रामेछाप बस दुर्घटना : क्षतिपूर्तिको मागसहित दिनभर आन्दोलन, तीन राउन्ड हवाई फायर

बुधबार, २९ माघ, २०८२
डिजिटल संस्करण

रामेछापमा यात्रुवाहक बस दुर्घटनामा मृतकका परिवारलाई आवश्यक क्षतिपूर्ति दिनुपर्ने मागसहित आन्दोलनमा उत्रिएका पीडितहरूले आज दिनभर सडक बन्द गराएका छन्। 

पीडित परिवारले अहिले साँझपख जिल्ला प्रशासन कार्यालयको मूल गेट घेराउ गरी नाराबाजी गरिरहेका छन्। सो क्रममा प्रहरीले तीन राउन्ड हवाइ फायर गरी केही सेल अश्रुग्यास हानेको छ। प्रशासन कार्यालयअगाडिको अवस्था तनावपूर्ण बनेको छ।

सो क्षेत्रमा नेपाल प्रहरी, सशस्त्र प्रहरी र नेपाली सेना ठुलो मात्रामा परिचालन गरिएको छ। जिल्ला प्रशासन कार्यालयमा आज दिनभर भएको सर्वदलीय बैठक बसे पनि पीडितको माग सम्बोधन हुन सकेन। पीडित पक्षले अरनिको यातायात सेवा समितिका पदाधिकारी वार्तामा आउनुपर्ने, प्रतिमृतक २५ लाख राहत दिनुपर्ने, मृतकका परिवारलाई रोजगारी दिनुपर्ने, मृतकका बालबालिकाको शिक्षाको जिम्मेवारी लिनुपर्ने, घाइतेको उपचार हुनुपर्ने र हराएका व्यक्तिको खोजी गरिनुपर्ने माग राखेका छन्।

प्रशासन कार्यालयअगाडि प्रदर्शन भइरहँदा भित्र वार्ता वार्ता जारी छ। यद्यपि, अरनिको यातायात सेवा समितिका पदाधिकारी भने बुधबार साँझसम्म पनि रामेछाप आएका छैनन्। जिल्लामा रहेका काउन्टर प्रमुख सुवास फुँयाल वार्ता समितिमा छन्। उनले कानुनअनुसार पाउने प्रतिमृतक ५ लाख रुपैयाँ क्षतिपूर्ति र क्रियाखर्चबापत प्रतिव्यक्ति ३० हजार रुपैयाँ दिइने बताएका छन्। तर, मृतकका परिवारले उक्त कुरा अस्वीकार गरेका छन्।

यसैबिच, पीडित पक्षका आफन्तले दुर्घटनामा परी तीनजना बेपत्ता भएको भन्दै जिल्ला प्रहरी कार्यालय रामेछापमा निवेदन दिएका छन्। जिल्ला प्रहरी कार्यालयका अनुसार बेपत्ता व्यक्तिहरूको खोजी कार्य जारी रहेको भए पनि बुधबार साँझसम्म भेट्टाउन सकिएको छैन।

बेपत्ता हुनेमा उमाकुण्ड गाउँपालिका–६, गुप्तेश्वरका २४ वर्षीय विशाल सुनुवार, लिखु तामाकोशी गाउँपालिका– ७, तिल्पुङकी ८ वर्षीया रेमिसा तामाङ र मन्थली नगरपालिका–२ का ९ वर्षीय क्रिचन तामाङ रहेका छन्।

सुझावित समाचार