले नयाँ पत्रिकासँग भने, ‘दस्ताबेजमा उल्लेख भएका विषयलगायत अन्य महŒवपूर्ण सहमति, समझदारी, निर्णयहरू दुई देश र नागरिकले प्रत्यक्ष अनुभूति गर्ने गरी कार्यान्वयनमा लैजानका लागि परराष्ट्र मन्त्रालयले आफ्नो कार्य अगाडि बढाइसकेको छ ।’ 

परराष्ट्रमन्त्री खनालले प्रधानमन्त्रीको यही स्पिरिटका आधारमा सहमति कार्यान्वयनका लागि समन्वय थालेका छन् । ‘परराष्ट्रले सरोकारवाला सबै मन्त्रालयमा सहमति, संयुक्त वक्तव्य तथा संयुक्त दूरदृष्टि दस्ताबेज पठाएको छ । र, कार्यान्वयनका लागि तत्कालै गृहकार्य सुरु गर्नुपर्नेमा जोड दिएको छ,’ परराष्ट्रका अर्का अधिकारीले भने, ‘विशेषतः भोटेकोशी बाढीपछिको पुनर्निर्माण एवं काठमाडौं–भैरहवा–लखनउ हवाई प्रवेश रुट अनुमति कार्यान्वयनलाई सरकारले सर्वोच्च प्राथकितामा राखेको छ ।’

परराष्ट्रले संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालय, नेपाल नागरिक उड्डयन प्राधिकरण, शिक्षा तथा खेलकुद मन्त्रालय, उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालय, लगानी बोर्ड नेपाल, अर्थ मन्त्रालय, सूचना प्रविधि तथा डिजिटल सुशासन कार्यालय, ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालय, नेपाल विद्युत् प्राधिकरण, स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्रालयलगायतमा पत्राचार गरेको छ । 

परराष्ट्र प्रवक्ता क्षेत्रीका अनुसार सम्बन्धित मन्त्रालय र निकायबाट सम्बन्धित समझदारीपत्र तथा सहमति तत्काल कार्यान्वयनमा जान गृहकार्य सुरु भइसकेको छ । प्रवक्ता क्षेत्रीले भने, ‘नेपाल–भारत सम्बन्धलाई नयाँ उचाइमा पुर्याउन संयुक्त दूरदृष्टि दस्ताबेज विभिन्न विषयमा आपसी सहमति र समझदारीलगायत थुप्रै महŒवपूर्ण निर्णय भएका छन् । मन्त्रालयले समय–समयमा फलोअप गर्ने कार्य पूर्ववत् र निरन्तर रूपमा अघि बढाउनेछ ।’

नेपाल र भारतले ७ मंसिरमा प्रधानमन्त्री शाह र भारतीय प्रधानमन्त्री मोदीबिच द्विपक्षीय तथा एकान्त वार्तापछि ऊर्जा, व्यापार, डिजिटल प्रविधि, पर्यटन र खेलकुदसम्मका १० क्षेत्रमा सहकार्य गर्ने प्रतिबद्धतासहित २४ बुँदे संयुक्त वक्तव्य र ‘नेपाल–भारत संयुक्त दूरदृष्टि दस्ताबेज’ जारी गरेका थिए । दुई प्रधानमन्त्रीबिच नेपाल–भारत सम्बन्धलाई आर्थिक विकास, पूर्वाधार र क्षेत्रीय कनेक्टिभिटीको नयाँ आधारमा अघि बढाउने सहमति भएको थियो ।

सम्बन्धित निकायले कार्यान्वयनका लागि आन्तरिक तयारी गर्ने र भारतको समकक्षी निकायसँग वार्ताका लागि परराष्ट्र मन्त्रालयले समन्वय गर्नेछ । परियोजना कार्यान्वयनमा तीव्रता दिन नेपालमा परराष्ट्रसचिव तथा भारतीय राजदूतले नेतृत्व गर्ने उच्चस्तरीय अनुगमन संयन्त्र सक्रिय बनाउने पनि दुई प्रधानमन्त्रीको सहमति छ । अब संयन्त्रको बैठक कम्तीमा ६ महिनाभित्र बस्ने तयारी सुरु भएको छ ।

प्रधानमन्त्रीको भारत भ्रमणका क्रममा भारतको गुजरातस्थित नेसनल फरेन्सिक साइन्सेस युनिभर्सिटी र नेपाल प्रहरीको अपराध अनुसन्धान विभागबिच शैक्षिक तथा अनुसन्धान सहकार्य, भारतका राष्ट्रिय रक्षा विश्वविद्यालय र राष्ट्रिय प्रहरी प्रतिष्ठान नेपालबिच सहकार्य र नेपालका निजामती कर्मचारीको क्षमता अभिवृद्धि तालिम कार्यक्रमका लागि भारतको नेसनल सेन्टर फर गुड गभर्नेन्स, प्रशासनिक सुधार तथा सार्वजनिक गुनासो विभाग र नेपाल प्रशासनिक प्रशिक्षण प्रतिष्ठानबिच सहकार्यसम्बन्धी समझदारीपत्र आदानप्रदान भएका थिए ।

यस्तै, आयुर्वेद तथा अन्य परम्परागत चिकित्सा पद्धतिका क्षेत्रमा सहकार्य, दक्षिण एसियाली भू–उपग्रहको उपयोगका लागि स्याटलाइट कम्युनिकेसन नेटवर्क स्थापना गर्न भारतीय अन्तरिक्ष अनुसन्धान संगठन (आइएसआरओ) तथा नेपालको सञ्चार तथा सूचना प्रविधि मन्त्रालयबिच सहकार्य, दिगो सहरी विकासका क्षेत्रमा प्राविधिक सहकार्य, स्वास्थ्य तथा औषधिका क्षेत्रमा दुई देशबिच स्वास्थ्य मन्त्रालयबिच सहकार्य र पशुपन्छी तथा मत्स्य विकासका क्षेत्रमा सहकार्यसम्बन्धी समझदारीपत्र पनि आदानप्रदान भएका थिए । यी सहकार्य तत्कालै कार्यान्वयनमा लैजान प्रधानमन्त्री कार्यालयले पनि जोड दिएको छ ।

प्रधानमन्त्री शाहले दिल्लीमा सोमबार आयोजित संयुक्त पत्रकार सम्मेलनमा भारतीय समकक्षी मोदीकै सामू द्विपक्षीय सहमतिहरू सबैले अनुभूति हुने गरी लागू गर्नुपर्ने बताएका थिए । ‘हामीले आज गरेका समझदारीहरू र अघि बढाएका परियोजनाहरूको प्रतिफल किसानको खेतमा समृद्धिका रूपमा देखिनुपर्छ । युवाका हातमा रोजगारी र अवसरका रूपमा पुग्नुपर्छ । विद्यार्थीका सपनामा नयाँ सम्भावनाका रूपमा विस्तार हुनुपर्छ र उद्यमीले नयाँ बजार, लगानी तथा व्यावसायिक विस्तारका अवसरका रूपमा अनुभूत गर्न पाउनुपर्छ,’ प्रधानमन्त्री शाहको भनाइ थियो ।
 

सुझावित समाचार